नेपालको रोमाञ्चक जित

नेपालको रोमाञ्चक जित

काठमाडौं : नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा रोमाञ्चक जित हात पारेको छ। यही भदौ २ गतेबाट सुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हरायो।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा बुधबार भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २२-२५ गुमाएको नेपाल दोस्रो सेटमा लयमा फर्किएको थियो। नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५-१७, २५-२१ ले आफ्नो पक्षमा पारेको थियो। नेपालले चौथो सेट नेपालले २५-२३ ले गुमायो। दुवै टोलीले दुई÷दुई सेट जितेको अवस्थामा पाँचौं तथा निर्णायक सेट नेपालले १५-१३ ले जितेको थियो। सुरुआती सेटमा केही अत्तालिएको नेपालले खेलभर प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो।

खेलपछि नेपाली टोलीका प्रशिक्षक हान एबिङले पहिलो सेटमा खेलाडीलाई खेल बुझ्नै लागेको बताए। ‘खेलाडी पहिलो सेटमा केही नर्मस भए। हामीले दोस्रो र तेस्रो सेटमा राम्रो खेल्यौं। टोलीमा अझै अनुभवको खाँचो छ। हामीले यही प्रतियोगिताका लागि लगातार मेहनत गरिरहेका छौं। आज सर्भिस र रक्षापंक्तिमा केही कमजोर देखिएको छ। गल्तीलाई सुधार गर्दै अगाडी जानेछौं। अफगानिस्तानसँगको खेलले मुख्य प्रतियोगितालाई धेरै फाइदा पुगेको छ। यस जितले अन्य खेल जित्न खेलाडीलाई प्रेरित गरेको छ,’ हानले भने। नेपाली भलिबल टोलीले हानको प्रशिक्षणमा दुई महिनादेखि तयारी गरिरहेको छ। ५८ वर्षीय हान नेदरल्यान्ड्सका प्रशिक्षक हुन्।

यसैगरी नेपाली टोलीका कप्तान इम रानाले आपसी तालेमल नमिल्दा पहिलो सेट गुमे पनि समग्रमा राम्रो भएको बताए। ‘हामीले एक वर्षपछि ठूलो प्रतियोगिता खेल्न पाएका छौं। सेन्ट्रल जोनअघि यस खेलले धेरै राम्रो भएको छ। यद्यपि यस्ता खाले ठूला प्रतियोगिता अघि ६ महिनादेखि ठूला टोलीसँग खेल्न पाएको भए नेपालले धेरै राम्रो गर्न सक्थ्यो। टोलीमा अहिले युवा खेलाडी छन्। सेन्ट्रल जोन खेल्ने सबै टोली तुलनात्मक रूपमा बलिया छन्। हाम्रो लक्ष्य फाइनल पुग्ने हो। गल्तीलाई सुधार गर्दै उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नेछौं,’ रानाले भने।

नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहीबार हुनेछ। नेपालको हावापानीसँग घुलमिल हुन र नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न अफगानिस्तानको टोली मंगलबार काठमाडौं आएको हो। एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.