एलएलएम प्रवेश परीक्षामा दुई पटक नतिजा : नम्बर नै साटियो

एलएलएम प्रवेश परीक्षामा दुई पटक नतिजा : नम्बर नै साटियो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय कानुन संकायले एलएलएम प्रवेश परीक्षाको नतिजा दोहोर्‍याएर प्रकाशित गरेपछि विद्यार्थीले डिन कार्यालयमा तालाबन्दी गरेका छन्। विद्यार्थीहरूले मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा रहेको कानुन संकाय डिन कार्यालयमा तालाबन्दी गरेका हुन्।

नेपाल ल क्याम्पस अखिल क्रान्तिकारीका अध्यक्ष दीपक थापाले प्रवेश परीक्षामा अनियमिता र अपारदर्शिता भएकाले तालाबन्दी गरिएको बताए। 'मेरिट लिस्ट नै यताउता हुनेगरी नतिजा पुनः प्रकाशित गरेको भेटियो', थापाले भने, 'पुनः प्रकाशित गर्दा सूचिमा तल रहेका नामलाई पहिलो र दोस्रो नम्बरमा राखिएको छ।'

कानुन संकाय डिन कार्यालयले असार १३ गते लिएको प्रवेश परीक्षाको नतिजा साउन १८ गते प्रकाशित भएको थियो। प्रकाशित नतिजामा प्राप्तांकका आधारमा १४३ परीक्षार्थीको नाम निकालिएको थियो। तर साउन २६ गते प्रकाशित संशोधित नतिजामा १४६ जनाको नाम निकालिएको छ। 

पहिलो नतिजामा १३४ मा नाम निकालेका प्रकृति मल्ललाई दोहोर्‍याएर नतिजा प्रकाशन गर्दा एक नम्बरमा राखिएको छ। पहिले नतिजा प्रकाशन हुँदा उनको प्राप्‍तांक ५९.८३ थियो भने दोस्रोपटक प्रकाशित नतिजा ८४.८३ छ। 

यस्तै दोस्रोपटक नतिजा प्रकाशन हुँदा मेरिट लिस्टको दोस्रो नम्बरमा परेका शिवप्रसाद आचार्यले ८२.३३ नम्बर ल्याएका छन् जबकि पहिलोपटक नतिजा प्रकाशन गर्दा मेरिट लिस्टको २९१ मा परेका उनको ४६.३३ अंक उल्लेख थियो। 

त्रिविले नेपाल ल क्याम्पसमा बिहान ३५ र दिउँसो ५० तथा नेशनल ल क्याम्पसमा ५० गरी १३५ जनालाई एलएलएम (कानुनमा स्नातकोत्तर) पढाउँछ। 

हेर्नुस् पहिलोपटक साउन १८ मा निकालिएको नतिजा

दोस्रोपटक साउन २६ मा प्रकाशित संशोधित नतिजा

के भन्छ डिन कार्यालय ?

त्रिभुवन विश्वविद्यालय कानुन संकायका डिन प्रा.डा. विजयसिंह सिजापतीले नतिजा प्रकाशनका लागि अलगै कमिटी रहेकाले यसबारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए।

कानुन संकाय प्रवेश परीक्षा समितिका संयोजक ज्ञानेश्वर पराजुलीले परीक्षार्थीको प्राप्तांक प्रवृष्टि (इन्ट्री) गर्दा पहिलोपटक गल्ती भएको भेटिएपछि दोहोर्‍याएर नतिजा प्रकाशन गरेको बताए।

'पहिलोपटक नतिजा प्रकाशन गर्दा नै ५ दिनभित्र प्राविधिक त्रुटि भएको देखिए लिखित निवेदन दिन भनेका थियौँ', उनले भने, 'परेका ११ निवेदनको अध्ययन गरेर अभिलेख हेर्दा प्राविधिक त्रुटि भएको भेटेपछि अभिलेख सच्याएर नतिजा पुनः प्रकाशन गरेका हौँ।'  

परीक्षा समितिबाट पहिलोपटक नतिजा प्रकाशित गर्दा प्राविधिक त्रुटि भएपछि पुनः गल्ती नदोहोरियोस् भनेर 'दूधको दूध पानीको पानी छुट्याइएको' उनले बताए। 'हाम्रो तर्फबाट भएको मानवीय कमजोरीका कारण दोहोर्‍याएर नतिजा प्रकाशन गर्दा कोही रिंगभित्र परे र कोही बाहिर परे', पराजुलीले भने, 'अन्तिममा परेका फर्स्ट सेकेन्डमा आए, सुरुमा नम्बर नै एउटाको अर्कोमा परेछ। हामी नै आश्चर्यचिकत भयौँ।'

पहिले अधिकृत तहको अनुभवी कर्मचारी कार्यालयमा रहेकोले त्रुटि नहुने गरेकोमा अहिले डाटा इन्ट्री गर्न कर्मचारीको समेत अभाव भएको उनले तर्क गरे। 'कर्मचारी नहुँदा पनि समस्या भयो। परीक्षा समितिको आफ्नै काम हुन्छ', उनले भने, 'कर्मचारीको पूर्णरुपमा भर पर्दा गल्ती हुन गयो, तर भएको मानवीय त्रुटि हो, जानीजानी गरिएको होइन।'

मंगलबार बिहान आफूहरूलाई निकालेर कार्यालयमा तालाबन्दी गरिएपछि त्रिवि शिक्षाध्यक्षको कार्यालयमा जानकारी गराइएको उनले बताए। 'हामीले सम्झाईबुझाई गर्‍यौँ तर उहाँहरूले मान्नुभएन', उनले भने, 'समस्याको समाधान निकालिदिन शिक्षाध्यक्षको कार्यालयमा लिखित निवेदन दिएका छौँ।' 

परीक्षा समितिका अर्का सदस्य कृष्णप्रसाद बस्यालले समितिले आफ्नो तर्फबाट भएको प्राविधिक त्रुटि 'रियलाइज' गरेको बताए। 'यो नहुनुपर्ने कुरा थियो, भइहाल्यो तर नियतबस गरिएको होइन', उनले भने, 'विद्यार्थीहरूलाई अस्वभाविक लाग्नु अन्यथा होइन, तर गल्तीबस भएको रेकर्ड सच्याइएकोमात्र हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.