विप्लवका दुई जिल्ला इन्चार्जसहित ६ कार्यकर्ता पक्राउ
विराटनगर : प्रदेश १ का विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा प्रतिबन्धित नेकपाका ६ जना नेता/कार्यकर्ता पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालय सहित अन्य स्थानमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा आइतबार एकैपटक ठूलो संख्यामा प्रहरीले विप्लव कार्यकर्ता पक्राउ गरेको हो ।
प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार उनीहरूलाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरिएको हो ।
यस्तै प्रहरीले साउन ३० गते अर्जुनधारा नगरपालिका–३ बस्ने ५० वर्षीय प्रेम चापागाईँलाई पक्राउ गरेको थियो । चापागाईँ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।
यससँगै झापा प्रहरीले जिल्लाभरबाट अहिलेसम्म विप्लव समूहका २३ जना नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।
गत साउन २७ गते सोमबार बिहान साढे चार बजे विप्लवका कार्यकर्ताले बिर्तामोडको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको थियो । त्यसपछि प्रहरीले विप्लवका कार्यकर्ताको खोजिलाई अझै तिब्रता दिएको थियो ।
बिर्तामोड र भद्रपुर नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बेचेको भन्दै बम विस्फोट गराएको विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मनिषले स्थानीय सञ्चारकर्मीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।