जापानमा गर्मीले २३ को मृत्यु, हजारौं बिरामी
तोक्यो : जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ। कार्यालयले बुधवार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण विरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भीड लागेका थिए। मृत्यु भएको र विरामी भएको यो विवरण गत अगस्त ५ देखि एक सातासम्मको मात्रै भएको अधिकारीले जनाएका छन्।
अस्पताल गएकामध्ये ४ जनालाई भर्ना गर्नुपरेको उनीहरूको भनाइ छ। प्रभावित भएकामध्ये सबैभन्दा धेरै तोक्योका रहेका छन्। अधिकारीहरूका अनुसार तोक्योका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने साइतामाका ९७७ जना विरामी भएका थिए।
अस्पतालमा उपचार गराउन आएका विरामीमध्ये ५५ प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पतालले जनाएको छ। जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधवार जानकारी दिएको छ।
उनीहरूका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यो वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सियस पुगेको छ।