लायकू भैल बचाउने त्यो ‘गुप्त किताब’

लायकू भैल बचाउने त्यो ‘गुप्त किताब’

भक्तपुर : भक्तपुरको मध्यपुर थिमीस्थित लायकू भैल प्याखँ (लायकू भैरव नाच) ४७ वर्ष प्रदर्शन हुने सकेन। मल्लकालीन यो नाच प्रत्येक वर्ष साःपारु (गाईजात्रा) लगत्तै मध्यपुर थिमीका विभिन्न टोलटोलमा चारदिन लगातार प्रदर्शन गरिन्छ।

यस नाचमा भैरव र कुमारी दुईदुई तथा ज्यापु गःचा एक गरी पाँच जना सहभागी हुन्छन्। त्यस्तै दागःखिँ बजाउने १२, प्वंगा बजाउने आठ, भुस्याय् बजाउने आठ जना र म्वाहाली (सहनाई) बनाउने चारजना वाद्यवादक आवश्यक पर्छ। यी चार वटा वाद्यवादनको विभिन्न ३२ प्रकारका तालमा यो नाच नाचिन्छ।

तर २०२५ सालमा यो नाच रोकियो। २०२१ सालको नापीको आधारमा २०२४ सालमा भूमिसुधार गरियो। भूमिसुधारअन्तर्गत नाचका गुठीयारहरूको जग्गा रैतानी गरियो। जसले गर्दा नाचमा प्रत्यक्ष सहयोग गर्ने पःमा (प्रधान नाइके) हरूको आयस्ता खोसियो। जसले गर्दा नाच रोकियो।

४७ वर्षसम्म नाचमात्रै रोकिएन नाच सिकाउने गुरुहरूसमेत बिते। नाचमा प्रयोग हुने मुकुन्डो नासिए। कलाकारहरूले लगाउने पोशाक नासिए। गरगहना हराए। जसले गर्दा नाच लुप्त नै भइसकेको अवस्था थियो। यस अवधिमा नाचका लागि वाद्यवादन बजाउने तथा सिकाउने गुरुहरूसमेत बित्दै गए। नाचबारे जान्ने बुझ्ने अब केही व्यक्तिमात्रै बाँकी भए।

त्यसैले नाचबारे जानकारी भएका जीवित व्यक्तिहरूले नाच ब्यूँताउने प्रयास गरे। करिब दुई वर्षको अथक मिहिनेतपछि उनीहरूले एउटा गुप्त किताब फेला पारे। उक्त किताब उनीहरूलाई के खोज्छस् कानो ? आँखो भनेजस्तै भयो।

उक्त किताबमा लायकू भैरवसम्बन्धी किम्बदन्तीमात्रै उल्लेख थिएन, नाच सिकाउने विधि, नाचमा प्रयोग हुने मुकुन्डो बनाउने विधि, कलाकारले लगाउने पोशाक तथा गरगहनाबारे सबै उल्लेख भएको नाचका गुरु मुतीबहादुर श्रेष्ठ बताउँछन्।

मुतीकुमार १९ वर्षको हुँदा २०१९ सालमा पहिलोपटक भैल प्याखँमा भैल भएर नाचेका थिए। तर अहिले उनका समकक्षी कोही जीवित छैनन्।

‘यो गुप्त किताब नभेटिएको भए लायकू भैल प्याखँ व्युताउन सम्भव थिएन’, श्रेष्ठ भन्छन्, ‘यो तान्त्रिक विधिले तयार गरिएको किताब भएकाले जो पायो त्यसलाई देखाउन हुँदैन। हामीमध्ये धेरैलाई यसबारे थाहा छैन।’

किताबमा भएका सबै कुरा बताउनसमेत नहुने उनले बताए। जुन किताबमै लेखिएको उनी सुनाउँछन्। किताब गाताबिहीन छ। 

‘उक्त किताबलाई संरक्षण गरेर राखेका छौं र नयाँ पनि बनाइसकेका छौं’, भैल प्याखँका व्यवस्थापक राजकुमार श्रेष्ठले थपे, ‘नाच नाच्ने कलाकारलाई समेत यो पुस्तक देखाउन हुँदैन।’ उक्त गुप्त किताबकै आधारमा लायकू भैलले पुनः जीवन पाएको उनले स्पष्ट पारे।

२०१८ सालमा उक्त नाच सिकेका मुतीबहादुरले नाच बन्द हुनु अघिल्लो वर्षसम्म नाचेका थिए। अहिले उनका समकालीन कोही जीवित छैनन्। उनले आफूले सिकेको र गुप्त किताबको आधारमा २०७२ सालमा स्थानीय पाँच युवाहरूलाई भैल प्याखँ सिकाए। उक्त नाच सिकेपछि २०७२ सालमा पहिलोपटक उक्त नाच प्रदर्शन गरिएको नाचका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए।

त्यसपछि २०७३ र २०७४ मा पनि उक्त नाचले निरन्तरता पायो तर २०७५ मा स्थानीय प्रजापति समुदायले पनि भैरव नाच प्रदर्शन गरेपछि लायकू भैल नाचलाई विश्राम दिइयो।

‘प्रजापति समुदायले भैरव नाच प्रदर्शन गर्ने अग्रीम जानकारी दिएपछि २०७५ सालमा लायकू भैल नाच प्रदर्शन रोकेका हौं’, संयोजक श्रेष्ठले भने, ‘तर यस वर्ष भने पुनः लायकू भैल प्याखँ प्रदर्शन गर्ने भएका छौं।’ यस पटक दुई भैलमा विनोद श्रेष्ठ र साजन श्रेष्ठ, दुई दाँगी (कुमारी) मा सज्जन श्रेष्ठ र सोनिष श्रेष्ठ तथा ज्यापु गःचामा सोहन श्रेष्ठले नाच्ने तयारी गरेका छन्। 

उनका अनुसार गएको गाथामोग चतुर्दशीको दिनदेखि नाचको प्रशिक्षण चलिरहेको छ। २०७२ सालदेखि नाचमा सहभागी कलाकारहरू नै अहिले नियमित प्रशिक्षणमा रहेको संयोजक श्रेष्ठ बताउँछन्।

नाचसम्बन्धी किम्बदन्ती

मध्यपुर थिमीमा अन्य जात्रा नियमित नभए पनि नचले पनि भैल प्याखँ वर्षमा एकपटक अनिवार्य प्रदर्शन गर्नुपर्ने कथन थियो तर रोकिएकै ४७ वर्ष बितिसकेको थियो।

तत्कालीन समयमा मध्यपुर थिमीका बासिन्दाहरूलाई भूतप्रेत तथा पिचासहरूले दुःख दिने गर्थे। यसले गर्दा थिमी वासीहरूमा सधैं त्रास र भय हुने भएपछि तत्कालीन शासकहरूले आफ्ना तान्त्रिक एवं ज्योतिषहरूले यज्ञ साधनामार्फत बालकुमारी देवीसँग कुराकानी गर्ने क्रममा उक्त भैल प्वाखँ सिकाएर प्रदर्शन गर्ने आकाशवाणी भएको जनविश्वास रहेको छ।

उक्त नाच प्रदर्शन गरेपछि भूतप्रेत तथा पिचासले दुःख दिन छाडेको विश्वासमा तत्कालीन शासकहरूले उक्त नाचलाई कहिल्यै नरोक्नु भनेको किम्बदन्ती रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.