अभिभावक खोज्दै, अस्पतालमा हुर्कंदै

अभिभावक खोज्दै, अस्पतालमा हुर्कंदै
अनमी अप्सरा भण्डारीको काखमा नवजात शिशु। तस्बिर : भवानी अधिकारी
सुन्नुहोस्

स्याङ्जा : खोलाछेउ भेटिएका नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन्। वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो। अस्पतालका कर्मचारीले नै अहिले उनको खानपान, रेखदेख र स्वास्थ्योपचार गरिरहेका छन्। सालनालसहित बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु करिब ५० दिनकी भइन्।

चापाकोट नगरपालिका– २ पाकरी खोलानजिक चैत ७ गते वेवारिसे अवस्थामा नवजात शिशुुु भेटिएकी थिइन्। उनको अनुहार र शरीरका केही भागमा चोटसहित कमिलाले घेरिएको, टोकेको अवस्थामा भेटिएकी थिइन्।
स्थानीय एक व्यक्तिले देखेपछि प्रहरीलाई खबर भए पश्चात नगरपालिकाको पहलमा उनलाई पोखरास्थित एक अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएर पुनः गृह जिल्लाको स्याङ्जा अस्पतालमा ल्याइएको हो।

नवजात ती शिशु दिन गनेर हुर्किएकी छन्। हाल उनको अवस्था स्वस्थ्य रहेको अस्पतालले जनाएको छ। विशेषगरी, नर्स तथा महिला कर्मचारीले उनको खाना (ल्याक्टोजीन) खुवाउने, कपडा लगाइदिने लगायतका अन्य आवश्यक स्याहार सुसार गर्दै आएका छन्। रातमा पनि डिउटीमा खटिने कर्मचारीले शिशुको आवश्यक रेखदेख गर्दै आएको अस्पताल प्रमुख रुक्बिना अधिकारीले जानकारी दिइन्।

डिउटीबाहेकको समयमा काख काखमा राखेर खेलाउने तथा भुलाउने गरेका छन्। नावालिकालाई काखमा च्यापेर खेलाउँदै गरेकी सिनीयर अनमि अप्सरा भण्डारीले भनिन्, ‘यिनी त हाम्रै परिवारका एक सदस्य बनिसकेकी छन्। निकै माया लाग्छ। यहाँका सबैले माया र रेखदेख गर्नुहुन्छ।’

त्यसो त, चापाकोट नगरपालिकाले शिशुको आमा, बुवा तथा आफन्तलाई नाबालिकाको हकदावी गर्नका लागि आब्हान गर्दा समेत नआएपछि बैकल्पिक हेरचाहका लागि सूचिकृत हुन आब्हान गरेको छ। बिभिन्न ९ बुँदामा समेटिएका प्रमाणसहितका कागजात र निवेदनसहित व्यक्ति, संस्था वा बालगृहले समेत सूचना जारी गरेको ७ दिनभित्र दिन सकिने प्रावधान राखिएको नगरप्रमुख देवबहादुर (ईश्वर) ले बताए।

नेपाली नागरिक भएको, शैक्षिक एवं आर्थिक हैसियत खुलेको, फौजदारी अभियोग नलागेको, दम्पतीका हकमा नेपाल मेडिकल बोर्ड, वीर अस्पतालबाट सन्तान प्राप्त हुन नसक्ने भन्ने ब्यहोराको प्रमाणलगायतका अन्य कागजातसमेत पेश गर्नुपर्ने उल्लेख छ। पालिकाले चैत २७ गते जारी गरेको सूचना बमोजिम अहिलेसम्म एक जनाको मात्र निवेदन परेको उपप्रमुख एवं स्थानीय बाल अधिकार समिति संयोजक इशा रानाले जानकारी दिइन्।

निवेदन सम्बन्धमा आवश्यक जानकारी लिइरहेको र अबका केही दिनमै बैठक बसेर टुंग्याइने प्रक्रियामा अघि बढेको उपप्रमुख एवं संयोजक रानाको भनाइ छ। उनले भनिन्, ‘शिशुका ४०औं दिन निकै उतारचढावका बीच गुज्रेका छन्। शिशु चापाकोटकी छोरी हुन्।’
नगरपालिकाभित्र भेटिएका शिशुका अभिभावक पहिचान हुन नसकेपछि चापाकोटले नै बैकल्पिक हेरचाहको अनुगमन र आवश्यक परे उपस्थित गराउने गरी हेरचाहको जिम्मेवारी दिन लागेको जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.