'नागढुंगा सुरुङमार्ग छिट्टै'

'नागढुंगा सुरुङमार्ग छिट्टै'

 

काठमाडौं : जापानका राजदूत मासामिची साइगोले नेपालमा ठूला लगानी तथा विकासका लागि आर्थिक र प्राविधिक सहयोग गर्न जापान तत्पर रहेको बताएका छन् । जापानी लगानी भित्र्याउन नेपालको भौतिक पूर्वाधारमा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

उनले पूर्वाधार विकास, विद्युत्, सुरुङमार्ग, नागरिक उड्डयन, कृषि, पर्यावरण र पर्यटन क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘पूर्वाधार सुधार गर्ने हो भने जापानका उद्योगपति नेपालमा ओइरिन सक्छन् ।’

अन्नपूर्ण मिडिया नेटवर्कको कर्पोरेट टावरमा रहेको न्युज रुम अवलोकनमा मंगलबार आएका जापानी राजदूत साइगोले भने, ‘नेपालमा विकास नै विकासको सम्भावना छ । यहाँ हामी पनि सहयोग र लगानी गर्न तयार छौं । यसको आधार सम्बन्धित राष्ट्रले तय गर्ने हो ।’

‘अधिक सम्भावना बोकेको सुन्दर मुलुक नेपालमा जापान सबै खालको सहकार्य गर्न तयार छ,’ राजदूत साइगोले भने, ‘हरियाली डाँडा र खेतमा धानको बालाको सट्टा कंक्रिटका ठूला भवन ठडिएका छन् । त्यसले मात्र परिवर्तन हुँदैन । मुलुकलाई सबल नीतिले अगाडि बढाउँछ ।’

नेपाली जनताको सद्भावको उनले प्रशंसा गरे । उनले भने, ‘यहाँ राजनीतिक परिवर्तन धेरै भए । तर, जनताको सरलता, मिजासिलोपन, परि श्रम गर्ने बानी र विदेशीप्रतिको सद्भाव परिवर्तन भएको छैन ।’ उनले आफू राजदूत भएर आएदेखि कृषिप्रधान मुलुक नेपालमा यही विषयमा बढी छलफल गर्न पाएको बताए । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयमा काम गरेर निवृत्तपछि उनी राजदूतमा नियुक्त भएका थिए ।

२०१८ नोभेम्बरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमण र दुई महिनापछि जापानी विदेशमन्त्री तारो कोनोको नेपाल भ्रमणले दुईपक्षीय सम्बन्ध थप बलियो बनाएको राजदूत साइगोले बताए । विदेशमन्त्रीको भ्रमणका क्रममा ‘दक्ष कामदार अवधारणापत्र’ जारी भएपछि द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको उनले बताए ।

उनले भने, ‘दुई मुलुकबीचको मित्रताले कूटनीति सबल बनाउने हो । हामीबीच सहकार्य हुँदै गएमा समुन्नतिको यात्रा तय हुन्छ ।’ राजदूत साइगोले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारा कार्यान्वयनमा सघाउन जापान तत्पर रहेको बताए ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रधानसम्पादक हरिबहादुर थापा, सीईओ मानस घिमिरे, निर्देशक सचेन थापा लगायत अन्नपूर्ण नेटवर्कअन्तर्गत प्रिन्ट, रेडियो, अनलाइन र टेलिभिजनका सम्पादकले उनलाई स्वागत गरेका थिए । राजदूत साइगोले भने, ‘असल पत्रकारिताले मुलुकलाई मार्गनिर्देश गर्छ । यसमा यहाँहरूको भूमिका निकै माथिल्लो छ ।’

अध्यक्ष क्याप्टेन थापाले नेपालको विकास र दुईपक्षीय सम्बन्ध विस्तारका लागि मिडिया हाउसले सबै पक्षबाट सहकार्य गरिरहेको बताए । उनले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत सबै न्युज मिडिया प्रडक्टहरूले नेपालप्रतिको जापानी सम्मान र सदभावलाई दुरदराजमा सम्प्रेषण गरेर दुई देशबीचको सम्बन्ध थप सुमधुर र सार्थक तुल्याउन महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । थापाले नेपालको आर्थिक विकासमा जापानको महŒवपूर्ण सहयोग र सद्‍भाव प्राप्त भएको बताए । अध्यक्ष थापाले भने, ‘सहयोग आदानप्रदानको शृंखलालाई फराकिलो बनाएर लैजान आवश्यक छ ।’

