धनकुटामा रोपाईं जात्रा मनाइयो
धनकुटा : खेतमा गरिने रोपाईंको सडकमा नक्कल गर्दै धनकुटामा रोपाईं जात्रा मनाइएको छ। नेवारी समुदायको संस्कृतिबाट सुरु भएको यो पर्वमा विशेष गरी यूवायूवतीहरु भेष वदलेर सडकमा रोपाईंको नक्कल गर्दै मनाउने गरिन्छ।
असारे धान रोप्ने काम सकिएपछि खुसीयाली मनाउँदै रोपाईं जात्रा मनाउने गरिएको धनकुटा–६ बीचबजार निवासी मनोज नारायण श्रेष्ठले बताए। गाईजात्राको दिन दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने र भोलिपल्ट रोपाईं जात्राको दिन दिवंगत आफन्तको शोकको पीडा भुल्न र रोपाईं सकिएको खुसीयाली साट्न परापूर्व कालदेखि नै रोपाईं जात्रा मनाउने प्रचलन रहँदै आएको उनले बताए।
धनकुटा सदरमुकाममा विभिन्न टोल बस्तीबाट बेग्लाबेग्लै रोपाईं जात्रा निकालिएको थियो। जात्रामा सहभागी भेष बदलेका यूवायूवतीले लामबद्ध रुपमा ढोल झ्याम्टा बजाउँदै रोपाईंको नक्कलै गर्दै प्रर्दशनी गरेका थिए। शनिबार धनकुटा सदरमुकाममा पुरुष महिला र महिला पुरुष बनेर विभिन्न हाउभाउ गर्दै रोपाईं जात्रामा सहभागी भएका थिए। उनीहरु ‘रोप,रोप,रोप’ भन्दै गीत गाउँदै नाच्दै थिए। जात्रामा बालबालिकादेखि यूवायूवती, वृद्धवृद्धासम्म सहभागी थिए।