बालुवा तस्करको डरलाग्दो सेटिङ : लासमाथि यसरी हुन्छ 'गोप्य डिल'

बालुवा तस्करको डरलाग्दो सेटिङ : लासमाथि यसरी हुन्छ 'गोप्य डिल'

धादिङ : गत शनिबार धादिङको गजुरी गाउँपालिकाको ६ ठुलीफाँटस्थित दरियाँल खोलामा अवैध बालुवा निकालेको खाल्डोमा डुबेर दुई युवकको ज्यान गयो। 

बालुवा तस्करको अवैधानिक कामले गाउँका दुई युवाले ज्यान गुमाउनुपरेपछि स्थानीय आक्रोशित भए। स्थानीयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), गाउँपालिका प्रमुख, जिल्लाका प्रहरी प्रमुख घटनास्थलमै उपस्थित हुनुपर्ने, अवैध उत्खनन गर्नेलाई कारबाही गरी तत्काल खोला दोहन बन्द गर्नुपर्ने, मृतकलाई राहत उपलब्ध गराउनुपर्नेलगायत माग राखेर प्रहरीलाई घटनाको मुचुल्का गराउनसमेत दिएनन्। 

पहिला नै पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिका र प्रहरी प्रशासनले स्थानीयको कुरा नसुनेको भन्दै मृतकका आफन्तले खोलामा अवैध रुपमा बालुवा निकालिरहेका ३ डोजरमा आगजनी गरेका थिए। 

खोलामा डुबेर मृत्यु भएकाको शवलाई घटनास्थलमै मुचुल्का गरेपनि मुचुल्कामा स्थानीयले सहीछाप गर्न मानेनन्। स्थानीयले सही नगरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्यायो। तर घटना भएको दिन आन्दोलित परिवारले भोलिपल्ट सहजै मृतकको पोस्टमार्टम गरेपछि दाहासंस्कारको लागि शव बुझे। केही संचार माध्ययम पीडित  परिवारले ५÷५ लाख क्षतिपूर्ति पाउने सहमतिपछि शव बुझेको खबर आयो।  तर, प्रहरी, गाउँपालिका, र वडाध्यक्षलेसमेत पाँचपाँच लाख कसले दिएको हो भनेर खुलाउन चाहेनन्। 

इलाका प्रहरी कार्यलय गजुरी धादिङका प्रमुख डीएसपी खगेन्द्रबहादुर खड्काले भने, ‘को कोबीच के–के सहमति भयो हामीलाई थाहा छैन, हामीले त्यो काम गर्ने पनि होइन, मृतकका आफन्तले शव जिम्मा लिने भनेपछि प्रक्रिया पुर्‍याएर पठाएका हौँ।’

क्षतिपूर्ति र राहतको विषयमा वडाध्यक्ष अर्जुनकुमार भुजेलले पनि अनभिज्ञता प्रकट गरे। ‘हाम्रै पालिकाको नागरिक भएको नाताले विपत परेको अवस्थामा हामीले काजकिरिया खर्च दिने बताएका थियौँ’, उनले भने, ‘कार्यपालिका बैठक बसेर निर्णय गरेपछि मात्रै पालिकाको नीतिअनुसार सामान्य काजकिरिया खर्च उपलब्ध गराउने कुरा भएको हो, अन्य सहमतिबारे हामीलाई केही थाहा छैन।’

‘खोलाबाट अवैध रुपमा बालुवा निकाल्न कुनै पनि हालतमा पाइदैन, काम नै अवैध भएर मानिसको ज्यान नै गइसकेपछि पनि नगदमा कारोबार गरेर केश मिलाउन पाइन्छ ?’, नदी तथा खोला बचाऊ अभियानमा लागेका एक अभियन्ताले भने, ‘यो सबै बालुवा तस्करको सेटिङ हो।’

आफ्नै पालिका भित्रका २ युवाको मृत्यु भएको विषयमा गाउँपालिकाको तर्फबाट कुनै पनि आधिकारिक प्रतिक्रिया बाहिर आएको छैन। वैधानिक ठाउँ तथा खानीबाट निकालेको ढुङगा गिटी बालुवाको निकासी कर संकलन गर्नको लागि गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०७६-७७ को लागि १२ करोड ७५ लाखमा टेन्डर खुलाएको थियो।

