विरोधले देश बन्दैन

विरोधले देश बन्दैन

भनिन्छ, ‘समाचार नभएको समाचार नै राम्रो समाचार हो।’ अफसोच नेपाल समाचार नै समाचारले भरिएको देश हो। नेताले कोसँग के खाए, कस्तो कार्पेटमा हिँडे अनि कसले छाता ओढे÷ओढाए मुख्य समाचार बन्छन्। यस्तो देख्दा लाग्छ, हाम्रो प्राथमिकता राजनीति नभई मनोरञ्जन हो। भौगोलिक तथा सांस्कृतिक विविधताले होला, करिब तीन करोड जनसंख्या रहेको हाम्रो देशमा पत्रपत्रिका, प्रसारण तथा अनलाइन सञ्चार गृहहरूको संख्या नगण्य पुगेको छ। तर यी सबैले बिकाउभन्दा उच्छृंखल समाचारमा प्रतिस्पर्धा गरेको देख्दा आश्चर्य लाग्छ।

सामाजिक सञ्जालका छरपस्ट अभिव्यक्ति हेर्ने हो भने हाम्रो समाजको दिमागमा भरिएको सैतानी सोचाइ छर्लंग देख्न सकिन्छ। उक्त सैतानी कारखानाको प्रमुख माली नैतिकता, जिम्मेवारी तथा उत्तरदायित्व नभएका केही पत्रकार पनि रहेका छन्। यसले नेपाली समाजमा डिजिटल नकाब प्रयोग गरी स्वदेशी तथा विदेशी विषादी प्रयोग गरेर आफ्नो मिडिया खेतीलाई उर्वर बनाइरहेका छन्। भनिन्छ– मानिसको भौतिक स्वास्थ्यभन्दा नैतिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ। त्यसैले हिजोआज तरकारीमा फैलिएको विषादीविरुद्धको आवाज उठ्दै गर्दा पत्रकारितामा लागेको त्यस्तै विषादीबारेमा पनि उत्तिकै ध्यान जान जरुरी छ।

पत्रकारिताको मूल मन्त्र सत्यता, सन्तुलित तथा विश्वसनीयता हो। यो सत्यता, सटिक तथा स्पष्टता को धरातलमा रहेर हुनुपर्छ। तर हिजोआज हामी एकलकाटे र मिसन पत्रकारितामा लिप्त छौं। सबै नभनौं बहुसंख्यक पत्रकारिता जगत् नै राजनीतिक संगठनभित्र समाहित छन्। त्यसैले हाम्रा आँखा र कानले हामी जे देख्न सुन्न चाहन्छौं त्यही देख्दछ सुन्दछ अनि हाम्रो कलम, क्यामेरा र किबोर्डले बोल्ने भाषामा हाम्रो स्वार्थ र आस्था हावी भएका छन्। आज पत्रकारितामा देखिएको प्रमुख समस्या भनेको पत्रकारले समाचार, कथा तथा विचारको मौलिकतालाई आफ्नो धारणा, स्वार्थ र आस्थाले बलात्कार गर्नु हो। पत्रकारितालाई राज्यको चौथो अंग अनि ‘पावर विदाउट पावर’ पनि भनिन्छ। कारण पत्रकारिता आफैं शक्ति हैन तर प्रभाव होस्। पत्रकारिताले आफैं भौतिक गति वा क्षति पुर्‍याउने सामर्थ्य राख्दैन तर यसको प्रभावले भौतिक गति वा क्षति निर्धारण गर्ने गर्छ।

आज समाज विविधताले रूपान्तरण भएको छ। ओल्लो घरको छिमेकी पल्लो घरसँग अपरिचित छ। उसले टोल, छिमेक तथा आफ्नै सेरोफेरोको जानकारी लिन मिडिया वा सामाजिक सञ्जालको भर पर्नुपर्छ। राजनीति र समाजमा भइरहेका संगति वा विसंगतिका बारेमा हामीले थाहा पाउने एक मात्र साधन मिडिया अझ भनौ सामाजिक सञ्जालको नशानशामा नकारात्मकताले जरा गाडेको छ। हरिया तरकारी तथा फलफूलमा जस्तै विषादीले भरिपूर्ण छ। सकारात्मक तथा सुसंस्कृतभन्दा विसंगति र विकृति उन्मुख छ।

भनिन्छ– हरेक सिक्काका दुई पाटा हुन्छन्। विज्ञान र प्रविधिको प्रमुख उद्देश्य क्षमता अभिवृद्धि गर्ने हो। यो आफैंमा राम्रो–नराम्रो भन्ने हुँदैन। पत्रकारिताको संरक्षण अनि खोल ओढेको सामाजिक सञ्जाल पनि प्रशस्त मात्रामा ज्ञान, कला, प्रेरणा तथा सकारात्मक गुणले भरिपूर्ण छन्। आज समाज सुसूचित हुन पाएको छ। दुरदराजका आवाज सिंहदरबारको ढोका ढक्ढकाउन सक्षम भएको छ। दबिएका आवाज आकाशवाणी बनेका छन्। असीमित सूचना, समाचार र ज्ञानले भरिपूर्ण छन् अनि आफूले मन पराएका व्यक्ति, संस्था तथा सामग्रीको पहुँच सर्वसाधारणको मुठीमा पुगेको छ।

