बाढी थाहा पाउन पार्वती

बाढी थाहा पाउन पार्वती

टीकापुर : ‘हेलो, ... हजुर ! म पार्वती नै हो। कर्णालीमा बिहान ८ बजे ६.८ मिटर मात्रै छ। अहिले आत्तिनु पर्दैन, मैले माथि पनि सोधेको छु। हवस् नमस्कार !’

पानी परेको दिन। कर्णाली नदीमा धमिलो पानी बगेको दिन। बादल लागेर आकाश मडारिएको दिन। यही आवाज कैयौंपल्ट सुनिन्छ। आवाज हो कर्णालीकी गेज रिडर पार्वती गुरुङको।

सानो कोठा। दुई थान टेबुल। एउटा काठको र दुई वटा प्लास्टिकका कुर्सी। भित्तामा एकातिर बर्दियाको बाढी प्रभावित समुदाय र सरोकारवालाको नाम–टेलिफोन नम्बरसहितको सूची, अर्कोतिर कैलालीका बाढीपिडितको सूची। कुर्सीमा बसेर रजिस्टर पल्टाउँदै टेलिफोनमा व्यस्त हुन्छिन् बाढी पूर्वानुमान शाखाको सूचना केन्द्रमा कार्यरत गुरुङ।

५० नाघेकी गुरुङले २६ वर्षदेखि दैनिक बिहान ८ बजे, दिउँसो १२ बजे र अपराह्न ४ बजे यही कोठाबाट समुदायलाई बाढीबारे सूचना दिँदै आएकी छन्। लम्कीचुहा नगरपालिका–३ चिसापानीकी गुरुङ भन्छिन्, ‘सामान्य दिनमा दिनको तीन पटक पानीको सतह हेरे पुग्छ भने पानी परेको दिन हरेक घण्टा हेरेर सूचना दिनुपर्छ।’

नदीमा पानीको सतह ९ मिटरभन्दा माथि पुगेपछि कयौंपटक उनको बास स्टाफ गेजमै भएको छ। छाताकै सहारामा ज्यान जोखिममा राखेर उनले समुदायलाई बाढीको सूचना दिइरहेकी छिन्। उनले हरेक दिन नदीमा पानीको सतह नापेर जल तथा मौसम विज्ञान विभागमा जानकारी दिनुपर्छ। नदीमा पानीको सतह ९ मिटरभन्दा माथि पुग्यो भने कैलाली र बर्दियाका तटीय क्षेत्रका बस्तीमा जानकारी दिनु उनको जिम्मेवारी हो।

यस्ता बस्ती कैलालीमा २९ र बर्दियामा ४६ छन्। नदीमा पानीको सतह ९ मिटर पुगे सतर्क रहन, १० मिटर पुगे सुरक्षित स्थानमा जानका लागि तयारी रहन र ११ मिटर पुग्यो भने खतराको संकेत नाघेको भन्दै सबैलाई सुरक्षित स्थानमा जान मोबाइलमार्फत सूचना दिन्छिन् उनी। ‘कर्णालीमा पानीको सतहबारे समुदायलाई जानकारी दिनु मेरो मुख्य जिम्मेवारी हो’, उनले भनिन्, ‘पानी परेका दिन बाढी प्रभावित क्षेत्रका मान्छेले फोन गरेर मसँग जानकारी लिन्छन्।’

कसरी बनिन् गेज रिडर ?       

२०१८ सालमा बुवा पदमबहादुर रास्कोटीले कर्णालीमा गेज रिडिङको काम पाए। उनीहरूको परिवार चिसापानीमै बस्न थाल्यो। सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लालाई पैदल यात्राले जोड्ने प्रवेश मार्ग थियो चिसापानी।

तीन बहिनीमध्येकी जेठी हुन् पार्वती। उनका दाजुभाइ छैनन्। पार्वती पनि सानैदेखि बुवासँगै नदी किनारको गेज नाप्न जन्थिन्। यसैबाट उनीहरूको परिवार जसोतसो चलेको थियो। २०४६ भदौ ३ गते मध्याह्न पानीको सतह नाप्न पितामारी पुगेका बुबा पदमबहादुर कहिल्यै घर फर्किएनन्। कर्णालीमा बेपत्ता भएका बुबाको महिनौंसम्म खोजी गरिए पनि भेटिएनन्।

मुख्य अभिभावक गुमेपछि परिवारको जिम्मेवारी पार्वतीको काँधमा आयो। उनीसँग अन्य विकल्प केही थिएन। विभागले बुवाको जागिर खान प्रस्ताव गरेपछि उनले जोखिमपूर्ण काम गर्ने आँट गरिन्।