उक्त टेण्डर भिसान कन्स्ट्रक्सनले पाएको छ। निकासी करको लागि भनेर टेण्डर लगाए पनि बालुवा तस्करको सेटिङ मिलाएका कारण प्राकृतिक स्रोतमाथिको अवैध दोहन भइरदासमेत गाउँपालिका चुप बसेको एक स्थानीयले बताए।  ‘आफूले टेण्डर लगाएको छ भन्दैमा सबै अवैधानिक काममा गाउँपालिका आँखा चिम्लिएर बस्न मिल्छ ? नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘मान्छे मार्दै, गुपचुप पैसा तिर्दै नदी तथा खोलामा अवैध दोहन गर्न पाउने हो ?’

स्रोतका अनुसार खोलामा अवैधानिक रुपमा डोजर लगाउनेले मृतकका परिवारलाई एक साताभित्र पाँचपाँच लाख पैसा दिने सहमतिपछि आफन्तले शव बुझेका हुन्। पैसा कसले दिने भन्ने बारेमा कसैले केही पनि बताउन चाँहदैनन्। पीडित परिवार, बालुवा तस्कर र गाउँपालिका प्रतिनिधिबीच भएको सहमति भने गोप्य राखिएको छ। 

सहमति भएको भनेर फेसबुकमा लेखिएको कुरा मेटाइएको छ। गोप्य स्रोतका अनुसार गजुरी गाउँपालिका ६ का वडाध्यक्ष अर्जुनबहादुर भुजेलको रोहवरमा बालुवा तस्कर र मृतकका परिवार बसेर गोप्य सहमति गरेको र उक्त सहमति गरेको कुरापनि बाहिर नल्याउने सहमति भएको हो। भुजेलले भने आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए। मृतकका दाइ नाता पर्ने (काकाको छोरा) हर्कबहादुर स्याङतानले पीडित परिवारलाई नगद पाँच लाख दिने सहमति भएपनि पैसा कसले दिने भन्ने बारे आफूहरुलाई थाहा नभएको बताए।

घटनासँग सम्बन्धित जिम्मेवार निकायले आधिकारिक कुरा बाहिर नल्याउनुले पनि बालुवा तस्करले सबैक्षेत्रमा सेटिङ मिलाएको प्रष्ट देखिन्छ। रोचक कुरा त के छ भने पिडित परिवारले पाँचपाँच लाख रुपैयाँ पाउने भएपछि आफूहरुले बालुवा निकाल्ने डोजरमा आगो नलगाएको लिखित निवेदन प्रहरीलाइ दिएका थिए। पीडित परिवारले आगो नलगाएको बताए लगत्तै बालुवा तस्करले डोजरमा आगो लगाउने दरियाँख खोला आसपासका ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यलय धादिङका मुद्धा दर्ता गराएका छन्।

दिनभर डोजर लुकाउने र रातभर खोलमा मेसिन लगाउने बालुवा तस्करको थिए भन्ने बारेमा न त प्रहरीले नै केही जानकारी दिएको छ न त गाउँपालिकाले नै। अवैधानिक काम भएकाले पीडित परिवारलाई नगद दिएर घटना सामसुम पारेको सरोकारवाला बताउँछन्। जिल्ला प्रहरी कार्यलय धादिङमा दर्ता भएको आगजनीको उजुरीमा भने बालुवा व्यवसायीको तर्फबाट राजु सार्की र राम शरण भण्डारीको नाम उल्लेख गरिएको छ।

बालुवा तस्करले स्थानीयलाई नै मुद्धा दर्ता गराएपछि स्थानीयले पनि गजुरी गाउँपालिका ६ का सदस्य ध्रुव सुवेदीसहित अवैध खोला उत्खनन् गर्ने ९ जनाको नाममा प्राकृतिक स्रोतको अवैध दोहन र ज्यान सम्बन्धी अर्को मुद्धा दर्ता गराएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.