गाउँमै लाखौंको आम्दानी

गाउँमै लाखौंको आम्दानी

मुस्ताङ : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छेङ्गुरमा स्थानीय गमबहादुर गुरुङको माटोले निर्मित २ तले घर छ। गाउँमै ३ वर्ष अघिदेखि उनले मुक्तिनाथ कृषि अर्गानिक तरकारी फार्म सञ्चालन गरेका छन्। आफ्नै निजी १० रोपनी जग्गामा उनले तरकारी फार्म खोलेका हुन्।

गमबहादुर आफ्नो तरकारी फर्मलाई बृहत् रूपमा विस्तार गर्ने सोच राखेका छन्। उनकी श्रीमती टसी गुरुङले फार्ममा सघाउँछिन्। मौसम अनुसारको तरकारी उत्पादन गरी स्थानीय बजारमा बिक्री गर्ने गम परिवारको धोको छ। तरकारीकै लागि दैनिक दिनचर्या फार्मकै रेखदेखमा बित्ने गरेको गम परिवार बताउँछन्।

मनाङ र मुस्ताङको सीमाक्षेत्र थोरङ्ला फेदीनजिकै केही तल गमको गाउँ छेङ्गुर पर्छ। गाउँनजिकै ३ किमी फेरोमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र पुराङ रानीपौवा बजार छ। मुक्तिनाथ र रानीपौवा बजार गुल्जार भइरहँदा गमको गाउँ भने गुमनाम छ। छेङ्गुरमा करिब ३३ घरधुरी छन्। ती सबैले परम्परागत खेती गरेका छन्। गमले गाउँमा पर्यटन व्यवसाय गरेर आम्दानी लिने कुनै बाटो भेट्न सकेनन्। सानैदेखि त्यही परम्परागत खेती गथ्र्ये उनी। माटो खनेर पैसा कमाउने रहर पालेका गमले ३ कक्षा नपढ्दै स्कुल छोडे। स्कुल छोडेका गमले त्यसपछि कृषि जीवनमै समर्पित रहन थाले।

गमले २०७४ सालदेखि व्यावसायिक अर्गानिक कृषि फार्म सुरु गरेका हुन्। हिउँदयामको ३ महिनाबाहेक उनको फार्ममा विभिन्न जातका तरकारी फल्छन्। सुरुआती लगानी १० लाखबाट फार्मको संरचना तयार गरेको गमले सुनाए। उनले फार्म सुरु गर्दा मुस्ताङमा हिमाली उपआयोजना सुरु भइसकेको थियो। यसका लागि उनले हिमाली उपआयोजनामा प्रपोजल पेस गरे, तर उनलाई परेन। उनी भन्छन् ‘हिमाली हुनेखानेका लागि मात्र भयो। हामीलाई परेन।’ उनको कृषि फार्ममा अहिले मौसमअनुसार तरकारी फल्दा गम दम्पत्ति दंग पर्छन्।

फार्ममा मौसमअनुसार आलु, काउँली, बन्दा, गाँजर, ब्रो काउँली, डल्ले मुला, मेथी, केराउ, रायो साग र चाइनिज क्यापेजलगायत दर्जनौ जातका तरकारी उत्पादन हुने गमले सुनाए। अर्गानिक मलका लागि गाई, गोरु, झोपा, भेडाच्याङ्ग्रा पाल्ने गरेको उनको भनाइ छ। गम भन्छन्, ‘नपुगेको मल गाउँमा किन्छु। अरुले उत्पादन गरेका तराकारी पनि खरिद गर्छु।’

गमले तरकारी खेती मात्र गरेका छैनन् उनले स्याउको सुकुटी र जाम, मुलाको अचार र आलु चिप्स पनि बनाउँछन्। हालै उनलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर र घरेलुबाट स्याउको सुकुटी र चिप्स बनाउन औजार अनुदानमा उपलब्ध गराएको गमले सुनाए।

‘छिमेकी युवा सबै गाउँ छोडेर विदेश पुगे, तर मलाई बिदेसिने रहर छैन। उता गरिने दुःखले गाउँमै परिवारसँगै बसेर आयआर्जन गर्न सकिन्छ’, गमले सन्तोष लिँदै भने। गमले बर्सेनि तरकारी उत्पादन गरेर वार्षिक ७ लाख कमाउने गरेका छन्। उनी भन्छन्, ‘उत्पादित तरकारी सजिलै स्थानीय बजारमा बिक्री हुन्छ। जोमसोम, कागबेनी र पुराङ रानीपौवामा साताको २ पटक तरकारी पुर्‍याउँछु।’

तरकारी उत्पादन गरेर निकै हौसिएका गमले अरुको खाली जग्गासमेत लिजमा लिने सोचमा छन्। उनलाई अहिले भइरहेको जग्गा अपुग भएको छ। मुस्ताङ सदरमुकाम जोमसोममा दिनहु पोखरा र म्याग्दीका विषादीयुक्त तरकारी भित्रिने गरेको भए पनि आफूले उत्पादन गरेको तरकारीलाई स्थानीय होटल व्यवसायीले रुचाएको गमले खुलाए। ‘स्थानीय तहले जिल्लाबाहिरबाट आउने बिषादीयुक्त तरकारी आयातमा रोक लगाई स्थानीय किसानलाई प्रोत्साहित गर्नुपर्छ’, गमले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.