कन्सल्टेन्सीमा छापा
काठमाडौं : वैदेशिक रोजगार विभागले परामर्शदाताका नाममा वैदेशिक रोजगारीमा पठाउने सिनामंगलस्थित एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको छ । सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो ।
विभागको आकस्मिक टोलीले गौशाला प्रहरीको सहयोगमा कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले जानकारी दिए । अनुगमनका क्रममा कन्सल्टेन्सीबाट साइप्रसमा वैदेशिक रोजगारमा जान आवेदन दिएका व्यक्तिको आवेदन फाइल तथा व्यक्तिको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरणसमेत अनुगमन टोलीले फेला पारेको महानिर्देशक भुसालले जानकारी दिए ।
टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगारसम्बन्धी कागजात र कम्प्युटर जफत गरेको छ । विभागले सञ्चालक सुजितकुमार श्रेष्ठलाई वयानका लागि विभागमा उपस्थित हुन पत्र थमाएको छ ।
शैक्षिक परामर्शदाताका रूपमा दर्ता भएर विभिन व्यक्तिसँग मोटो रकम लिइ नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाउने गरेको उजुरी परेकोे विभागले जनाएको छ । विभागले शिक्षा मन्त्रालयसँग समन्वय गरी कन्सलटेन्सीमा अनुगमनको कार्यलाई तीव्रता दिने नीति लिएको छ ।