खेलसँगै मनोरञ्जन

खेलसँगै मनोरञ्जन

बाल्यकाल सामान्यतः बालबालिकाको शारीरिक तथा मानसिक विकास हुने समय हो। यो समयमा बालबालिकालाई खेल्न मन पर्छ। त्यसैले घर होस् या विद्यालय, खेलकुदमा उनीहरू रमाउँछन्। यसले उनीहरूलाई अनुशासित पनि बनाउँछ।

खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन हो। राम्रो खेल खेल्ने सीपले विद्यालयस्तरमा मात्र नभई स्वस्थ जीवनयापन गर्नका लागि जीवनभर सहयोग गर्छ। विद्यार्थीको कक्षाकोठा भित्रको क्रियाकलापको मात्र मूल्यांकन गर्ने हो भने त्यो मूल्यांकन अपूरो हुन्छ। साथै अभिभावक पनि खेलकुदले बालबालिकालाई पुर्‍याउने फाइदाप्रति अनभिज्ञ देखिन्छन्।

यिनै विषयमा बुझाउन काठमाडौं जिल्ला ब्याडमिन्टन संघले ‘काठमाडौं जिल्ला स्कुल ब्याडमिन्टन च्याम्पियनसिप’ आयोजना गर्‍यो। साउन २१ गतेदेखि २४ गतेसम्म भएको प्रतियोगितामा १४ वर्षमुनिका बालबालिका आआफ्नो स्कुललाई प्रतिनिधित्व गर्दै सहभागी भएका थिए।

त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा भएको प्रतियोगितामा ६५ भन्दा बढी विद्यालयका विद्यार्थीले भाग लिएका थिए। प्रतियोगितामा खेलसँगै विद्यार्थीले खेलबाट हुने फाइदा बारे बुझ्ने मौका पाएका थिए। त्यसैगरी प्रतियोगिता स्थलमा भएका अन्य विविध गतिविधिले विद्यार्थीलाई यथेष्ट मनोरञ्जन पनि प्रदान गरेको थियो।

के फाइदा छ ?

विद्यार्थीको स्वभाव नै चकचके खालको हुन्छ। तर, प्रतियोगिता शान्तिपूर्ण देखिन्थ्यो। यसको कारण अनुशासन थियो। खेलमा सहभागी हुन आएका विद्यार्थी वा अरू विद्यार्थी एकदमै शान्त र अनुशासित भएर कार्यक्रम हेरिरहेका देखिन्थे। विद्यार्थी आआफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै खेल्न पाएकोमा खुसी देखिन्थे।

कक्षा ८ मा पढ्ने १३ वर्षीया गरिमा पराजुलीले त्रियोगा स्कुल, धापासीको प्रतिनिधित्व गर्दै खेलिन्। उनले ब्याडमिन्टन खेल्न थालेको एक वर्ष मात्र भयो। यो उनको पहिलो टुर्नामेन्ट हो। खेलमा के होला भनेर उनलाई एकदमै डर लागिरहेको थियो। यस खेलप्रति उनको रुचि बढ्नुको कारण उनको बुवा हुन्। खेलकुदले मानिसलाई ज्ञानी बनाउँछ भन्ने सोचले पनि उनी यसमा लागेकी हुन्। उनले भनिन्, ‘खेलकुदले मानिसलाई स्वस्थ बनाउनुको साथै अनुशासित बनाउने हुनाले मैले यसलाई रोजेकी हुँ।’

ककेश सत्यालले बौद्ध इन्टरनेसनल स्कुल, जोरपाटीको प्रतिनिधित्व गर्दै खेले। कक्षा ८ मा अध्ययनरत ककेश धर्मन्थली ब्याडमिन्टन क्लबमा ट्रेनिङ लिइरहेका छन्। उनले भने, ‘स्कुलमा ब्याडमिन्टन गेम प्राय : हुँदैन त्यसैले बाहिर ट्रेनिङ लिइरहेको छ।’ अलि चकचके स्वभावका सत्यालले यो टुर्नामेन्टले आफूमा प्रतिस्पर्धात्मक भावना थपिदिएको बताए।

