तरकारीबाटै छोराछोरीको पढाइ
टिकाराम खनाल /रुकुम : रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका ९ का वीरभान खड्काको परिचय फेरिएको छ। उनलाई यहाँका स्थानीयले ‘तरकारी फलाउने वीरभान’ भनेर चिन्ने गर्छन्। लामो समयदेखि बेमौसमी तरकारी तथा बीउ उत्पादन गर्दै आएका उनी अरुको लागि पनि प्रेरणाको स्रोत बनेका छन्। १६ वर्षदेखि तरकारी उत्पादन गर्दै आएका वीरभानले गाउँका अन्य व्यक्तिलाई तरकारी उत्पादन गर्न आवश्यक शिक्षा दिँदै आएको उनले बताए।
तरकारी व्यवसायबाट थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि आफू यो पेसामा सक्रिय भएर काम गर्दै आएको उनको भनाइ छ। पहिले काउलीको बीउसमेत उत्पादन गर्ने उनले तीन वर्षदेखि भने ताजा तरकारी मात्रै उत्पादन गर्ने गरेको वीरभानले बताए। अहिले उनको खेतबारीमा हरियो तरकारी प्रशस्त मात्रामा छ।
आफूले उत्पादन गरेको तरकारी अर्गानिक भएको उनको दाबी छ। कुनै पनि विषादीको प्रयोग नगर्ने भएकाले आफ्नो तरकारी सहज रूपमा बिक्री हुने गरेको वीरभानले बताए। ‘मैले १६ वर्षदेखि तरकारी उत्पादन गर्दै आएको छु’, उनले भने, ‘मैले उत्पादन गर्ने सबै तरकारीमा कुनै पनि विषादी प्रयोग गर्दैन त्यसैले पनि सबैले मन पराउँछन्।’ तरकारीको कुनै रोग लागेपछि त्यसलाई रोकथाप गर्न स्थानीयस्तरमा पाइने जडीबुटीबाट औषधि बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ।
तरकारी उत्पादनबाट आएको रकमले आफ्ना दुई छोराछोरीलाई पढाउनेदेखि सम्पूर्ण खर्च चलाउँदै आएको उनले बताए। ‘मेरा एक छोरी, एक छोरा छन्, छोरीले स्टाफनर्स सकेर अहिले काम गर्न थालेकी छन्’, वीरभानले भने, ‘छोराले अहिले एचए पढ्दै छ अब यो वर्ष सक्छ, यो सबै खर्च यहीँ तरकारी बिक्री गरेर धानेको छ।’ तरकारी बिक्री गरेर आफूले एक सिजनमा साढे एकदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले जनाए।
वीरभानको बारीमा अहिले डेबी टू जातको काउली, आलु, प्याज, रायोको साग, हरियो खुर्सानीलगायत तरकारी छन्। उत्पादन गरेको ताजा तरकारी प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। आफूले उत्पादन गरेको तरकारी पहिले डोकामा बोकेर गाउँमा पुगेर बिक्री गर्ने गरे पनि अहिले घरनजिकैको सिम्ली बजारमा बिक्री हुने गरेको उनले बताए।
गाउँमै तरकारी उत्पादन गरेर आफूलाई राम्रो शिक्षा दिएको छोरी कविताको भनाइ छ। ‘हामीजस्तै गाउँमा धेरैका छोराछोरी आर्थिक अभावले शिक्षाबाट बञ्चित भएका छन्’, उनले भनिन्, ‘तर बाबाले गाउँमै तरकारी खेती गरेर केही कुराको कमी हुन दिनुभएन, हामी निकै खुसी भएका छौं।’ गाउँमा रोजगार छैन, युवा विदेश जाने गरेको भए पनि आफ्नै घरमा भएको रोजगारीको अवसरलाई चिन्नुपर्ने कविताको जोड छ। उनले अहिले जिल्लाको मुसिकोट खलंगामा रहेको रुक्मेली सामुदायिक अस्पतालमा काम गर्दै आएकी छन्।
बारीमा उत्पादन गरेको तरकारी सहजै बिक्री हुने भए पनि गाउँका अन्य किसानलाई बजार अभाव भएको वीरभानको भनाइ छ। आफूले गाउँमा अर्गानिक तरकारी उत्पादन गर्न कृषि समूहसमेत गठन गरेको उनले बताए। गाउँका अन्य किसानलाई अर्गानिक तरकारी खेती सम्बन्धी आवश्यक तालिमसमेत दिने गरेका छन्। समूहका सबै सदस्यले तरकारी उत्पादन गर्ने लक्ष्य भए पनि संकलन केन्द्र र बजार अभावले सोचेजस्तो तरकारी उत्पादन गर्न नसकिएको यहाँका अर्का किसान धनी विष्टले बताइन्। आफूहरूले उत्पादन गरेको तरकारीको बजार व्यवस्था गरिदिन स्थानीय तथा प्रदेश सरकारसँग आग्रह गरे पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरिन्। संकलन केन्द्र र बजार व्यवस्थापन भए आफूले अर्गानिक तरकारी उत्पादन गरेर जिल्लाका सबै ठाउँमा पुर्याउने लक्ष्य रहेको बिष्टले बताइन्।
गाउँपालिकाले भने यहाँका किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई बजारीकरण गर्न संकलन केन्द्र निर्माण गर्ने तयारी भएको जनाएको छ। यहाँको तरकारी अर्गानिक भए पनि बजार अभाव रहेको उनले स्वीकार गरे। उक्त समस्या समाधान गर्न चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार र आफ्नो सहकार्यमा संकलन केन्द्र निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए।