खर्पन
बिकुनर्सिंह ध्वंब्वाले खर्पनको एकापट्टि आफ्नो जिन्दगी देखे, अर्कोपट्टि आफ्नो संस्कृति।
बिकुनर्सिंह ध्वंब्वा (ठूलो बा) आँगनमा उभिएर टेको लाएको घरतिर हेर्दै टोलाइरहेछन्। टेकोले यो वर्षको बर्खा थेग्ला कि नथेग्ला भन्ने चिन्ता लागेको छ उनलाई।
यो वर्षको मनसुन असार ५ गते बिहीबारबाट सुरु भयो। पल्लो घरमा बजेको रेडियो सुनेर थाहा पाए उनले। यो कुरा थाहा पाएर बिकुनर्सिंह ध्वंब्वाको मनमा चिसो पस्छ। उनको मनमा भयको मात्रा एक्कासि बढ्न थाल्छ। भयभीत भएर यसो आकाशतिर नियाल्छन्। आकाशमा कालो बादलका ढिक्काहरू देखेर उनी झन् बढी भयभीत हुन थाल्छन्। अर्को मनले खुसी पनि हुन्छन्। किनभने भोलि रोपाइँ छ। पानी परे खेत पानीले भरिन्छ र रोपाइँ गर्न सजिलो हुन्छ।
कालो बादल पानीका भण्डार हुन्। एकैछिनमा ह्वार्र पानी पर्न बेर छैन। मुसलधारे वर्षा पनि हुनसक्छ। मुसलधारे वर्षा भयो भने टेकोले धानेको उनको घर बाँकी रहला ? सोच्दासोच्दै उनी भयभीत भएर काम्न थाल्छन्।
‘आँगनमा एक्लै बसेर के सोच्दै हुनुहुन्छ ध्वंब्वा ?’ उनको गुठीयार बाबुकाजी उनको आँगनमा उक्लँदै भन्छन्।
एक्लै टोलाइरहेका बिकुनर्सिंह ध्वंब्वा तर्सेझैं हुन्छन्। ‘के सोच्नु र ! बर्खा लाग्यो। यसपालिको बर्खा यो टेकोले धान्ला कि नधान्ला भनेर सोचिरहेको नि।’ बिकुनर्सिंह ध्वंब्वा खुइड्ढय सुस्केरा हाल्दै भन्छन्।
‘तपाईंले घर बनाउनलाई भूकम्पपीडितलाई दिएको सहयोग पाउनु भएन र ?’ बाबुकाजीले अलि नजिकै आएर भन्यो।
‘अलिअलि दियाथ्यो’, यताउति गरेरै सकियो। एक तला मात्रै घर बनाउन पाएको भए पनि ढुक्क हुन्थ्यो। सकिएन के गर्ने ?’ बिकुनर्सिंह ध्वंब्वाले उस्तै सुस्केरा हालेर भने।
‘त्यत्तिका जग्गा छन्। एक टुक्रा बेचेर घर बनाए भैहाल्यो नि’, बाबुकाजीले सल्लाह दियो।
‘जग्गा त छ नि। भएर के गर्नु। बेच्न पाइएन। धितो राख्न पाइएन। त्यसमा घर पनि बनाउन पाइएन। गुठीको जग्गा पर्यो’, बिकुनर्सिंह ध्वंब्वाले निराश भएर भने। बाबुकाजी केही नबोली उभिरह्यो।
‘अँ, के भन्न आइस् त बाउचा ?’ ध्वंब्वाले भने।
‘सहरमा भोलि विरोधसभा छ। हाम्रो गुठीका सप्पैजना जानुपर्छ रे। ध्वंब्वालाई त्यही भन्न आएको। हाम्रा संस्कृति मास्न खोज्ने र हाम्रो पहिचान मेट्न खोज्नेको विरोध गर्नुपर्यो रे। यो मैले होइन, हाम्रो थकालीले भनेको। यही कुरा अरूलाई पनि भन्न छ। लौ त म गएँ है ध्वंब्वा।’ यति भनेर बाबुकाजी अर्को घरतिर लाग्यो।
भोलि त ब्यासीमा रोपाइँ छ। रोपाइँ छोडेर कसरी जाने जुलुसमा ?
