मार्फाको एक चिनारी : इकाई कावागुची घर

मार्फाको एक चिनारी : इकाई कावागुची घर

मुस्ताङ : बेनी–जोमसोम विस्तारित सडक पूर्व मुस्ताङ सदरमुकाम जोमसोम पुग्न मार्फा गाउँको साँघुरो गल्ली छिचोेल्नु पथ्र्यो। माटोले निर्मित पुरानो प्राचीन शैलीको घर, साँघुरो गल्ली र छतमाथि लस्करै पाँजिएको दाउराका कलात्मक दृष्यले मार्फाको ऐतिहासिकता स्पष्ट झल्किन्छ।

मुस्ताङको मार्फा गल्ली हुँदै जोमसोम निक्लने विदेशी पर्यटक अहिले पनि उत्तिकै छन्। मार्फाको पहिलो गेट कटेलगत्तै साँघुरो गल्ली आउँछ। लस्कर ढुंगा बिच्छ्याइएको २ सय मिटर लामो साँघुरो गल्ली चहार्दै जाँदा देब्रेतिर भित्ताको आड लगाई बनाइएको पुरानो दुईतले जीर्ण घर देखिन्छ। गाउँ पसेपछि ३० सेकेन्डमै जापानिज पर्यटक यहीँ घरछेउ टक्क रोकिन्छन्। घरको मूलद्वारको भित्तामा ३ प्रकारका भाषामा लेखिएको शिलालेख छ। जुन पढेपछि सहजै अनुमान हुन्छ, त्यो घर जापानिज भिक्षु इकाई कावागुची बसेकै घर हो। इकाई कावागुची पैदलै सन् १९०० मा यही घरमा ३ महिना बिताएका थिए।

इकाई कावागुची बसेको घर मार्फा निवासी सुवर्ण लालचनको हो। उनका बराजु अदम नारायणले त्यस समय भिक्षु इकाई कावागुचीलाई यहीँ घर प्रयोग गर्र्न दिएका थिए। सुवर्णले यस घरलाई कावागुची होम्स नामाकरण गरेका छन्। साघुरो गल्ली र सीमित क्षेत्रफलमा बनाइएको कावागुची होम्सको लम्बाई भने केही बढी छ। घरको मूलद्वारमा अंग्रेजी अक्षरमा कावागुची होम्स लेखिएका ेसाइनबोर्ड झुन्ड्याएको छ। साइनबोर्डमा लेखिएका अक्षरको दायाँबायाँ दुई देशको लोगो छ। मूलद्वार अगाडि बाक्लो सल्लाका ४ वटा खामोसहित दलिन छ। घरको माथिल्लो तलाको अगाडि वार्तली छ भने छतमा दाउरा पाँजिएको छ। करिब ५ सय वर्ष पुरानो मानिएको उक्त घरमा कावागुची १ सय २० वर्षअघि त्यहाँ बसेका थिए।

कावागुची होम्सका घरधनी सुवर्ण लालचन उ समय मार्फाका मुखिया अदम नारायणका ५औं पुस्ताका उत्तराधिकारी हुन्। कावागुची घरमा उनले सुत्ने गरेको खाट, बस्ने कुर्ची, पूजापाठका सामान, तिब्बती धार्मिक पुस्तक र पूजा गर्दा बजाउने सामानलगायत अत्यन्तै पुराना ऐतिहासिक सामान जीवितै छन्। कावागुची निवासमा उनले प्रयोग गरेका सामग्रीलगायत थकाली संस्कृति झल्कने भाडा वर्तन र भेषभुषा सजाइएका छन्। कावागुचीको पूजा कोठामा सयौं तिब्बती बौद्ध सूत्रका पुस्तक संग्रहित गरिएको सुवर्णले बताए।

पर्याप्त प्रचारप्रसार हुनसके जापानिजका साथै अन्य पर्यटक कावागुची होम्स आउने सुर्वणको दाबी छ। जिल्लामा यातायातको विकाससँगै कावागुची बसेको घर हेर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको सुवर्णले जानकारी दिए। कावागुची होम्सलाई ऐतिहासिक संग्रहालय बनाउने लक्ष्य रहेको सुवर्णको भनाइ छ। जापानिज पर्यटकले कावागुचीको इतिहास खोज अनुसन्धानका लागि आउने गरेको बताए। पछिल्लो समय इकाई कावागुचीका पछिल्ला उत्तराधिकारीले कावागुची बसेको घरको खोजी गर्न थालेको उनले खुलाए। सुवर्ण लालचनले एक सय वर्ष पुरानो पुख्र्यौली सम्बन्ध जीवित राख्न कावागुचीका उत्तराधिकारीसँग मितेरी साइनो लगाएका छन्। कावागुची उत्तराधिकारीले पुर्खा बसेको घरको स्तरोन्नति गर्न सहयोग गर्ने बचनसमेत दिएको लालचनले खुलाए।