‘हामीसँग गुजाराका लागि अर्को विकल्प थिएन’, उनले भनिन्, ‘जुन किनारमा मैले बुबा गुमाएँ त्यहींबाटै मेरो दिनचर्या जोडियो। मैले बुबाको काम समाल्ने निधो गरें।’

जोखिमै जोखिम

२०५० सालमा उनले १० रुपैयाँ दैनिक ज्यालामा काम सुरु गरेकी थिइन्। अहिले पनि उनी ज्यालादारीमै छिन्। ‘दैनिक २०० रुपैयाँ पाइरहेकी छु, यसैबाट गुजारा चलेको छ।’ २०५४ सालमा स्थायीका लागि लोकसेवाको जाँच दिए पनि पास हुन नसकेपछि उनले जाँच दिइनन्। कार्यालयले बिमाको व्यवस्था गरेको छैन। चिसापानीदेखि झन्डै ३ किलोमिटर माथि पितमारीसम्म भिरालो बाटो हिँड्नुपर्छ। पानीको सतह नाप्न नदीको खोचसम्म झर्नुपर्छ। उनले भनिन्, ‘खुट्किला त निर्माण गरिएको छ। तर पानी परेको दिन निकै चिप्लो हुन्छ। चिप्लिए सोझै कर्णालीमा पुगिन्छ।’

२०६९ सालको एक बिहान ६ बजे पानीको सतह नापेर फर्किने क्रममा उनी पहिरोमा फसिन्। बाटो अगाडि ढुंगा खस्दै थिए, पछाडि लेदो बग्दै थियो। उनले तत्काल प्रहरीलाई खबर गरिन्। झन्डै १ घण्टाको प्रयासपछि स्थानीयले डोरीले तानेर उनको ज्यान जोगाए।

बेलाबेला उनलाई विरक्त लाग्छ। समुदायसँगको आत्मीयताले काम छोड्न नसकेकी बताउँछिन्। ‘समुदायका मान्छेले धेरै माया गर्नुहुन्छ, कहिलेकाहीं बाढी प्रभावित क्षेत्रका कार्यक्रममा जाँदा हाम्रा लागि तपाईं भगवान् हो भन्छन्’, उनले भनिन्। समुदायको यस्तो कुराले उनलाई हौस्याउँछ।

उनका अनुसार नदीमा सबैभन्दा धेरै पानीको सतह २०७१ साउन २९ गते हो। यो दिन नदीमा पानीको सतह १६.५ मिटर मापन भएको थियो। उनले रातभर नदी किनारमा बसेर पानीको सतहबारे समुदायलाई जानकारी दिएकी थिइन्। तटीय क्षेत्रमा २०४० सालमा आएको बाढीले ठूलो क्षति भएको थियो।

कर्णालीमा २०४० मा १५.४० मिटर पानीको सतह बढ्दा कैयौं व्यक्तिको ज्यान जानुका साथै सयौं बिघा जमिन बगरमा परिणत भएको थियो। ‘२०४० को तुलनामा २०७१ मा निकै कम क्षति भयो’ उनले भनिन्, ‘यसको मुख्य कारण नदीमा जडान गरिएको बाढी पूर्वसूचना प्रणाली हो।’

चिसापानीमा मापन भएको पानी सबैभन्दा पहिले बर्दियाको गोलामा पुग्छ। चिसापानीबाट त्यहाँ पानी पुग्न झन्डै डेढ घण्टा लाग्छ। चिसापानीबाट सबैभन्दा टाढाको बस्ती कैलालीको टीकापुर नगरपालिका–८ धनसिंहपुरमा झन्डै साढे ३ घण्टामा बाढी पुग्छ। बर्दिया र कैलाली गरी झन्डै तीन लाख बढी जनसंख्या रहेको यो क्षेत्रमा बाढी पुग्नुअगावै सतर्क रहन र सुरक्षित स्थानमा जान उनले खबर गरिसक्नुपर्छ।

समुदायलाई सूचना दिन दैनिक ५ सय बढी फोन कलको उत्तर दिएकी पार्वतीले भनिन्, ‘यो निकै संवेदनशील काम हो, हाम्रो सानो गल्तीले धेरै जनधनको क्षति हुनसक्छ। सूचना प्रणालीको जग नै गेज रिडर हुन्। यस्तो संवेदनशील काम गर्ने हामीलाई सरकारबाट सहयोग भएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.