जाऊँ कि नजाऊँ ! बिकुनर्सिंह ध्वंब्वा दोधारमा परे। जाऊँ भने उनलाई जान मन छैन। नजाऊँ भने आफ्नो पहिचानको सवाल छ। नेवार–नेवार एकताको सवाल छ। आफ्नो संस्कृतिको सवाल छ। आफ्नो सम्पदा संरक्षणको सवाल छ। फेरि गुठीले बोलाएको ठाउँमा गएन भने बँ (जरिवाना) तिर्नुपर्छ। कस्तो आपत् पर्यो ध्वंब्वालाई। उनी एकछिन आँगनमै अलमलिइरहे।
भोलिपल्ट। बिकुनर्सिंह ध्वंब्वा खर्पन बोकेर रोपाइँ गर्न निस्किए। खर्पनमा एकापट्टि घुम, कोदाली र जाँडको घैंटो छ। हुक्का र चिलिम पनि राख्न बिर्सेका छैनन्। थकाइ मेट्न हुक्का तान्ने बानी छ उनको। खर्पनको अर्कोपट्टि चाहिँ मलको बोरा छ। रोपाइँ गर्न ज्यामी पनि बोलाएका छन्। ज्यामीहरू खेतमा आइसके होलान्। यस्तो सोच्दै बिकुनर्सिंह ध्वंब्वा हतारहतार खर्पन हल्लाउँदै हिँड्न थाले।
‘रोपाइँमा जान लागेको ध्वंब्वा ? जानुस् जानुस्। खेतमा पानी जमेको बेला रोपाइँ गरिहाल्नुपर्छ। अब त गुठीको नाममा रहेको तपाईंको आधा खेत तपाईंको आफ्नै नाममा गरिदिने भएको छ सरकारले। आधा खेत आफ्नै नाममा आएपछि त ध्वंब्वालाई अझ बढी काम गर्ने जाँगर चल्नेछ।’ हिँड्दाहिँड्दै बाटैमा भेट भएको सुकुचाले यति कुरा भनेर गयो। सुकुचा उसको टोलको सानोतिनो नेता हो। चुनाव आयो कि के के भन्न, सिकाउन र भोट माग्न आउँछ ऊ। आज भने लामो कुरै नगरी गयो। सायद हतार होला उसलाई।
गुठीको जग्गा बेच्न नपाएर र भुइँचालोले भत्काएको घर बनाउन नपाएर दुःखी भइरहेको बिकुनर्सिंह ध्वंब्वाको मुख सुकुचाको कुरा सुनेर एकैचोटि उज्यालो भयो। उनी खुसीले रमाउँदै फेरि खर्पन हल्लाउँदै सरासर खेततिर लागे।
खेतमा रोपाइँ गर्न हिँड्दाहिँड्दै आफैंतिर आइरहेको जुलुसको डफ्फासित बिकुनर्सिंहको जम्काभेट भयो। जुलुसमा जान हिजो खबर गर्न आउने बाबुकाजीलाई सबैभन्दा अगाडि देखे बिकुनर्सिंह ध्वंब्वाले। गुठीका सबै सदस्य आएका थिए। आफ्नै परम्परागत पोसाकमा सजिएर आएका आफ्नै गुठीका मान्छेलाई देखेर उनलाई पनि जाऊँजाऊँ लाग्यो। लोग्नेमान्छे मात्रै हो र ! स्वास्नीमान्छेहरूसमेत हाकुपटासी र सेतो पछ्यौरा ओढेर हातमा झन्डा बोकेर जुलुसमा आएका छन्। नेवारहरूको यो एकतामा आफू पनि सामेल होऊँहोऊँ लाग्यो बिकुनर्सिंह ध्वंब्वालाई। तर के गर्ने ? खेतमा ज्यामीहरू आइसके होलान् ? के गर्ने होला भनेर आपत् पर्न थाल्यो ध्वंब्वालाई।
यसो आँखा डुलाई हेर्दा रोपाइँ गर्न बोलाएका ज्यामीहरू पनि जुलुसमै देखे बिकुनर्सिंह ध्वंब्वाले। एकछिन छक्क परे उनी। मनमनै रिसाए। ‘कस्ता बेइमानहरू। रोपाइँको काम छोडेर जुलुसमा पो आएछन्।’ मनमनै गाली पनि गरे ध्वंब्वाले।
