भारतीय रुपैयाँ अभाव

भारतीय रुपैयाँ अभाव

काठमाडौं : नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधरणले अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन छाडेका छन् । राष्ट्र बैंकले सर्वसाधरणको सहज पहुँचका लागि वाणिज्य बैंकहरूलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ ।

वाणिज्य बैंकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकाले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन् । नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ । भारतीय रुपैयाँको अहिलेको सञ्चितिले नै साढे तीन वर्ष धान्ने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागकी कार्यकारी निर्देशक सरिता भट्ट (अधिकारी) बताउँछिन् । उनले नगद बोक्न जोखिमसमेत हुने भएकाले कार्डको प्रयोगमा अभ्यस्त हुन बैंकले आफ्ना ग्राहकलाई सिकाउनुपर्ने बताइन् ।

कार्डको प्रयोगमार्फत भारतमा भुक्तानी गर्न सकिने भएपनि तीर्थयात्री, विद्यार्थी, उपचार तथा अन्य विविध प्रयोजनले भारत जानेले सानो परिमाणमा भए पनि नगद सटही माग गर्ने गरेका छन् । कहिलेकाहीं कार्डले काम गरेन भने अलपत्र नपरियोस् भनेर भारत जानेले केही नगद बोकेर जाने गरेका छन् । यसका अतिरिक्त नेपालमा न्यून वेतनको काम गर्ने (बैंकको प्रयोग नगर्ने) भारतीय नागरिकले समेत भारतीय रुपैयाँ सटही माग गर्ने गरेका छन् ।

राष्ट्र बैंकले उपचारका लागि भारत जानेलाई बढीमा २५ हजार भारुसम्मको सटही सुविधा दिँदै आएको छ । यस्तै सामान्य अवस्थामा भारत जानेलाई हवाई या रेलको टिकट हेरेर १० हजार भारुसम्मको सटही सुविधा दिनुपर्ने व्यवस्था गरेको छ । तर, नगद अभाव हुँदा सर्वसाधरणले चारदेखि पाँच हजार भारु पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् ।

‘नगद भारु सटहीका लागि आउनेलाई थोरै सटही दिएर सकेसम्म कार्ड प्रयोग गर्न प्रोत्साहित गरिरहेका छौं’, एक वाणिज्य बैंकका सीईओले भने, ‘राष्ट्र बैंकले बैंकलाई दिँदै आएको भारु एक्कासी घटाएपछि मागअनुसार सटही दिन समस्या भएको हो ।’

भारतीय रुपैयाँको माग कम भएको भन्दै गत वर्ष राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग खरिद गरेर ल्याउने गरेको नगदको परिमाण घटाएको थियो । भारतीय रिजर्भ बैंकले नेपाललाई हरेक वर्ष ६ अर्ब भारतीय रुपैयाँ सटहीको सुविधा दिएको भए पनि पछिल्लो वर्ष नेपालले उक्त सुविधा उपयोग गरेको छैन । २०७३ कात्तिक २३ मा भारत सरकारले पाँच सय र हजार दरका भारतीय नोटको वैधता हटाउने निर्णय लिएपछि भारतले नेपाललाई मागअनुसार नगद दिन सकेको थिएन । भारतीय रिजर्व बैंकले वैधता खोसिएका ठूला दरका भारतीय बैंक नोट सटही नगरेपछि नेपालले सय भारुभन्दा ठूलो परिमाणको नोट नेपालभित्र नचलाउने निर्णय गरेको छ । उक्त निर्णय कायमै छ । पाँच सय र एक हजार दरका भारतीय नोटको वैधता खारेजीपछि भारतभित्रै सय दरका भारतीय नोटको माग बढ्दा रिजर्ब बैंक अफ इन्डियाले नेपाललाई दिएको सुविधाअनुसार नगद उपलब्ध गराउन सकेको थिएन ।

नेपालले भारतीय रिजर्व बैंकसँग खरिद गरेको नगदको कन्साइन्मेन्ट कोलकाताबाट हवाइमार्ग या पानीजहाजमार्फत भित्र्याउने गरिएको छ । ‘गत वर्ष नगद भारुको माग घटेकाले नगद ल्याउँदाको लागत तथा जोखिमसमेत हेरेर सटही सुविधा बराबरको भारु नल्याइएको हो’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने । विगतमा भने वर्षमा तीनदेखि चारपटकको कन्साइन्मेन्टमा दिएको सुविधाअनुसारको नगद भित्र्याउने गरिएको थियो ।’

भारतले नेपाललाई ठूला दरका भारतीय रुपैयाँ चलाउन आग्रह गरे पनि नेपालले ठूला दरका भारतीय रुपैयाँ नेपालभित्र प्रयोगमा नल्याउने भएको छ । गत वर्ष भारु सटहीको माग कम भएपछि राष्ट्र बैंकले कार्ड प्रयोगका कारण माग घटेको हुनसक्ने अनुमान गरेको प्रवक्ता निरौला बताउँछन् । ‘तर यस वर्ष फेरि बेस्सरी माग बढेको छ’, उनले भने, ‘आवश्यकताअनुसार हामीले रिजर्ब बैंकलाई आग्रह गरेर नगद ल्याउन सक्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.