संघीयता कार्यान्वयन गर्न दातृ निकायले ११ अर्ब दिने

संघीयता कार्यान्वयन गर्न दातृ निकायले ११ अर्ब दिने

काठमाडौं : संघीयता कार्यान्वयन गर्न आन्तरिक स्रोतले धान्न नसक्ने भएपछि अर्थ मन्त्रालयले अनुदान लिने लागेको हो ।संघीयता कार्यान्वयन गर्न चारवटा दातृ निकायले ११ अर्ब रुपैयाँ अनुदान दिने भएका छन् । संघीयता कार्यान्वयन गर्न आन्तरिक स्रोतले धान्न नसक्ने भएपछि अर्थ मन्त्रालयले अनुदान लिने लागेको हो ।

अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अनुदान परिचालन गर्ने निर्णय भए पनि मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत गराउन पेस भएको अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए ।

साउन २३ मा अर्थ मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस गरेको थियो । सम्भवतः मन्त्रिपरिषद् बैठकले पास गर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

वैशाख १६ मा अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) स्वीकृत गरेको थियो । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले पीएलजीएसपीका लागि सातवटै प्रदेशका तालिम केन्द्रको पुनर्संरचनामा डेढ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

वैदेशिक सहायता र सरकारको लगानीमा सञ्चालन हुने यो कार्यक्रम प्रदेश तथा स्थानीय तहको शासकीय सुदृढीकरणका लागि सञ्चालन गर्न लागिएको उनले बताए । वैदेशिक सहायतामा युरोपियन युनियन, बेलायत सरकार (डीएफआईडी), नर्बेजियन सरकार र स्वीस सरकारको सहयोग रहने जानकारी दिइएको छ । त्यसमा सबैभन्दा बढी सहयोग गर्ने युरोपियन युनियन, ईयू (४० मिलियन अमेरिकी डलर), बेलायती अन्तर्राष्ट्रिय विकास विभाग, डीएफआईडी (२८ मिलियन), नर्वेजियन सरकार (२० मिलियन), स्वीस सरकारले (१० मिलियन) र दुई मिलियन संयुक्त राष्ट्र संघका एजेन्सीबाट सहायता लिने अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसमा नेपाल सरकारले ३० मिलियन अमेरिकी डलर थप्छ । एक सय ३० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रुपैयाँ) लागत चार वर्षे परियोजना हो ।

मुलुकको शासकीय सुदृढीकरणका लागि आन्तरिक स्रोतले धान्न नसक्ने भएपछि दाताबाट सहायता लिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशम कँडेलले सरकारको वैदेशिक सहायता नीति अनुरुप नै अनुदान लिन लागिएको बताए । ‘कतिपय मुलुकले आफ्नो क्षमता विकास आफै गर्नुपर्छ भन्ने लिएका छन् । विदेशी आफ्नो शासकीय क्षमता विकास गर्ने विषयमा खर्च नगरुन् भन्ने उनीहरूको नीति हो’, उनले भने, ‘तर हामीले विकास सहायता नीतिमै शासकीय क्षमता विकासमा पनि सहायता लिन्छौं भनिसकेका छौं । त्यसैले त्यो नलिँदा फरक परेन ।’

भारतले आफ्नो स्थानीय तह र प्रदेश सरकारको क्षमता विकास गर्न विश्व बैंकसँग ऋण लिएको छ । ‘हामी सफ्टवेयरमा ऋण नलिने र पूर्वाधारमा मात्रै ऋण लिने पक्षमा छौं’, उनले भने, ‘हामी कुनै मुलुकले अनुदान दिन्छ भने लिने पक्षमा छौं ।’

ईयूको अनुदानमा मतभेद

यस कार्यक्रका लागि अनुदान लिने विषयमा संघीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल भएको थियो । छलफलमा अर्थ मन्त्रालयका अधिकारीले ईयूसँग अनुदान लिने विषयमा मतभेद राखेको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘यसअघि युरोपियन युनियनसँग साझेदारी गर्ने वा नगर्ने विषयमा अर्थ मन्त्रालयमा बहस भएको थियो । जातियता र मधेसलाई उक्साएको भन्दै अर्थ मन्त्रालयका अधिकारीले ईयूको सहायता लिन असहमतिसमेत जनाएका थिए । तर पछि संघीय मामिला मन्त्रालयकै जोडबलमा ईयूसँग सहायता लिन अर्थ तयार भएको हो ।’

