पत्रकार पुडासैनीको आत्महत्या : मोबाइलको भिडियोमा के छ ?

पत्रकार पुडासैनीको आत्महत्या : मोबाइलको भिडियोमा के छ ?

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका छन्।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो।

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए।

समाचार पोर्टल नेपालआजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ को कार्यक्रम 'सिधा कुरा जनतासँग' का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

के छ भिडियोमा ?

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेलले सँगै काम गरौँ भन्दा सुरुमा आफूले नमानेको पुडासैनीले भिडियोमा उल्लेख गरेका छन्। 'काठमाडौंमा सेक्युरिटी कम्पनी चलाएर बसेका बेलामा युवराजसँग केही वर्ष अघि भेट भयो। उसले मलाई तान्न कोसिस गर्‍यो', पुडासैनीले भिडियोमा भनेका छन्, 'मैले गर्दिनँ भनेँ। धेरै कोसिस गरेपछि पार्ट टाइम गरेँ। महिनाको १५ हजार दिन थाले।'

पछि फुल टाइम गर्न दबाब दिन थालेपछि उनीहरूले भनेबमोजिम सबै अफिस छोडेर काम गर्न थालेको उनले उल्लेख गरेका छन्।

सेक्युरिटी कम्पनी र कन्सल्ट्यान्सी चलाउँदा महिनामा एक डेढ लाख कमाएको उल्लेख गर्दै टिभीमा काम गर्न थालेपछि बैंकमा रहेको ऋण तिर्न नसकेर आफू डिप्रेसनमा पुगेको पनि उल्लेख गरेका छन्।

न्युज २४ टेलिभिजनमा जोसँग रिस उठ्यो उसैविरुद्ध समाचार बनाउने गरेको पनि उनले भिडियोमा दाबी गरेका छन्। आफूले धेरैपटक तलब बढाउन आग्रह गर्दा पनि अन्तिममा १९ हजार ५०० मात्र पुर्‍याइएको र छोड्छु भन्दा 'छोडिस् भने सिध्याउँछु भनेर युवराजले धम्की दिने गरेको' उनले दाबी गरेका छन्।

न्युज २४ का युवराज र दीपकले 'काम नछोड्' भन्दै अस्ट्रेलिया जाने केटी मिलाइदिन्छु भनेर अस्मिता कार्की नामकी युवतीलाई फेसबुकमा सम्पर्क गराइदिएको उल्लेख गरेका छन्। 'सबै कुरा हुन थाल्यो, नजिकिन थाल्यौँ', उनले भिडियोमा भनेका छन्।

तर, पछिल्लो समय ती युवतीले हेप्न थालेपछि आफूले न्युज २४ छोडेर माउन्टेन टेलिभिजन ज्वाइन गरेको उल्लेख गरेका छन्। त्यसपछि युवराजले आफूलाई 'फँसिस्' भनेको पनि उनले दाबी गरेका छन्। भिडियोमा पुडासैनीले दाबी गरेका छन्- 'युवराज र रवि दाइ मिलेर फसाउने प्लान बनाएका रहेछन्। त्यसैले मैले यो डिसिजन लिएँ।'

आफूले जोडेको करोडौँको सम्पत्तिको संरक्षण गर्न उनले श्रीमतीलाई भनेका छन्।  श्रीमती र बाबु आमासँग उनले रुँदै माफी मागेको भिडियोमा देखिन्छ।

'रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्नेछ। तिमीजस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्काएका छौ, लुटेका छौ। तिमीलाई पोल्नेछ त्यो पैसाले', उनले आफ्ना पूर्व सहकर्मीलाई भनेका छन्, 'मलाई १८ हजार दिएर करोडौँ कमाउँथ्यौ। अरुको प्रगति देख्न सक्दैनौँ। रविको असली रूप देखिन केही वर्ष लाग्नेछ।'

प्रस्तोता लामिछानेले बालुवा तस्कर, व्यापारी र उद्योगसँग करोडौँ असुलेको आरोप लगाउँदै उनले भिडियोमा दाबी गरेका छन्- 'अस्मिता कार्की, रवि र युवराज कँडेल मेरो हत्यारा हौ।' भिडियोमा नाम लिएका 'दीपक दाइको...दोष नभएको उनले उल्लेख गरेका छन्।  

के भन्छ प्रहरी ?

चितवनका प्रहरी प्रमुख उपरीक्षक दानबहादुर मल्ल घटनाको अनुसन्धान जारी रहेको बताउँछन्। मृतकको साथबाट बरामद मोबाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट बिहीबार आएपछि प्रहरी अघि बढ्ने उनले बताए।

'हामीले मृतकको मोबाइल डिजिटल फोरेन्सिक ल्याबमा पठाएका छौं, घटनाबारे अरु अनुसन्धान भइरहेको छ', मल्लले भने, 'डिजिटल फरेन्सिक ल्याबबाट भिडियोको रिपोर्ट आएपछि हामी अगाडि बढ्छौं।'

अहिलेसम्म किटानी जाहेरी नपरेको उनले जानकारी दिए। 'प्रहरी आफैंले किटानी जाहेरी गर्न सक्छ। ल्याबको रिपोर्ट बिहीबार आउँछ। त्यसपछि हामी अघि बढ्छौँ।'  

मल्लले मृतकको मोबाइलमा रहेको भिडियो सार्वजनिक कसरी भयो आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

आरोपितको प्रतिक्रया यस्तो छ

पत्रकार पुडासैनीले आरोप लगाएका एक पत्रकार युवराज कँडेलले आफूले कुनै अपराध नगरेको दाबी गरेका छन्। उनले पुडासैनीले नाम लिएकी युवतीलाई चिनेको तथा भेटेको अस्वीकार गरेका छन्।

'मेरी आमाको कसम खाएर भन्छु, शालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु। न शालिकसँग जोडिदिएको छु। अनि अस्ट्रेलिया पठाइदिने लगायतका यी यावत आरोपहरूमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानुन छ। अनि सबैकुरा देख्ने ईश्वर छ। म मर्न तयार छु। सबैकुरा छानबिन होस्। हामीले कुनै अपराध गरेका छैनौँ', उनले फेसबुकमा लेखेका छन्। 

यस्तै पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन्। 'आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ', लामिछानेले ट्‍विटरमा लेखेका छन्। 

कानुनमा के छ ?

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.