‘आ, ठिकै भयो। आजको सट्टा भोलि गरौंला रोपाइँ। बरु म पनि जुलुसमै जान्छु। सप्पैजना गएको ठाउँमा म मात्रै किन छुट्ने।’ मनमनै यस्तो सोच्दै बिकुनर्सिंह ध्वंब्वा खर्पन बोकेरै जुलुसमा मिसिए। जुलुसमा सनां गुठी, सी गुठी, जात्रा गुठी, बाजा गुठी, पूजा गुठी र नाच गुठीका सप्पैजना आएका रहेछन्। त्यो देखेर ध्वंब्वालाई झन् जाऊँजाऊँ लाग्यो। गएन भने त जरिवाना तिर्नुपर्छ।
जुलुस अघि बढ्दै गयो। केके जाति नारा पनि लगाए जुलुसमा आउनेले। अनपढ बिकुनर्सिंह ध्वंब्वाले राम्ररी बुझ्न सकेनन्। चोकमा अर्को जुलुससँग जम्काभेट भयो। दुवै जुलुस मिसिएर एउटै भयो।
उताबाट आएको जुलुसमा बिकुनर्सिंह ध्वंब्वाले चिनेका धेरै मान्छे थिए। सबैभन्दा अगाडि थिए उनले बाली बुझाउने गरेका साहु। बाली बुझाएको भर्पाई माग्दा सधैं आनाकानी गरेर टार्थे। अलि कर गरेर माग्दा किन चाहियो तिमीलाई भर्पाई भनेर रिसाउँदै थर्काउँथे। बिकुनर्सिंह ध्वंब्वा लुरुक्क परेर भर्पाई नलिईकनै आउँथे। धेरै किचकिच गरे जग्गा निष्कासन गरिदेलान् भन्ने डर थियो। तर उनै साहुले आज जुलुसमा बिकुनर्सिंह ध्वंब्वालाई देखेर मुसुक्क मुस्कुराएर भने, ‘बिकुनर्सिंह, तिमी पनि जुलुसमा आयौ ? ल राम्रो गर्यौ।’
बिकुनर्सिंह ध्वंब्वालाई चाहिँ कताकता जुलुसमा आएर नराम्रो गरेजस्तो पो लाग्यो। सधैं रिसाउने साहु आज किन मसँग मुस्कुराए ? बिकुनर्सिंहको मनमा शंका उठ्न थाल्यो।
हिँड्दै जाँदा बिकुनर्सिंह ध्वंब्वाले अर्का एक जना तल्सिङलाई देखे। उनी पनि मुसुक्क हाँसे। बाली बुझाउन जाँदा राम्रो धान ल्याएन भनेर सधैं कचकच गर्ने र जोताहाको हकबाटै निष्कासन गर्ने त्यो पापी तल्सिङलाई देखेर बिकुनर्सिंह ध्वंब्वालाई साह्रै रिस उठ्यो। अलि अगाडि पुगेर यताउति आँखा डुलाउँदा अर्का तल्सिङसँग आँखा जुध्यो। तल्सिङ मुसुक्क हाँस्यो। बिकुनर्सिंह ध्वंब्वा हाँस्न सकेनन्। बरु उनी खिन्न भए। उबेला घर बनाउने बेलामा मञ्जुरी नदिएर धुरुक्क रुवाएको थियो त्यो तल्सिङले। तिनै तल्सिङले आज हाँसेर हेरेको देखेर बिकुनर्सिंह ध्वंब्वालाई मनमनै रिस उठ्यो।
जुलुसको पछाडिपछाडि बिकुनर्सिंह ध्वंब्वाजस्तै सबै खेती गर्ने ज्यापूहरू मात्रै थिए। जुलुसको अघिअघि बाली बुझ्ने तल्सिङ र साहुहरूमात्रै। बिकुनर्सिंह ध्वंब्वालाई के नमिले के नमिलेजस्तो लाग्यो। उनको दिमागमा कताकताबाट एउटा चेतना आएजस्तो भयो। यी त हामीलाई जोतेर खाने साहुहरू हुन्। हामी खेतको काम छाडेर किन यी साहुका पछिपछि जुलुसमा जाने ? यस्तै सोचेर बिकुनर्सिंह ध्वंब्वा हिँड्दाहिँड्दै टक्क अडिए। उनी अडिँदा उनको खर्पनमा धेरै मान्छे ठोक्किए। तर कसैले वास्ता गरेनन् उनलाई। भीड अगाडि गयो। भीडपछाडि उनी एक्लै ठिंग उभिइरहे।
बिकुनर्सिंह ध्वंब्वा दोधारमा परे। अब फेरि जुलुसमै मिसिन जाऊँ कि रोपाइँ गर्न खेततिर जाऊँ ?