हाम्रो पत्रिकारिता प्रदूषित बनेको छ। अधिकांश समाचारले भनेका विकृति सर्वेसर्वा होइनन्। देश भ्रष्टैभ्रष्ट, दलाल र फटाहाले मात्र भरिएको छैन। यहाँ त वर्षौंदेखि निस्वार्थ कर्ममा कैयौं व्यक्ति, संस्था अनि समाज लागेका छन्। तन, मन र धन दिएर रातो दिन खटिएका जनप्रतिनिधि पनि त्यत्तिकै संख्यामा छन्। तर टाठोबाठोलाई हिरो अनि एक सानो गल्तीलाई पत्रकारले एकतर्फी दोषीको उपमा भिराइदिएर बदनाम गरेका उदारहण प्रशस्त छन्। गल्ती, दोष र खोट खोज्ने हो भने भगवान् पनि अछूतो रहँदैनन्। हामी त जाबो मानव जाति। तसर्थ कुनै पनि समाचार वा मिडिया कन्टेन्टलाई आधिकारिक र सत्यतथ्यका आधारमा सन्तुलित रूपमा प्रस्तुत गर्न जरुरी छ।

पत्रकारिताले आफैं भौतिक गति वा क्षति पुर्‍याउने सामर्थ्य राख्दैन तर यसको प्रभावले भौतिक गति वा क्षति निर्धारण गर्ने गर्छ।

हत्याराको पनि आवाज हुन्छ। सबै हत्यारालाई एकै नजरले हेर्नु गल्ती हुन सक्छ। किनकि बलात्कारी हत्यारा र हत्यारा बलात्कारी, यी दुईलाई कानुनले पनि फरक देख्छ। आज कैयन् समाजसेवी, अभियन्ता तथा उदाहरणीय व्यक्तित्वमाथि पत्रकारिताको दुरुपयोग गरी एकोहोरो हिलो छ्यापिदिएर निरुत्साहित गरिएको छ। त्यस्तै व्यापार, व्यवसायी, ठेकेदार, कर्मचारी अनि ट्याक्सी चालकदेखि सरकारसम्मलाई स्पष्टीकरणको अवसर नै नदिई एकोहोरो बद्नाम गर्न व्यस्त छ। अनि बेरोजगारको कुण्ठालाई निराशा, ईश्र्या र क्रोधमा परिणत गरी पत्रकारिताको खेती फस्टाउन सफल छ।

नयाँ पिँढीको कलिलो मस्तिष्कले ठूला नेता, उद्यमी, व्यापारी, समाजसेवी, कर्मचारी अनि पत्रकारसमेतलाई प्रेरणाका स्रोत देख्नुको सट्टा भ्रष्ट, ठग, कालोबजारी, जाली, घुसखोरी अनि ब्ल्याकमेलर देख्न थालेको छ। अनि डाक्टरदेखि इन्जिनियरसम्म पैसा कमाउने बाटो मात्र सोच्छ। विभिन्न आरोपीलाई अदालतको फैसलाअघि नै दोषी र निर्दोषी ठहर्‍याउने पत्रकारिताले खबरदारीको नाममा अत्यधिक नकारात्मकताको व्यापार गर्नु भोलिका लागि दुर्भाग्यपूर्ण हुन सक्छ। कुनै पनि पेसा, व्यवसाय वा व्यक्तित्वले नयाँ पिँढीको विश्वास र इज्जत जित्न नसक्नुको परिणाम विदेशी हेजेमोनी वा प्रभुत्वलाई थप प्रश्रय दिनेछ।

म्याकेन्जी सेन्टर फर गभर्मेन्टको रिसर्चअनुसार ८० प्रतिशत सरकार ठूला परिवर्तन ल्याउने आफ्नो उद्देश्य कार्यान्वयनमा ल्याउन असफल छन्। सरकारको कार्य सम्पादनको भागीदार मिडिया, समाज र जनता पनि उत्तिकै हुन्छन्, के हाम्रो समाज उत्कृष्ट छ ? के हामी सुसंकृत समाजको उपज हौं ? के हामी कर्तव्यपालक नागरिक हौं ? अनि देश विकासमा हाम्रो भूमिका केकस्तो छ ? जस्ता प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन्।

भनिन्छ– संग्लो पानी खान मुहान सफा गर्नुपर्छ। यसको अर्थ मुहान भनेका जनता हुन्, नेता त धारा मात्र हुन्। त्यो मुहान सफा गर्ने ल्याकत राख्ने पत्रकारिताले मुहानमा विषादी हालेर धाराको आलोचना वा वर्णन गर्नु दुवै हानिकारक हो। औषधि र विषादी दुवैको प्रकृति एकै हुन्छन्, डाक्टरको प्रेस्क्रिप्सनले यसको परिभाषा निर्धारण गर्दछ। हो उसैगरी पत्रकारले कुरीति र कुशासनमा विषादि हाल्ने नाममा जनताको दिमाग नै विषादियुक्त बनाइदिएको छ पत्रकारिताले ‘ठोक्ने’ मनस्थितिले राष्ट्र र समाजका विभिन्न अंगमा प्रहार गर्न रोक्नुपर्छ, नत्र जुन जोगी आए पनि कानै चिरेको भन्ने पुरानो उखानजस्तै जुनसुकै सरकार वा जस्तोसुकै सरकार आए पनि हामी उही नकारात्मक अनन्त चक्रमा विलय हुनेछौं अनि सुनधारा, ढुंगेधारा, फलामे धाराको चक्रमा समृद्धिको तृप्तता मेट्ने नाममा अर्को काकाकूल अध्याय सुरु हुनेछ।

विरोधले देश बन्दैन, आफू पानीमाथिको ओभानो बन्नुभन्दा सकारात्मक सोच र खुला दिमागले रचनात्मक कार्य गरे देश आफैं बन्छ। किनकि देश सरकारले हैन जनताले बनाउने हुन्। जनता र समाज सक्षम भए सरकार स्वतः प्रतिबिम्बित हुनेछ। अन्त्यमा पत्रकारिता भनेको राज्यको एक अभिन्न अंग हो, जनता र समाजको मार्गदर्शक हो तसर्थ अबको पत्रकारिता विषादिरहित हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.