अस्ट्रेलियन सरकार र अमेरिकी सरकारलाई साझेदारीमा ल्याउन पहल गरे पनि असमर्थ रहेको थियो । उनले भने, ‘विकास साझेदारलाई गैरसरकारी संस्थामार्फत आउनुमा आफ्नो स्वार्थ हुन्छ । दातृ निकायले कुनै न कुनैरूपमा आफ्नो पैसा खर्च गरिरहेका हुन्छन् । उनीहरूको गभर्नेन्समा आफ्नै प्रबिद्धता हुन्छ । त्यसलाई नेपालको शासकीय सुदृढीकरणमा उपयोग गर्ने हाम्रो नीति हो ।’

के हो पीएलजीएसपी ?

संघीय संरचनामा गइसकेपछि तीन तहका (स्थानीय तह, प्रदेश र संघीय सरकार) को शासकीय सुदृढीकरण तथा क्षमता विकास गरेर संघीयता कार्यान्वयनलाई सघाउ पुर्‍याउन यो कार्यक्रम डिजाइन गरिएको उपसचिव कँडेलले बताए । यसको डिजाइन, विकास साझेदारसँगको समन्वय तथा वैदेशिक सहायता सहजीकरण गर्ने काम संघीय सरकारले गर्छ । सबै काम भने प्रादेशिक स्तरबाट हुन्छ । प्रदेश तह र स्थानीय तहको क्षमता विकासको काम प्रदेशबाटै हुन्छ ।

उनले भने, ‘यो कार्यक्रमले प्रदेश तहमा प्रादेशिक तालिम केन्द्र स्थापना गर्छ । अहिले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको पुनर्संरचना हुन्छ । यो अन्तर्गत प्रत्येक प्रदेशमा विभिन्न नाममा तालिम केन्द्र पनि छन् । ती तालिम केन्द्र पुनर्संरचनापछि प्रदेश तहलाई हस्तान्तरण हुन्छन् ।’

स्थानीय तहका कर्मचारीको क्षमता विकास दुई तरिकाले हुनेछ । वितरणमा आधारित सेवा र मागमा आधारित सेवा । जस्तो अन्तर्राष्ट्रिय नीति, सन्धि, सम्झौता कार्यान्वयन गर्ने । अर्काे सात सय ५३ वटै स्थानीय तह र सातवटै प्रदेशको आवश्यकता फरक हुनसक्छ । त्यसले उनीहरूको मागमा आधारित कार्य सञ्चालन हुन्छन् । उनीहरूलाई विशिष्ट तालिम प्रदान गरिने कँडेलले जानकारी दिए ।

‘उनीहरूको क्षमता विकास भएको वा नभएको मापन गर्ने साधन र स्थानीय सरकारको स्वमूल्यांकन प्रणाली तयार गरेका छौं’, कँडेलले भने, ‘उनीहरूले आफैं स्वमूल्यांकन गर्छन् । र हामीले तोकेका निश्चित क्षेत्र कति कति अंक ल्याए भनेर उनीहरूले नै राख्छन् । त्यसका आधारमा आफूलाई कमजोर र सबल देखेका क्षेत्र उनीहरूले पहिचान गर्छन् । पहिचान भएका कमजोर क्षेत्रमा क्षमता विकास गर्नुपर्‍यो ।’

सांगठानिक संरचना, पूर्वाधार, सूचनाप्रविधि लगायत क्षेत्रमा सुधार गर्न छुट्टै प्याकेजको व्यवस्था पनि छ । त्यसले उनीहरूको समग्र प्रणालीगत सुधारमा सघाउ पुर्‍याउँछ । यसअघि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)सञ्चालनमा थियो ।

एलजीसीडीपीमा मागका आधारमा मात्रै कार्यक्रम सञ्चालित थियो । सशक्तीकरणका लागि मात्रै तालिम दिइएको थियो । कँडेलले भने, ‘अहिले संघीयतामा प्रवेश गर्दा आपूर्ति पक्ष कमजोर भयो । हुन त पहिले पनि थिएन । तर अहिले शून्यप्रायः छ । यसले जनतामा वितृष्णा ल्याउने भयो ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.