'सा पारु' अर्थात् गाईजात्रा
भक्तपुर : शुक्रबार भाद्र शुक्ल प्रतिपदा। नेपालभाषामा ‘सा पारु’ पनि भनिन्छ। ‘सा’ भनेको गाई र ‘पारु’ भनेको प्रतिपदा हो। काठमाडौं उपत्यकालगायत नेपालभाषीहरुको बसोबास रहेको ठाउँमा यसदिन गाईजात्रा पर्व मनाइँदै आएको छ।
नेपालभाषी समुदायमा यो जात्रा मृत्यु संस्कारसँग सम्बन्धित मानिन्छ। यस दिन वर्षभरिमा दिवंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाइ त्यसलाई नगर परिक्रमा गराइन्छ।
धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने जनश्रुति छ। त्यसैले यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ।
यस कारण त्यस दिन नेपालभाषी समुदाय गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन्। धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ।
भक्तपुरमा नौ दिन मनाइन्छ गाईजात्रा
काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ। त्यसैले यसलाई स्थानीय नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) पनि भनिन्छ।
गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो।
यहाँ मृतक महिला, पुरुष र बच्चाको आधारमा फरक फरक गाईको प्रतीक बनाइन्छ। गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले उक्त गाई सजाइन्छ। दिवंगत पुरुष भए सेतो वा अन्य रंगको नयाँ कपडा र महिला भए ‘हाकुपटासी’ (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ। यसरी बनाइने गाई दिवंगतको उमेरअनुसार सानो र ठूलो बनाइन्छ। दिवंगत सानो भए डोकसाँ र ठूलो एवं ज्येष्ठ भए ताहासाँ बनाइन्छ।
पहिले तलेजुको घिन्ताङघिसी
भक्तपुरमा तलेजुको घिन्ताङघिसी नाच ननिकालिकन अरुले गाईजात्रा निकाल्न पाइँदैन। सर्वसाधारणको गाई जात्रा प्रतिपदाको दिन निकालिन्छ तर तलेजुको घिन्ताङघिसी भने अघिल्लो दिन एवं जनै पूर्णिमाकै दिन निकालिन्छ। तलेजुको घिन्ताङघिसी निकालेपछि मात्रै भक्तपुरमा विधिवत रुपमा गाईजात्रा सुरु भएको मान्ने परम्परा रहँदै आएको छ।
तलेजुको घिन्ताङघिसीबाट सुरु हुने गाई जात्रा भक्तपुर नपा वडा नं ४ लाकोलाछेंबाट परालले बनाइएको भैरवसँगै भद्रकालीको गाई निकालेर नगर परिक्रमा गराइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने मानिन्छ।
भैरव र भद्रकालीको गाईजात्रा भक्तपुरको टौमढी, भक्तपुर दरबार क्षेत्र र दत्तात्रयमा तीनपटकसम्म घुमाइन्छ। भक्तपुर नगर क्षेत्रमा गाई घुम्ने रुटमा ती क्षेत्रहरु सर्वाधिक खुला रहेको र जात्रा हेर्नेहरु पनि ती क्षेत्रमा सर्वाधिक भेला हुने भएकाले ती ठाउँमा तीनपटकसम्म भैरव र भद्रकालीसहितको गाईजात्रा परिक्रमा गराइने परम्परा रहँदै आएको छ।
तेस्रो दिनदेखि मौलिक नाचको प्रदर्शन
पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएको तेस्रो दिनदेखि हास्यव्यंग्य, घोचपेच हुने जात्रासँगै परम्परागत र मौलिक विभिन्न नाचहरु प्रदर्शन गरेर गाईजात्रा मनाइन्छ। यो क्रम एक सातासम्म चल्छ।
यस बेला विशेष गरेर देवी नाच, भैरव नाच, फाकंदली (कर्कलो नाच), लुसी (ओखल) नाच, माक प्याखं (बाँदर नाच), नागांचा प्याखं, गाइँचा (गाइने), म्हेखा प्याखं (मयूर नाच), ख्या प्याखं (ख्याक नाच), खिचा प्याखं (कुकुर नाच) देखाइन्छ।
त्यस्तै भालु प्याखं (भालु नाच) सिंहसिंहनी नाच, कचामचा (सितलामाजुको नाच), धागो काट्ने नाच, सिलु वनेगु प्याखं (गोसाईकुण्ड जाने नाच), कलाँली प्याखं (पूजाथाली नाच), महादेव पार्वती नाच, कृष्णलीला, जंगली नाच, घोडा नाच, ह्या प्याखं (हाँस नाच), सिख प्याखं (सिक्री नाच), थाज्या प्याखं (कपडा बुन्ने नाच), किजापूजा प्याखं (भाइटीका नाच), भूत तर्साउने नाच, नटुवाचा नाच, खः नाच (दबुलीमा देखाउने नाच) आदि रहेका छन्।
गाईजात्राको पहिलो दिनबाहेक अन्य दिन यी नाचहरू विशेष गरेर रात्रीकालमा प्रदर्शन गरिन्छ।
गाईजात्राको ऐतिहासिकता
काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा मल्लकालमा सुरु भएको मानिन्छ। काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले गाईजात्रा चलाएको मानिन्छ।
तर मल्लहरूले शासन गर्नुअघि नै गाईजात्रा चलनचल्तीमा आइसकेको इतिहासविद् तथा संस्कृतिविद्हरू बताउँछन्। उनीहरूका अनुसार लिच्छवि कालमै यहाँ नेवारहरूले एउटा पर्वको रुपमा गाईजात्रा मनाइसकेका थिए। त्यस्तै गोपालराज वंशावलीमा पनि नेपालमा पन्ध्रौं शताब्दीतिरै गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिनुले यो जात्रा धेरै पुरानो भएको पुष्टि हुने संस्कृतिकर्मीहरु बताउँछन्।
संस्कृतिविद् एवं इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले गोपालराज वंशावलीमा भाद्र प्रतिपदाको दिन ‘सा यात्’ मनाइने उल्लेख गरिएको जानकारी दिए।
उनका अनुसार ‘सा’ भनेको गाई र ‘यात्’ भनेको यात्रा एवं जात्रा हो। नेपालभाषामा ‘ज’ र ‘य’ तथा ‘र’ र ‘ल’ को उचारण उस्तैउस्तै हुने भएकाले अर्थ पनि धेरै हदसम्म एकै हुने उनको भनाइ थियो।
उनका अनुसार नेपालमा उपलब्ध ठ्यासफुमा समेत लिच्छविकालमा चलनचल्तीमा आएको गाईजात्रालाई मल्ल राजाहरूले परिमार्जन गरी विस्तृत पारेको उल्लेख छ।