सौता र हेलाको डरले रोग लुकाउँछन् महिला
भद्रपुर : झापाको ग्रामीण क्षेत्रका महिलाले परिवार र समाजबाटै हेला हुने डरले यौन र पाठेघरसम्बन्धी रोग लुकाउने गरेको भेटिएको छ। पतिलाई सुनाए ‘सौता’ हाल्ने र परिवार तथा छिमेकका साथीलाई सुनाए हेला गर्ने र छोएको समेत नखाने भयले बाध्य भएर रोग लुकाउनुपरेको उनीहरू बताउँछन्।
‘योनीबाट गन्हाउने पानी बग्छ, लगाएको कपडा दिनमा दुईपटकसम्म फेर्नुपर्छ। पतिलाई सुनाएँ उपचार गराउनुको साटो सौता भित्र्याए। मेरै समस्या देखेर गाउँका कति महिला चुपचाप बसेका छन्,’ झापाको गौरीगन्ज गाउँपालिका-२ की ३० वर्षीया एक महिलाले भनिन्। उनी अहिलेसम्म उपचार नगरी बसेकी छिन्।
कचनकवल-२ की ४० वर्षीया अर्की महिलाको पनि समस्या यस्तै छ। पिसाब फेर्न गाह्रो हुने, पेट दुख्ने, पिठ्यूँ खसेजस्तो हुने, योनीबाट गन्हाउने पानी बग्न थालेको धेरै महिना भयो। पहिले उनी मोटीघाटी थिइन्, अहिले त दुखाइले खाना रुच्दैन तर परिवार र पतिसँग भन्न सक्दिनन्। घरमा किन खान छोडेको भनी सोध्नेलाई पेट दुखेर अथवा मन छैन भन्दै टार्दै आएको उनले सुनाइन्। उनलाई आफ्नो समस्या सुनाए परिवारले हेला गर्ने र पकाएको नखालान् भन्ने चिन्ता छ। ‘घरपरिवारले थाहा पाए लाज हुन्छ’, उनले भनिन्, ‘पकाएको खाना खाएनन् र हेला गरे भने मेरो त बिजोक हुन्छ। बरु यस्तै ठीक छ, आफूले सहनु पर्ने त हो नि।’
यौन समस्या पति, परिवारका अन्य सदस्य र साथीलाई सुनाउँदा लाज हुने सोचाइले ग्रामीण भेगमा बस्ने महिलाहरू यौनरोग लुकाएरै बस्न बाध्य छन्। उनीहरूमा यौनरोग सामान्य रोग हुन्, समयमा उपचार गरे निको हुन्छ भन्ने चेतना छैन। न त कुनै संघसंस्था वा स्थानीय तहले यसबारे जनचेतना जगाएका छन्।
गाउँमा स्वास्थ्य चौकी पनि छन्। तर औषधि गर्न स्वास्थ्य चौकी गए आफ्नो समस्या सबैले थाहा पाउलान् भन्ने पीर ग्रामीण महिलामा छ। कचनकवलकी महिला भन्छिन्, ‘गाउँको स्वास्थ्य चौकीमा सबै गाउँका मान्छे आवतजावत हुन्छ, कोही न कोही त चिनेकै मान्छे हुन्छन्। उनीहरूलाई आफ्नो समस्या सुनाउँदा एक कान दुई कान हुँदै गाउँभरी फैलिन्छ।’
सानै उमेरमा आमा बन्दा यौन समस्या
सामान्यतयाः महिलाको विवाह गर्ने उमेर २०-२५ वर्ष हो। यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रूपमा सक्षम हुन्छन्। तर झापाको दक्षिणी भेगका मुस्लिम, आदिवासी बस्तीमा १६/१७ वर्षमै बिहे हुन्छ। १९/२० पुग्दा नपुग्दै सन्तान जन्माउँछन्। सानै उमेरमा सुत्केरी हुँदा महिलामा यौनसम्बन्धी समस्या धेरै देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
सन्तान भएपछि पति वैदेशिक रोजगारीमा जाने र आफ्नो समस्या भन्ने परिवारमा कोही नहुँदा रोग लुकाएर महिला बस्ने पाइएको झापा कचनकवल गाउँपालिकाको स्वास्थ्य चौकीकी अनमी विष्णु भट्टराईले बताइन्। ‘यतिसम्मकी गाउँ-गाउँमा शिविर लिएर जाँदा पनि आफ्नो रोगबारे बताउँदैनन्,’ उनले भनिन्, ‘हामी आफैंले सोधखोज गर्नुपर्छ, फकाई फकाई सोधिएन भने उनीहरू बताउँदै बताउँदैनन्।’ ग्रामीण महिलामा यौन रोगसम्बन्धी समस्या धेरै रहेको उनको अनुभव छ।
झापामा यो उमेर समूहका महिलामा पाठेघरको समस्या छ भनेर भन्नै नसकिने स्वास्थ्यकर्मी बताउँछन्। कसैको २५/३० वर्षमै पाठेघरमा समस्या देखिएको छ भने कोही ७० वर्ष पुगेपछि मात्र आफ्नो रोग बताउने मेची अञ्चल अस्पतालका प्रसूतिरोग विशेषज्ञ डा. जयकुमार ठाकुर बताउँछन्। ‘बेलैमा यौन रोगको लक्षण देखिने बित्तिकै डाक्टरलाई जँचाएर औषधिसेवान गरे रोग बेलैमा ठीक हुन्छ तर ग्रामीण महिला समस्या खुलेर राख्दैनन्,’ उनले भने।
उपचार गराउँछन् सहरी महिला
मेची अस्पतालमा मात्र दिनमा सामान्यतया २०-२५ जना महिला यौनरोगका समस्या लिएर आउने गरेको डा. ठाकुर बताउँछन्। तर उनीहरू सहरी क्षेत्रका रहेको अस्पतालको तथ्यांकले देखाउँछ। यो तथ्यांकअनुसार सहरी महिलामा पनि यौनरोगको समस्या उस्तै छ।
तर उनीहरू उपचारका लागि समयै अस्पताल पुग्छन्, समस्या पनि सामान्य नै हुन्छ। यौनरोग ठूलै समस्या बन्नु भनेको लामो समय रोग लुकाएर राख्दा नै हुने चिकित्सक बताउँछन्। झापाका ग्रामीण महिलामा पाठेघर खस्ने र सेतो पानी बग्ने समस्या बढी रहेको डा. ठाकुरको भनाइ छ। गाउँघरमा जनचेतना नहुँदा स्थानीय सरकारले स्वास्थ्य शाखा र अस्पतालका साथै स्वास्थ्य चौकीसँग सहकार्य गरी चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उनी सुझाव दिन्छन्।