ग्यालेक्सी स्कुलमा गएपछि ब्याडमिन्टन खेल्न थालेका निश्चित त्रिपाठीले भने, ‘ग्यालेक्सी स्कुलमा जाँदा त्यहाँ यसको ट्रेनिङ दिइँदो रहेछ। त्यो देखेर ममा रुचि बढ्यो र खेल्न थालेँ।’ यो उनको चौथो टुर्नामेन्ट हो।

काँडाघारीकी आशिका थापा कक्षा ९ मा पढ्छिन्। कोटदेवी पब्लिक इङ्लिस सेकेन्डरी स्कुल, कोटेश्वरको प्रतिनिधित्व गर्दै यू– १४ को समूहअन्तर्गत उनले खेलिन्। यो उनको तेस्रो टुर्नामेन्ट हो। तर उनको स्कुलमा ब्याडमिन्टन खासै खेलिँदैन। उनले भनिन्, ‘स्कुलमा बढी फुटबललाई प्राथमिकता दिइन्छ। तर मलाई ब्याडमिन्टनमा रुचि छ। यसले हाम्रो शरीरलाई एकदमै तन्दुरुस्त बनाउँछ।’

सिकाउन कत्तिको गाह्रो छ ?

अहिलेका बालबालिका जति स्मार्ट छन् त्यति नै जिद्दी। मोबाइल, टेलिभिजनमा बढी झुन्डिने, भनेको नमान्ने प्रवृत्ति पनि बढ्दो छ। यस्तो अवस्थामा उनीहरूलाई खेलकुदले अनुशासित बनाउन मद्दत गर्छ। तर, अनुशासित बनाउन कत्तिको गाह्रो छ त ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ट्रेनिङ दिइसकेका तथा पूर्व राष्ट्रिय खेलाडी महेन्द्रलाल श्रेष्ठले साना बालबालिकालाई सिकाउन एकदमै गाह्रो हुने बताए। उनी हाल एक्सेलसर स्कुलका विद्यार्थीलाई खेल सिकाउँछन्। उनका अनुसार मनैदेखि खेल्ने विद्यार्थी बढी अनुशासित हुन्छन्। खेलाडी भनेकै अनुशासनको पर्यायवाची भएको बताउँदै उनले भने, ‘अब खेलकुदको विषयलाई विद्यालयले नै विशेष जोड दिनुपर्छ। सातामा ३० मिनेटको कक्षा दिएर मात्र हुँदैन।’

पूर्वराष्ट्रिय खेलाडी किरण शाह विगत १६ वर्षदेखि ग्यालेक्सी स्कुलमा ब्याडमिन्टन सिकाइरहेका छन्। खेलले बालबालिकाको खेल जीवनमा मात्र नभई उसको सिंगो जीवनलाई अनुशासित बनाउने उनको भनाइ छ।

१२ वर्षमुनिका बालबालिकालाई मात्र ब्याडमिन्टनको ट्रेनिङ गराउँछन् तीर्थकुमार मल्ल। बालबालिका चकचके स्वभावका हुने भएकाले नियममा बाँधेर उनीहरूलाई सिकाउन गाह्रो हुने उनले बताए।

खेलसँगै अन्य उपयोगी स्टल

ब्याडमिन्टन प्रतियोगिता मेलाको मुख्य आकर्षण भए पनि त्यहाँ बालबालिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनुका साथै विविध स्टलहरू पनि राखिएका थिए। प्रतियोगिताको बीचबीचमा नाचगान तथा प्रतिभा प्रस्तुतिको कार्यक्रम पनि रहेको थियो। त्यसैगरी लाइभ आर्टको स्टलमा कलामा रुचि हुने विद्यार्थीले चित्र कोर्न पाउँथे।

विविध प्रतिभा भएका विद्यार्थीले खेलसँगै आफ्नो प्रतिभा पनि देखाउन पाउन भन्ने उद्देश्यले विभिन्न स्टल राखिएको संयोजक नवीन अधिकारीले बताए। बालबालिकालाई अन्तर्राष्ट्रिय मान्यताअनुसार खेल खेलाइएको काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.