सत्ताको आडमा विभेद गरेको भन्दै दाङका शिक्षक धर्नामा
दाङ : सत्ताको आडमा शिक्षकलाई भेदभाव गरेको भन्दै नेपाल शिक्षक संघले शिक्षा विकास तथा समन्वय इकाइ दाङको कार्यालयमा धर्ना दिएका छन्। सरुवा, प्रधानाध्यापक नियुक्तिलगायतका सेवा सुविधाबाट बञ्चित गरेको भन्दै सोमबार उनीहरु धर्नामा बसेका हुन्।
शिक्षकहरुले बिहान १० बजेदेखि कार्यालयको मूल ढोकामा धर्ना दिएपछि सेवाग्राही कार्यालयभित्र जान पाएका छैनन्। नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतले शिक्षा विकास तथा समन्वय इकाइ, गाउँ र नगर शिक्षा समितिले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकलाई भेदभाव गरेको भन्दै त्यस्ता कार्यको विरुद्ध धर्नामा बस्न बाध्य भएको बताए।
सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिविधिप्रति आपत्ती र खेद प्रकट गर्दै शिक्षाजस्तो अति संवेदनशील र राजनीतिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनीतिक हस्तक्षेप नगर्न संघले अनुरोध गरेको छ।
शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपले आश्चर्यचकित पारेको भन्दै विज्ञप्तिमा यस्ता विकृति र विसंगतिलाई अन्त्य गर्न जस्तो सुकै कडा कदम चाल्न पनि नेपाल शिक्षक संघ तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
हस्तक्षेविरुद्ध विरोध कार्यक्रम गर्न बाध्य भएको जानकारी गराउँदै विज्ञप्तिमा आफूहरुको विरोध कार्यक्रमले शिक्षा क्षेत्रमा देखापर्ने असुविधाप्रति सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने उल्लेख गरिएको छ।आफूहरुको सशक्त विरोधमा सक्रियरुपमा सहभागी हुन नेपाल शिक्षक संघमा आवद्ध सम्पूर्ण शिक्षकलाई अपिल गरेको छ।