निजी लगानीमा ५६० मेगावाट

निजी लगानीमा ५६० मेगावाट

काठमाडौं : करिब दुई दशकको अवधिमा निजी क्षेत्रको लगानीमा नेपालमा पाँच सय ६० मेगावाट बिजुली उत्पादन भएको छ। राष्ट्रिय प्रसारण लाइनमा निजी क्षेत्रका ८३ वटा आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख छ। निजी लगानीमा २०५७ असारदेखि हिमाल पावरले उत्पादन गरेको खिम्तिखोला जलविद्युत् आयोजनादेखि गत वैशाखबाट राष्ट्रिय प्रसारणमा जोडिएको साल्मानीदेवी हाइड्रोपावरको कपादी गाडसम्मको बिजुली उत्पादन सुरु भएको छ।

निजी क्षेत्रका एक सय २० वटा आयोजना निर्माणाधीन छन्। त्यसबाट २६ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ। आर्थिक स्रोतको जोहो भइसकेका यस्ता आयोजना निजी ऊर्जा उत्पादबाट निर्माण भइरहेका र धमाधम अगाडि बढिरहेका छन्। निजी क्षेत्रले निर्माण घोषणा गरेका र विभिन्न चरणमा रहेका एक सय ३७ वटा आयोजनाबाट २८ सय ६९ मेगावाट बिजुली उत्पादन हुने तथ्यांक छ।

कर्मचारीलाई प्रोत्साहन भत्ता

विद्युत् प्राधिकरणले आव २०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ नाफा गराउने आफ्ना कर्मचारीलाई प्रतिव्यक्ति सात हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता दिएको छ। प्राधिकरणको आइतबार राजधानीमा सम्पन्न ३४ औं वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले सबै कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको जानकारी दिए।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका पुनले प्राधिकरणलाई अन्य सरकारी संस्थानको तुलनामा अब्बल बनाउने उद्घोष पनि गरे। उनले भने, ‘समग्र सरकारी संस्थानमध्ये प्राधिकरणलाई छिट्टै एक नम्बरको बनाउँछौं।’ यसका लागि प्राधिकरणले गर्ने प्रगति र लोभलाग्दो नाफासहितको उत्कृष्ट व्यवस्थापन नै प्रमुख हुने उल्लेख छ।

मन्त्री पुनका अनुसार गत आवमा सात अर्ब २० करोड रुपैयाँ नाफा गरेको यो संस्थाले चालु आवमा साढे आठ अर्ब रुपैयाँ खुँद मुनाफा कमाउने लक्ष्य छ। कर्मचारीले भनेजस्तै लक्ष्य बढाउन पनि सकिने जानकारी उनले दिए।

उनले प्राधिकरणको उपलब्धि गौरवको विषय भएको बताए। प्राधिकरणले पछिल्ला तीन वर्षदेखि गरेको निरन्तर नाफाका कारण यसको सञ्चित नोक्सानी घटेको छ। प्राधिकरणले ३४ अर्ब रुपैयाँ सञ्चित नोक्सानी रहेकामा अहिले १५ अर्ब रुपैयाँमा झरिसकेको छ। अबको केही वर्षमा प्राधिकरण सञ्चित नाफामा जाने उनको भनाइ छ।

निजी लगानीका एक सय २० वटा आयोजना निर्माणाधीन छन्। त्यसबाट २६ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ।

विद्युत् उत्पादन बढेपछि अब आयात पनि कम हुँदै जाने र आगामी दुई वर्षमा नेपाल पूर्णरूपमा विद्युत्मा निर्भर हुनेछ। त्यसपछि हरेक क्षेत्रले मागेजति बिजुली दिन सकिने पनि पुनको भनाइ छ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले विद्युतको खपत बढाउनु अबको प्रमुख चुनौती भएको बताए। उनले भने,‘ नेपालमा लोडसेडिङ अहिले इतिहास भइसकेको छ, अब फर्केर पनि लोडसेडिङ भोग्नुपर्ने छैन।’ अब नेपालले नै विद्युत् उत्पादन बढाइरहेको छ। यो अवस्थामा अब नेपालले भारतीय बजार खोज्नुपर्नेछ। भारतीय बजारमा नेपाली बिजुली निर्यात गरेर अब नेपालले विस्तारै पहुँच बढाउने पनि सचिव घिमिरेले बताए।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादन बढिरहेको र अबको आवश्यकता भनेको विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन भएको बताए। विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न, खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्न र आन्तरिक खपत बढाउन आवश्यक रहेको घिसिङको भनाइ छ।

कार्यक्रममा प्राधिकरण गत आव विद्युत् चुहावट १५.३२ प्रतिशतमा झार्न सफल भएको जानकारी दिइयो। आव ०७४/७५मा २०.४५ प्रतिशत रहेको चुहावट गत आवमा ५.१३ प्रतिशत बिन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको छ। यसका कारण पनि प्राधिकरणको खुद नाफा बढेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.