न्याउली चरीको विरह
न्याउली चराको जोडी एउटै रूखमा देख्न मुस्किल पर्छ। विरही खालको धुन निकाल्दा दुवै न्याउली चरा टाढाका अलगअलग रूखमा हुन्छन्।
रोल्पा : विरही बिम्बको रूपमा न्याउली चरा नेपाली समाजमा परिचित छ। मनको विरह पोख्ने खाले नेपाली लोकगीत र संगीतमा न्याउली चराको प्रसंग जोडिएर आएको पाइन्छ। ‘न्याउली रुँदै के भन्छ, आधा सञ्चो आधा बिसञ्चो’ बोलको गीत सुनेकै छौं हामीमध्ये धेरैले।
फागनु, चैत र वैशाख महिनाको उजाड मौसममा न्याउली चराको विरही धुन सुनिन्छ। अन्य मौसममा न्याउली चराको आवाज सुनिँदैन। रोल्पा, रुकुमजस्तै पहाडी जिल्लामा फागुन, चैत महिनामा गहुँ, जौ बाली भित्र्याउने चटारो हुन्छ। उजाड र टन्टलापुर घाममा बारीको गहुँ, जौ स्याहार्दै गर्दा वल्लो पखेरा र पल्लो पखेराका अग्ला रूखमा न्याउली चराको धुन सुनिन्छ। जो निकै विरही खालको हुन्छ।
अचम्म लाग्दो यो छ कि, न्याउली चराको जोडी एउटै रूखमा देख्न मुस्किल पर्छ। विरही खालको धुन निकाल्दा दुवै न्याउली चरा टाढाका अलगअलग रूखमा हुन्छन्। अर्को आश्चर्य, दुवै न्याउली चराले एउटै आवाज (धुन) निकाल्दैनन्। एउटा न्याउली चराले ‘न्या हुँ !’ धुन निकाल्दा अर्को चराले ‘पख, पख !’ भन्ने शब्द भैंm धुन निकालेको जनविश्वास छ। यहाँ ‘पर्खनु’ शब्दको भावमा ‘पख’ शब्द प्रयोग गरिन्छ। न्याउली चराको विरहलाग्दो धुनको पछाडि एक रोचक कथा छ।
रोल्पाली पाको (ज्येष्ठ) पुस्ताको मुखमा न्याउली चरीको लोक कथा झुन्डिएको पाइन्छ। बारीको काममा व्यस्त पुरानो पाका मान्छे न्याउली चराधुन सुनेपछि पछिल्लो पुस्तालाई न्याउली विरहको लोककथा यसरी सुनाउँछन्, ‘सत्य युगमा एक परिवारमा सासू बुहारी थिए। सासूआमा कडा स्वभावकी थिइन्। कडा बुहार्तनमा हुर्किनु बुहारीको दिनचर्या थियो। बुहारीको एक छोरा जन्मिएको थियो। ऊ हुर्कंदै थियो।
फागुन, चैत महिनाको उराठलाग्दो मौसममा बुहारीलाई ती सासूआमाले बारीको काममा पठाइन्। बारीको सबै काम सकाएर मात्र फर्किनू भन्ने सासूआमाले उर्दी लगाइन्। दूधे छोरालाई घरकै झोलुंगोमा सुताएर बुहारी बारीको काममा निस्किइन्। यता बारीको काम सकाउन बुहारीलाई हम्मेहम्मे परेको छ, उता दूधे छोरा भोकले रुन थालिसकेको थियो। बोली नफुकेको दूधेछोरा रुन थाल्यो। बारीमा व्यस्त आमाले पर्ख, पर्ख भन्दै कामकै मेलोमा तल्लीन रहिन्। भोकले लखतरान परेको छोराले अन्ततः शरीरमा चराको पखेटा निकाल्यो। सुताएको झोलुंगोबाट उडेर ‘न्या हुँ, न्या हुँ’ भन्दै टाढा गयो।
