संकटमा सामुदायिक क्याम्पस
प्यूठान : प्यूठान नगरपालिका–७ को स्वर्गद्वारी क्याम्पस पूण्यखोलाका प्राधयापक नेत्रमणी आचार्यले तलब नपाएको ६ महिजा भयो। नियमित क्याम्पसमा अध्यापन गराउँदा पनि ६ महिनासम्म तलब नपाउँदा घरखर्च चलाउनै समस्या भएको उनी बताउँछन्।
क्याम्पसको आर्थिक स्रोत नभएका कारण आचार्य मात्रै होइन, क्याम्पसका सबै प्राध्यापकहरु ६ महिनादेखि तलब पर्खेर बसेका छन्। व्यवस्थापन समितिले भने क्याम्पसको आर्थिक स्रोत नहुँदा तलब खुवाउन नसकिएको बताएको छ। ‘स्वयंसेवक जस्तै हुनुपरेको छ, क्याम्पसको दिगो व्यवस्थापनमा स्थानीय सरकारले पहल थाल्नुपर्छ’ आचार्यले भने।
जिल्लामा सामुदायिक तहबाट पाँचवटा क्याम्पस सञ्चालित छन्। ती सबै क्याम्पसहरु आर्थिक अभावले सञ्चालनमा सकस देखिएको छ। विद्यार्थीको शुल्कले धानिएका क्याम्पसहरु विद्यार्थी संख्या घटेसँगै अप्ठ्यारोमा परेका हुन्। ‘बर्सेनि विद्यार्थी संख्या घट्दैछन्’ प्यूठान क्याम्पस खलंगाकी प्रमुख कल्पना खड्काले भनिन्, ‘सरहरुलाई तलब खुवाउनसमेत गाह्रो भइरहेको छ।’ उनी आफूले पनि दुई महिनादेखि तलब नबुझेको बताउछिन्।
त्रिभुवन विश्वविद्यालयले तोकको सेवा सुविधाभन्दा धेरै कममा प्राध्यापकहरुले पढाउँदै आएको उनको भनाइ छ। प्यूठान नगरपालिकाकै बाग्दुलामा झिमरुक, स्वर्गद्वारी नगरपालिका भिंगृमा अम्मर र झिमरुक गाउँपालिका मच्छिमा गौमुखी क्याम्पस सञ्चालनमा छन्। गाउँ तथा नगरपालिकाले वार्षिक रुपमा दिएको थोरै अनुदानले जसोतसो धान्न सजिलो भए पनि दिगो समाधान नभएको क्याम्पस प्रमुखहरु बताउँछन्।
प्रदेश, संघ र स्थानीय सरकारले भौतिक संरचनाका लागि बजेट दिए पनि प्रशासनिक खर्च नदिने गरेको स्वर्गद्वारी बहुमुखी क्याम्पसका प्रमुख गुञ्जबहादुर खड्काले बताए। उनकाअनुसार उक्त क्याम्पस जिल्लाकै पुरानो हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पस ०३७ सालमा स्थापना भएको थियो। ‘हाम्रो क्याम्पससँगै स्थापना भएका सबै आंगिक भइसके’ उनले भने, ‘तर यो क्याम्पस अहिलेसम्म समुदायस्तरबाट चलाउनुपरेको छ।’
क्याम्पस संचालनका लागि प्रशासनिक खर्चतर्फ वार्षिक करिव ७० लाख रुपैयाँ अपुग हुने गरेको छ। खड्काले हाल ५ सय २० जना विद्यार्थी अध्ययनरत रहेको बताए। उच्च शिक्षा सञ्चालनमा तत्कालै व्यवहारीक नीति ल्याउनसमेत उनले सरकारलाई आग्रह गरे। राज्यको प्रत्यक्ष लगानीबीना कक्षा १२ देखि माथिल्लो कक्षाको पठनपाठन सञ्चालन गर्न हम्मेहम्मे पर्ने क्याम्पसका प्रमुख बताउँछन्।
जिल्लामा सञ्चालित पाँचवटै क्याम्पसमा हेर्दा एक हजार विद्यार्थी पनि पुग्दैनन्। स्वर्गद्वारीमा ५ सय २०, गौमुखीमा एक सय २०, प्यूठानमा एक सय १२, अमरमा एक सय २५ र झिमरुक क्याम्पसमा एक सय १० गरी कुल ९ सय ८७ जना विद्यार्थी छन्। घट्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै नजिकका क्याम्पसहरुलाई ‘समायोजन’ गर्नुपर्ने प्राध्यापक डा.शिवराज पण्डितले सुझाव दिए।
त्रिभुवन विश्वविद्यालयले ५ किलोमिटर दुरीको बीचमा अर्को क्याम्पस सञ्चालन गर्न नपाउने नीतिगत व्यवस्था गरे पनि बिजुवार र बाग्दुलामै दुई क्याम्पस छन्। जिल्लाका सरोकारवालाले प्यूठान क्याम्पस खलंगा, झिमरुक क्याम्पस बाग्दुला र स्वर्गद्वारी बहुमुखी क्याम्पस पूण्यखोलालाइ ‘मर्ज’ गर्नुपर्ने धारणा राखेका छन्। भूगोलका हिसावले सदरमुकामदेखि टाढा रहेका अन्य तीन क्याम्पस यथावत सञ्चालन हुनुपर्नेमा उनीहरुको जोड छ।
संघीय शिक्षा ऐन जारी नहुँदा सामुदायिक स्तरबाट सञ्चालित क्याम्पसहरु सञ्चालनमा कठिनाइ आएको छ। ‘छोराछोरीलाइ सहरमा पढाउने चलन बढ्दो छ’ पण्डितले भने, ‘गाउँका विद्यालयमा कसले पढ्ने ? ’ जिल्लामा शिक्षा, मानविकी, व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको छ।