राजपुरवासीको गुनासो : प्रचण्डले बिर्सिए आश्रयस्थल
राजपुर (दाङ) : राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे, गाउँलेहरु उनीहरुको संरक्षणमा जुट्थे। अर्काे स्थान र भारतसम्म सकुसल स्थानान्तरण गर्थे। नेकपा माओवादी केन्द्रले सशस्त्र युद्ध गरेको १० वर्षसम्म धेरैपटक राजपुरले युद्धका नायक पुष्पकलम दाहाल (प्रचण्ड) लगायतका नेतालाई आश्रय मात्रै होइन, संरक्षण पनि दिएको थियो।
प्रचण्ड लगायतका नेताहरुले आश्रय लिँदै गर्दा आफ्नो सत्ता प्राप्तीपछि जनताका दिन फेरिने र दुर्घम बेतनिया सुगममा परिणत गरिदिने आश्वासनसमेत दिएका थिए। गाउँलेमा पनि शान्तिपछि आफ्नो दैनिक फेरिने आशा थियो। तर सरकारमा धेरैपटक नेतृत्व गरेका शीर्ष नेताहरु एकपटक पनि यहाँ फर्केका छैनन्। न त उनीहरुले भनेजस्तै गाउँको मुहार नै फेरिएको छ।
द्वन्द्वका बेला आफूले राज्यको अनेक पीडा सहेर संरक्षण गरेका व्यक्ति अहिले एकपटक पनि गाउँ नफर्किनुले त्यतिबेला लगाएको गुन नेताले बिर्सेको राजपुरका स्थानीयले महशुस गरेका छन्। सशस्त्र द्वन्द्वकोे समयमा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री अहिलेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्वप्रधानमन्त्री बावुराम भट्राई अनि वर्तमान सभामुख कृष्णबहादुर महरा लगायतका नेताको सुरक्षित स्थान बेतिनिया नै थियो।
उनीहरुको संरक्षणका लागि गाउँलेले नेपाल प्रहरी, सेनालाई गाउँ पस्नसमेत दिएनन्। बरु अनेक धम्की र कुटाइ आफैले आए। ज्यानको बाजी थापेर जोगाएका नेताले आफ्ना वचन बिर्सेको भन्दै गाउँलेले गुनासो गरेका छन्। पूरै गाउँलाई जोखिममा पारेर संरक्षण गरेका नेताहरुले एकपटक पनि पुरानो स्थलको अवस्था नबुझेको ६२ वर्षीय रामशरण घर्तीले बताए।
‘आफ्नो छाक कटाएर उनीहरुलाई खान दियौं। ताकि भोली हाम्रो भविष्य उज्वल बनोस भनेर’ उनले भने, ‘अहिले उनीहरु करोडौंका गाडीमा सयर गर्दै देशमा राज गरिरहेका छन्। तर हामीलाई भने सिटामोल किन्न पनि ५ घण्टा हिड्नसपर्छ। गाउँमा स्कुल पनि छैन। न त सडक नै। बालबच्चालाई स्कुल पठाउँन ५ घण्टा जंगल र खोलाको बाटो हिँडाउनुपर्छ।’ राजपुरको बेतनिया त्यतिबेलाको र अहिलेमा केही फरक छैन। फेरियो मात्रै शासन र सत्ता। उस्तै छ वस्ती जहाँ टुंकी मुनि नेताले देखाइएका सपना।
गाउँलेले अहिले पनि झिनो आशा राखेका छन्। गाउँमा विद्युतीकरण, सडक सञ्जाल र गाउँमै गुणस्तरीय उच्च शिक्षाको व्यवस्था। एक चक्की सिटामोलका लागि गाउँले तड्पीएका छन्। ‘हामीले सहर बनाइदेउ भनेका पनि होइनौं’ अर्का स्थानीय तुलसी बुढाले भने, ‘टुकिमुनिको अँध्यारोबाट मुक्त बनाउन्। हाम्रा बालबच्चालाई गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउन् र बिरामी पर्दा डोकोमा जंगलको बाटो होइन, गाउँमै ज्यान जोगाउने स्वास्थ्यचौकीको व्यवस्था होस्।’
त्यही आश्रय लिएर आफ्नो युद्ध सफल बनाएका प्रचण्ड र बावुराम प्रधानमन्त्री बने। कृष्णबहादुर महरा अहिले सभामुख छन्। नेकपामा नेता मात्रै होइन, कांग्रेस नेता स्वर्गिय खुमबहादुर खड्काले पनि वेतनियाको विकासका लागि कुनै काम नगरेको स्थानीय बताउँछन्। आफ्नै जिल्लाका नेता गृहमन्त्री बन्दासमेत गाउँको विकासमा ध्यान नदिएको स्थानीय सुशीला पुनले बताइन्।
दाङ सुगम जिल्ला भए पनि राजपुर भने कुनै कर्णालीको दुर्गम क्षेत्रभन्दा कम छैन। न यहाँ विद्युत् न त सडक नै। अहिले पनि न्यूनतम पूर्वाधार निर्माणको पर्खाइमा स्थानीय छन्। भोटबैंकका रुपमा रहेका यहाँका जनताको दैनिक सुधार्न जनप्रतिनिधिले पनि कुनै चासो नदिएको गुनासो गर्छन्।