वामदेवलाई पदै पद, पोखरेललाई स्कुल
काठमाडौं : सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ। एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ।
नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचांै वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।
नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएको स्रोतले बतायो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए। गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो।
तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए। पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको हो। कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ। पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन। स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष बनाउने सहमति जुटेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए। पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो।
स्कुल विभागमा पोखरेल
पार्टी स्कुल विभागको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेलले पाएका छन्। तत्कालीन एमाले महासचिवसमेत रहेका पोखरेलले एकतापछि पार्टीले लिएको ‘जनताको जनवाद’ को कार्यदिशामाथि आलोचना गर्दै आएका थिए।
तत्कालीन एमालेले लिएको जनताको बहुदलीय जनवाद (जबज) लाई सिद्धान्त बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि पूर्वमाओवादी नेताहरूले पोखरेललाई ‘पार्टी एकताविरोधी’ को संज्ञा दिएका थिए।
पोखरेलको सट्टा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने पूर्वमाओवादी नेताहरूको अडान थियो। पोखरेल कि श्रेष्ठमध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा पार्टीपंक्ति नै दुई खेमामा विभाजित थियो।
स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले पनि दाबी गरेका थिए। तर अध्यक्षद्वयको सहमतिमा पोखरेलले जिम्मेवारी पाएका हुन्। प्रचार विभागको जिम्मेवारी पाएका श्रेष्ठले पार्टी एकताका लागि आफूले स्कुल विभागको दाबी छोडेको प्रतिक्रिया दिएका छन्। उनले स्कुल विभागमा दाबी गरेर पार्टी एकताको काम लम्ब्याउन नचाहेको बताए। पार्टीको कार्यदिशा र नीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्कुल विभागमा धेरै नेताहरूले दाबी गरेका थिए।
सचिवालय बैठकले वरिष्ठ नेता माधव नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ। नेपाललाई रुचिअनुसार उक्त विभागको जिम्मेवारी दिइएको नेताहरू बताउँछन्। अर्का वरिष्ठ नेता झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन्। मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयकै जिम्मेवारी दिइएको छ।
वरियता माथि पार्न खनालको प्रस्ताव
वरिष्ठ नेता नेपालभन्दा आफू माथि हुनुपर्ने भन्दै अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा लिखित प्रस्ताव पेस गरेका छन्। सचिवालय बैठकमा नेता खनालले राखेको प्रस्तावमाथि छलफल भएको नेताहरूले बताए। आफू विदेशमा रहेका बेला आफ्नो वरीयता तल झारिएको भन्दै खनालले अध्यक्षद्वयसँग असन्तुष्टि जनाउँदै आएका छन्। तत्कालीन एमालेमा नेपालभन्दा आफू पहिले वरिष्ठ नेता भएको खनालको तर्क छ। खनालको प्रस्तावमाथि सचिवालयको आगामी बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन्। खनाल पार्टीमा चौथो वरीयतामा छन्। खनालको प्रस्ताव पारित भए अध्यक्षद्वयपछिको वरीयता पाउनेछन्।
मन्त्रीलाई मन्त्रालयकै जिम्मेवारी
नेकपाले मन्त्रीहरूलाई मन्त्रालयसँग सम्बन्धित विभागको जिम्मेवारी दिएको छ। पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग, विना मगरलाई खानेपानी तथा सरसफाइ विभाग, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख तोकिएको छ। यस्तै लालबाबु पण्डितलाई सामान्य प्रशासन विभाग, वर्षमान पुनलाई जल स्रोत, सिँचाइ तथा ऊर्जा विभाग र गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामला तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। नेकपाले प्रदीप ज्ञवालीलाई निर्वाचन विभागको जिम्मेवारी दिइएको छ। संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संघीय संसदीय विभाग प्रमुख र प्रमुख सचेतक देव गुरुङलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ।
विवादित पराजुलीलाई जिम्मेवारी
कृषिमन्त्री हुँदा महिलामाथि अपमान गरेको आरोप खेपेका हरिप्रसाद पराजुलीले कृषि तथा भूमिसुधार विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन्। पराजुली वामदेव गौतम निकट मानिन्छन्। गौतम निकट बलराम बाँस्कोटाले पनि उपभोक्ता हित तथा आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन्। गौतम आफ्नो टिमलाई पनि महत्वपूर्ण जिम्मेवारी दिलाउन सफल भएको नेताहरू बताउँछन्।
सचिवालय बैठकले सातवटै प्रदेशमा दुईदुई जना सहइन्चार्ज तोकेको छ। यसअघि एकएक जना मात्र सहइन्चार्ज रहेकामा अब तीनतीन जना सहइन्चार्ज हुनेछन्।
महासचिव विष्णु पौडेलका अनुसार प्रदेश १ मा नरेश खरेल र शेरधन राई, प्रदेशमा २ नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ काशीनाथ अधिकारी र हितमान शाक्य, गण्डकीमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश ५ कुलप्रसाद केसी र बैजनाथ चौधरी, कर्णालीमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिममा खगराज भट्ट र भानुभक्त जैसीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ। श्रीराम ढकाल र ईश्वरी रिजालले कार्यालय सचिवको जिम्मेवारी पाएका छन्।