प्रणाली बदलियो, मानसम्मान उस्तै

राजदूत साइगो १९९० मा दिल्लीस्थित जापानी दूतावासमा कार्यरत रहँदा दुई पटक काठमाडौं आएका थिए । दिल्लीबाट भुटान जाने क्रममा उनले तीन–तीन रात बिताएका थिए । राजदूत साइगोले नेपालमा विगतमा र अहिले प्रणाली परिवर्तन भए पनि जनताको मानसम्मान र संस्कृति उस्तै रहेको बताए । ‘त्यतिबेला मैले विमानस्थलबाट खाली फाँट र लहलह परेका धानबाली नियालेको थिएँ । यही टावर रहेको ठाउँमा खेत थियो होला । अहिले त काठमाडौं कंक्रिटको थुप्रो भइसकेको छ,’ उनले भने, ‘यसमा काठमाडौंले सोच्न आवश्यक छ । सबैलाई सायद हरियाली मन पर्छ । त्यसमा सरकार र जनता दुवै सहकार्य गरेर काम गर्न आवश्यक छ ।’

नेपालमा पर्यटन, विद्युत् र कृषि नेपालको प्रमुख आयस्रोत हुनसक्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालका कतिपय स्थानबाट देख्न सक्छौं, हिमालको कापबाट उदाइरहेको सूर्य । यो हेर्दा को रमाउँदैन र ? ’

नेपाली भाषा सिकिरहेका राजदूत साइगोले भने, ‘नेपाली साह्रै सहज छन् तर अल्फाबेट त साह्रै गाह्रोे रहेछ ।’ उनले नेपाल र जापानका युवाबीच सांस्कृतिक आदानप्रदान गर्न तयार रहेको बताए ।

कोटेश्वर–सूर्यविनायक सडक र धुलिखेल–बर्दिबास कृषि सडक निर्माणमा सहयोग गरेको जापानले छिट्टै नागढुंगा सुरुङमार्ग निर्माण थाल्ने भएको छ । बुद्धको जन्मस्थल र विश्व सम्पदाको थप प्रचार गर्न सके नेपालमा पर्यटक बढ्ने राजदूत साइगोको विश्वास छ ।

राजदूत साइगो नेपाली संस्कृति मन पराउने विदेशीमध्ये एक हुन् । सन् २०१८ को मे २७ मा नेपाल आएका भए पनि उनले एक महिनापछि अर्थात् जुन २७ मा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए । छिमेकी र शक्ति मुलुकका राजदूतले आएको भोलिपल्ट वा एक साताभित्र ओहोदाको प्रमाणपत्र बुझाएको दृष्टान्त हुँदाहुँदै पनि दातृ मुलुक जापानका राजदूतलाई भने सरकारले एक महिना कुराएको थियो ।

जापानसँग सन् १९५६ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भए पनि सम्बन्ध सन् १८०० को दोस्रो दशकदेखि रहेको देखिन्छ । जापानी भिक्षुले सन् १८९९ मा नेपाल भ्रमण गरी बुद्ध जन्मस्थलबारे जापान र तिब्बतमा जानकारी फैलाएका थिए । त्यतिबेला जापानी भिक्षु नेपाल हुँदै तिब्बत जान्थे । सन् १९०२ मै नेपाली विद्यार्थी जापानमा पढ्न गएको परराष्ट्र मन्त्रालयको वेबसाइटमा उल्लेख छ । अहिले जापानमा औपचारिक रूपमा ८७ हजार नेपाली छन् । २७ हजार विद्यार्थी रहेको जापानी तथ्यांक छ । नेपालमा भने करिब दुई हजार जापानी रहेको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.