अन्योलमा अलमलिँदा अलमलिँदै बिकुनर्सिंह ध्वंब्वालाई सुकुचाको याद आयो। अनि सुकुचाले भनेको कुरा याद आयो। त्यसपछि बिकुनर्सिंह ध्वंब्वा हतारहतार दौडेर जुलुसमा मिसिएर सुकुचालाई खोज्न थाले। तर उनले सुकुचालाई कतै देखेनन्।
योगलाल मास्टर विद्यालय जान आउँदै थिए। बिकुनर्सिंह ध्वंब्वालाई बाटोमा अलमलिइरहेको देखेर भने, ‘के भयो ध्वंब्वा ? किन अलमलिरहनुभा’को ?’
बिकुनर्सिंह ध्वंब्वाले जुलुसतिर देखाउँदै भने, ‘जुलुसमा बोलाएका थिए। आफ्नो यता रोपाइँ छ। के गरूँ के गरूँ भयो।’
योगलाल मास्टरले हाँस्दै भने, ‘दोधारमा पर्नुभयो ध्वंब्वा ?’ अनि बिकुनर्सिंह ध्वंब्वाको खर्पनबाट कोदाली झिकेर खर्पनको अर्कोपट्टि राखिदिए। अब खर्पन एकापट्टि मात्रै ढल्किन थाल्यो। अनि उनले सोधे, ‘यस्तो भयो भने के हुन्छ ध्वंब्वा ?’
‘यस्तो गर्न मिल्दैन नि। बोक्नलाई गाह्रो हुन्छ।’ बिकुनर्सिंह ध्वंब्वाले हाँस्दै भने।
‘हो, अहिलेको परिस्थिति यस्तै हो। अब बाँकी कुरा तपाइँ आफैं बुझ्नुस् ध्वंब्वा।’ यति भन्दै योगलाल मास्टर स्कुलतिर लागे।
बिकुनर्सिंह ध्वंब्वा छक्क परेर खर्पनतिर हेर्न थाले। यसरी त कसरी बोक्नु खर्पन ? दुवैपट्टि बराबर भए पो बोक्न सजिलो हुन्छ। यस्तो सोच्दै कोदाली झिकेर पहिले राखेकै पट्टि राखे। दुवैपट्टिको भार सन्तुलित भयो। खर्पन बोक्न सजिलो भयो।
त्यसपछि बिकुनर्सिंह ध्वंब्वा खर्पन बोकेर सरासर आफ्नो खेततिर लागे। अलि पर पुगेर उनी टक्क रोकिए। कसैलै ‘एकछिन् पख्’ भनेजस्तो लाग्यो उनलाई। त्यो अरू कसैले होइन, उनकै मनले भनेको थियो। उनले फरक्क पछाडि फर्केर हेरे। अगाडि जाँदै गरेको जुलुसलाई देखे। अब कता जाऊँ ? अलमलिँदै उनी खर्पनतिर हेर्न थाले।
बिकुनर्सिंह ध्वंब्वाले खर्पनको एकापट्टि आफ्नो जिन्दगी देखे। अर्कोपट्टि आफ्नो संस्कृति देखे।