भिक्षु कावागुचीकै ऐतिहासिक सम्बन्धका कारण जापानिज दूतावासले मार्फा गाउँको आर्थिक विकासमा सहयोग गर्दै आएको सुवर्णका छोरा फिरोज लालचन बताउँछन्। उनका अनुसार दूतावासले कालिगण्डकी नदी नियन्त्रण तथा मार्फा सामूदायिक भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो।

को थिए इकाई कावागुची ?       

नेपालको पर्यटन विकास जतिखेर सुरु भयो, त्यतिबेला जापानिज जैन भिक्षु इकाई कावागुची भारत हुँदै नेपाल पसे। बौद्ध धर्म प्रचार तथा तिब्बती बौद्ध सूत्रको ज्ञान प्राप्त गर्ने शिलशिलामा सन् १८९५ ताका सुटुक्क नेपाल पसे। यसपछि उनी सन् १९०० ताका पैदल यात्रा गर्दै मुस्ताङको मार्फा गाउँ आइपुगे।

इकाई कावागुची जापानको ओसाकाको साकाई सहरमा जन्मिएका एकाई ओबाकु समुदायका जैन भिक्षु थिए। भिक्षु कावागुची नेपाल र तिब्बत प्रवेश गर्ने पहिलो जापानिज पनि हुन्। नेपालको प्राकृतिक सौन्दर्यताबारे लेखिएका इकाई कावागुचीका दर्जनौं पुस्तकले नेपालको पर्यटन विकासमा उत्तिकै योगदान दिएको छ।

जापानिज–चिनी अनुवादको बौद्ध धर्म सूत्र अपूर्ण सम्झँदै मूल ग्रन्थको खोजी गर्दै त्यस समय कावागुची भारत पसे। भारत पसेका उनले तिब्बती भाषा सिक्न थाले। तिब्बती भाषा पढ्दै गरेका इकाई कावागुची ल्हासामा अभ्यास गरेको चिनियाँ भिक्षु हुँ भन्दै ढाँटेर नेपाल पसेका थिए। तिब्बत जाने लक्ष्य बनाएका कावागुचीले उपयुक्त बाटो नेपाललाई रोज्दै पोखरा हुँदै मुस्ताङको मार्फा आइपुगे।

कावागुची मुस्ताङमा लुकिछिपी सुटुक्क आइपुगे। बौद्ध भाषा ग्रन्थ लिपीको खोजीमा भौतारिएका कावागुचीलाई राम्ररी बौद्ध भाषा ज्ञानको अभाव थियो। पर्याप्त तिब्बती भाषाको ज्ञान नभएकाले बौद्ध सूत्रको ज्ञान प्राप्त गर्न तिब्बत प्रस्थान गर्न चाहन्थे। इकाई कावागुची अदम नारायणकै एक घरमा ३ महिनासम्म तिब्बती भाषा सिक्न बसे। उनलाई सोही गाउँनजिकैको अर्को गाउँ छैरोका एक लामाको सहयोगमा तिब्बती भाषा सिक्न थाले। कावागुची हरेक दिन तिब्बती बौद्ध सूत्र पढ्थे।

३ महिनासम्म मार्फामा बसेर तिब्बती बौद्ध सूत्रमा पोख्त बनी कावागुची मार्च १२ मा मार्फा छोडी तिब्बततर्फ हानिए। डाँडाकाँडा, भञ्याङको बाटो पार गर्दै कठिन पहाडी हिमालको पश्चिम डोल्पा र पवित्र स्थान शे गुम्बा हुँदै कावागुची तिब्बत पुगे। तिब्बतमा उनी ३ वर्ष बिताई बौद्ध सूत्रको पूर्ण ज्ञान प्राप्त गरी आफ्नै देश फर्किएको शिलालेखमा वर्णन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.