पाकिस्तानी प्रधानमन्त्री खान कश्मीर भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री खान कश्मीर भ्रमणमा

मुजफराबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधवार पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका छन्। प्रधानमन्त्री खानले कश्मीर भ्रमणपछि नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ।

भारत सरकारले भारत प्रशासित जम्मु कश्मीरको विशेष मान्यता खारेज गरेसँगै दुबै मुलुकबीच तनावपूर्ण स्थिति छ। पाकिस्तानले भारतको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाव बढाउने निर्णय गरेको छ। पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् समक्ष औपचारिक अनुरोध गरिसकेको छ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले मंगलवार बैठकको माग गरेका थिए। उनले सुरक्षा परिषद् अध्यक्षलाई बैठक आह्वान गर्न राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मालेहा लोधीमार्फत पत्र बुझाएका थिए। भारतीय कदमले क्षेत्रीय शान्ति भंग हुने पाकिस्तानले बताएको छ।

पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायुक्तलाई फिर्ता गरेको छ भने आफ्ना उच्चायुक्त पठाएको छैन। उसले द्विदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ। विज्ञहरूका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन।

शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगत्ले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए। अगस्त १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो। दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा लाखौं मानिस मारिएका थिए।

कश्मीरीका साथ छौं 

भारत सरकारको कदमपछि पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले पाकिस्तानी र कश्मीरी एक भएको बताएका छन्। पाकिस्तानको ७३ औं स्वतन्त्रता दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। पाकिस्तान र पाकिस्तानी जहिले पनि कश्मीरी जनताका साथमा रहेको उनले बताए। उनले पाकिस्तानी जनतालाई साथ दिन कश्मीरी जनतासमक्ष आग्रह पनि गरेका छन्। उनले भने, ‘कश्मीरी जनता संकटमा फसेका बेला पाकिस्तानले एक्लै छोड्दैन। हाम्रो दुःख एउटै हो। हामी सधैं साथ रहन्छौं।’

गत साता पाकिस्तानले अगस्त १४ तारिखलाई ‘कश्मीर एकता दिवस’ मनाउने घोषणा गरेको थियो। जम्मु कश्मीरको विशेष दर्जा खारेज गरेकोमा भारतीय स्वतन्त्रता दिवस १४ अगस्तलाई कालो दिवस मनाउने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.