कांग्रेस नेता बडुले भेटे रवि लामिछाने, भीड नियन्त्रण गर्न लाठीचार्ज
चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ ।
जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।
बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्याएका छन् । शुक्रबार साँझ पनि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । लामिछानेसहित यसै प्रहरणामा पक्राउ परेका युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।