जनप्रतिनिधि नै जाँदैनन् गाउँपालिका

जनप्रतिनिधि नै जाँदैनन् गाउँपालिका

धनगढी : महोन्याल गाउँपालिका-२ पण्डौनका शम्शेर अधिकारी नागरिकता सिफारिस लिन वडा र गाउँपालिका कार्यालय पुगे। त्यहाँ न जनप्रतिनिधि भेटिए न त कर्मचारी नै ! उनी जनप्रतिनिधिसँग फोन सम्पर्क गरी कैलालीको लम्की बजार पुगे। त्यहाँ जनप्रतिनिधिसँग काम गराए। ‘स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बित्यो’, उनले भने, ‘तर, महोन्यालवासीका लागि झन् कष्टकर भएको छ। सानो कामका लागि पनि पहाडको नागरिकले तराई पुग्नुपर्ने अवस्था भएको छ।’ महोन्याल कैलालीको अति दुर्गम गाउँपालिका हो। त्यहाँ अझै यातायात, सञ्चारको पहुँच सहज छैन। हिउँदमा गाडी सञ्चालनमा आए पनि बर्खामा बन्द हुने गर्छ।

महोन्याल गाउँपालिका कार्यालय कहाँ रहने भन्ने टुंगो लागेको छैन। गाउँपालिकाले कार्यालय स्थापना गर्न नसक्दा सेवाग्राहीलाई सेवा लिन समस्या भएको छ। सरकारले गाउँपालिका मुकाम खिमडीमा तोकिए पनि सो ठाउँमा अहिलेसम्म कार्यालय स्थापना गरिएको छैन। गाउँपालिकाले दिने सेवाबारे जनप्रतिनिधि नै असन्तुष्ट छन्। ‘गाउँपालिका कार्यालय खिमडीमा अस्थायी रूपमा राखिएको छ’, वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले भने, ‘त्यहाँ विवाद भएकाले न जनप्रतिनिधि बस्ने गर्छन् न त कर्मचारी।’ गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल अहिलेसम्म पुग्न नसकेको उनको गुनासो छ। ‘गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष नै कार्यालय बस्दैनन्। कर्मचारी झन् के बस्थे ? ’ उनले भने। नेतृत्व तह नै कमजोर हुँदा गाउँपालिकाका अवस्था अस्तव्यस्त भएको उनले सुनाए।

वडा नम्बर ४ शान्तिपुर घर भएका तथा कार्यपालिका सदस्यसमेत रहेका विशाल पहराईले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै बस्ने ठेगान नभएको बताए। ‘कार्यालय खिमडीमा तोकिएको छ तर फलेबिसौनामाबाट काम हुने गर्छ। कस्तो तरिका हो यो ? ’ उनले भने। भतिजको बसाइसराइ सिफारिसका लागि मात्र लगातार ४ दिन जाँदा मात्र पाएको गुनासो गरे।

कार्यालयको काम गराउन खोज्दै धनगढी, सुखड, लम्कीलगायत बजारका होटल धाउनुपर्ने बाध्यता रहेको पण्डौनका दीपेन्द्र ओलीले बताए। ‘कार्यालयमा कर्मचारी छैनन्’, उनले भने, ‘तर आर्थिक वर्षमा पूरै योजना सम्पन्न भएको भनिएको छ। कसरी भयो थाहै छैन, अनुगमन सार्वजनिक सुनुवाइ केही पनि भएको छैन।’

३२ जना कर्मचारी दरबन्दी रहेको कार्यालयमा दुई जना कर्मचारी छन्। ती पनि कार्यालयमा कहिल्यै नभेटिएको उनीहरूको गुनासो छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडासचिव मात्र कार्यरत छन्। स्थानीय तहमा स्वास्थ्य, पशु, कृषि कार्यालय भए पनि सेवा पाउने अवस्था छैन।

गाउँपालिकामा ७ वटा वडा छन्। हरेक वडाका वडाध्यक्ष र उपाध्यक्षलाई एक÷एक वटा मोटरसाइकल र गाउँपालिका अध्यक्षलाई गाडीको व्यवस्था भए पनि वर्षायाममा गाडी सञ्चालनमा आउने अवस्था छैन।

कार्यालयका लेखापाल मदन अवस्थी दोहोरो कार्यभार भएकाले धनगढीबाटै आर्थिक कारोबार गरिरहेका छन्। स्वास्थ्य कार्यालय र महोन्याल गाउँपालिका दुवै ठाउँको धनगढीबाटै काम हुने गर्छ। आर्थिक कारोबार धनगढीबाट हुने भएकाले तल-माथि हुनु स्वाभाविक भएको गाउँपालिका प्रशासकीय अधिकृत गणेश ओझाले बताए। ‘भौगोलिक विकटताका कारण अनलाइनका काम तलबाट हुने गर्छ’, उनी दुई वर्षदेखि महोन्यालमै कार्यरत कर्मचारी हुन्। उनको पनि टीकापुरमा सरुवा भइसकेको छ। ‘दुई वर्षसम्म कर्मचारी अभावमा काम गर्न धेरै समस्या भयो’, उनले भने, ‘दुई जना कर्मचारीको भरमा गाउँपालिकाको सेवा दिएका छाँै।’ गत वर्ष ९० प्रतिशत योजना पूरा गरेको उनले दाबी गरे।

गाउँपालिका अध्यक्ष नवलसिंह रावल नशासम्बन्धी बिरामी छन्। उनले गाउँपालिका कर्मचारीका लागि धेरै पहल गर्दा पनि कतैबाट सुनुवाइ नभएको बताए। ‘त्यसै पनि स्वास्थ्यले साथ दिएको छैन। गाउँपालिका दुर्गममा छ, त्यही पनि गाउँपालिकावरिपरि नै रहने गरेको छु’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.