बारीको काममा व्यस्त आमाको कानमा छोराको रुवाइ स्वर मधुर सुनियो। आमा मन झस्कियो। यसो हेर्दा, छोरा त उड्दै रूखको डालीडालीमा पुगिरहेको छ ! हतासमा आमाले पनि शरीरमा पखेटा हालेर छोरालाई पछ्याउन पुगिन्। तर, छोरा भेट्टाउन सकिनन्। समयमै आमाले दूध चुसाउन नआएको पीरमा जन्मिँदादेखि आमाले चुसाएको दस धारा दूध फिर्ता गर्ने मुडमा छोरा पुगेको थियो। दुधिलोको हाँगामा बसेर छोराले एकधारा दूध खन्यायो। भुरुरु उडेर खिर्राको रूखमा अर्को धारा दूध खनायो। एवं तरिकाले तिमला, बिरौलालगायतका रूखका हांगामा गएर दस धारा दूध खनायो। छोराको त्यो तरिका देखेर आमाको मन भक्कानियो। आमाले छोरालाई ‘पर्ख पर्ख’ भन्दै गए पनि अन्ततः छोराले आमालाई सराप्न पुग्यो।
रुँदै भोकले अलापविलाप गर्दा पनि दूध नचुसाउएको झोंकमा छोराले दूध मात्र फिर्ता गरेन्, गर्भदेखि नै आफ्नो शरीरमा आएको आमाको रगत खन्ने रूखको हांगामा गएर खनायो। त्यसपछि छोराले आमालाई सराप दियोे, ‘आमा अब तपार्इं र मेरो जिन्दगीमा देखादेख होस्। तर, भेट कहिल्यै नहोस् !’
यसरी आमा छोरा न्याउली चरा बन्न पुगे। त्यसैले अहिले पनि छोरा न्याउली चराले दूध खुवाउन आउनलाई आग्रह गर्दै, ‘न्या हुँ, न्या हँु ! शब्द धुन निकाल्ने गरेको जनविश्वास छ। त्यस्तै अर्को रूखको हाँगामा बसेर आमा न्याउली चरीले ‘पर्ख पर्ख’ भनिरहेको बूढापाका बताउँछन्। यहीँ वियोगान्त लोककथाले न्याउली चरा विरही बिम्ब बन्न पुगेको मान्न सकिन्छ।
जुनजुन रूखमा पखेटा हालेर उडेको छोराले दूध खनायो तिनै रूखको चोप दूध जस्तै हुने जनविश्वास छ। रगत खन्याएकाले खन्ने रूखको चोप रगतजस्तै रातो भएको विश्वास गरिन्छ। त्यहीँ सरापले न्याउली चरी र चरा कहिल्यै भेट हुँदैनन् भनिन्छ। एउटै रूखमा उनीहरू देखिन्नन् पनि। वल्लो र पल्लो पखेराको रूखमा धुन (स्वर) निकालेको पाइन्छ। सरापकै कारण आमा न्याउली चरी र छोरा न्याउली चराको कहिल्यै भेट नहुने जनविश्वास रहिआएको छ।
नेपालमा पाइने न्याउली चरासँग सायद कोही अनविज्ञ छैनन् होला। अंगे्रजीमा गे्रट बार्बेट भनिने चरासँगको वियोगान्त लोककथाले पक्कै एउटा युग र मानिसको विश्वास बोकेको छ। उल्लिखित लोककथा सुनेरै होला न्याउली चराको धुन एकहोरो ‘न्या हुँ, न्या हुँ’ र न्याउली आमा चरीको धुन ‘पख, पख’ भैंm सुनिन्छ।
साँच्ची आफ्नो सन्तान भोकाएको बेला दूध चुसाउन नपाउँदा एउटी आमाको मन कस्तो हुन्छ होला ! हामी कल्पना पनि गर्न सक्दैनौं। र, भोक लागेका बेला सानोमा बच्चाले रुनु सिवाय के नै गर्न सक्लान र भैंm लाग्छ। तर, सत्य युगमा आमाले दूधे छोराको भोक मेटाउन विलम्ब गर्दा सराप व्यहोर्नु परेको लोक कथा कुन युगबाट अलिखित रूपमा पुस्तौं पुस्तासम्म हस्तान्तरण हुँदै आयो ? निकै सोचनीय छ।