सारंगी बजाउँदा दुःख पाएको छु
भाइबहिनी हो, तिमीहरूले मलाई धेरै पटक टेलिभिजनमा देखेका छौ होला। म आफूलाई विशेषगरी तिमीहरूजस्तै बालबालिकाका लागि जन्मिएको कलाकार भन्न रुचाउँछु। किनभने तिमीहरूले गर्ने क्रियाकलाप र रहनसहन नै मेरो गीतका विषयवस्तु बन्ने गरेका छन्। अनि रिसाउनेलाई कसरी फकाउने, रोएकालाई कसरी हँसाउनेलगायतका विषय मेरो कलाकारिता जीवनमा आउँछन्। तिमीहरूसँग आज मनको कुरा साँट्न पाउँदा धेरै खुसी लागेकोे छ।
मेरो वास्तविक नाम कमल अर्याल हो। मेरो जन्म २०३० साल साउन १६ मा प्युठानको भिंग्रीमा भएको हो। चार दाजुभाइ र तीन दिदीबहिनीमध्ये म कान्छो छोरो हुँ। प्युठानमा जन्मिए पनि मेरो बाल्यकाल दाङमा बित्यो। म तीन वर्षको हुँदा बुवा बित्नुभयो र आमा हामी सबैलाई लिएर दाङ आउनुभयो।
म सानैदेखि चकचके स्वभावको थिएँ। भनौं, एकदमै उट्पट्याङ खालको थिएँ। हुन त सानोमा प्रायः सबै केटाकेटी यस्तै नै हुन्छन्। अहिले राम्रो छु या छैन थाहा छैन। तर, म अझै पनि अलि चञ्चले पक्कै छु। अलिअलि त तिमीहरू पनि छौ होला !
पाँच वर्षको हुँदा विद्यालय जान थालेँ। घोराहीको मसिनामा घर नजिकै कक्षा ३ सम्मको प्राथमिक विद्यालय थियो। त्यहीँबाट मेरो अक्षर चिन्ने काम सुरु भयो। स्कुल जाँदा सुरुवाल र भोटी (दौरा सुरुवाल) लगाएर जान्थेँ। यस्तो पहिरन देखेर सबै साथीहरूले मलाई पहाडबाट आएको भनेर हेप्थेँ। त्यतिबेला नराम्रो लाग्थ्यो।
कक्षा कोठामा पनि बस्नलाई बेन्च हुँदैन्थ्यो। दरी बिछ्याएर पढिन्थ्यो। माथि छानोमा दुलो परेको हुन्थ्यो। मलाई सबैले त्यहीँ बसाल्थे। घाम आउँदा घामले पोल्थ्यो र पानी पर्दा रुझ्थेँ। तर साथीहरू मलाई हेरेर हाँस्थे। अनि म रुन्थेँ।
साथीहरूले जे भने पनि आफ्नो सुरमा हुन्थेँ। मेरो चञ्चले स्वभावले पनि होला, साथीहरू मसँग मिल्न थाले। कक्षा २ मा पढ्दा स्कुलमा नयाँ छाना बनाउन टिन र इँटा ल्याइएको थियो। स्कुलका लागि ल्याइएको इँटाबाट कसले ठूलो घर बनाउँछ भनेर बनाउने र फुटाउने खेल खेल्थ्यौं। सरहरूले लखेट्नु हुन्थ्यो। यस्तै उट्पट्याङ गर्दै कक्षा ३ सम्म पढियो।
घरमा पनि त्यस्तै उट्पट्याङ गर्थें। दिदीबहिनीलाई एकदमै सताउँथेँ। मेरा दिदी बहिनीहरूले माटोको खुत्रुक्केमा पैसा जम्मा गर्थे। म चाहिँ सियोले गोभेर निकाल्थेँ। करिब एक वर्षसम्म उनीहरूले राख्ने मैले निकाल्ने काम जारी रह्यो। त्यो पैसाले फिल्म हेर्न जान्थेँ। एक वर्षपछि दिदीहरूले अब यो खुत्रुक्के हल्लिदैन त भरियो होला भनेर फुटाउन खोजे। फुटाउँदा पैसा नै थिएन। आफूले वर्षभरि जम्मा गरेको पैसा नदेखेपछि उनीहरू एकदमै रोए। आमा पनि रुनु भयो। त्यो दिन सम्झिँदा दुःख लाग्छ। जीवनमा धेरै ठूलो गल्ती गरेँ जस्तो लाग्छ।
कक्षा ४ मा भर्ना हुन रजिना माध्यमिक विद्यालयमा गएँ। यो स्कुलमा एकदमै राम्रो पढाइ हुन्थ्यो। अहिले पनि हुन्छ। मेरो रुचि भने पढाइमा पटक्कै थिएन। स्कुल जाने डरले अनेक बहाना बनाउँथेँ। आमा अहिले पनि भन्नुहुन्छ, म स्कुल जाने डरले सुरुवालको इजार निकालेर आगोमा फालिदिन्थेँ रे ! सम्झिँदा अहिले पनि हाँसो लागेर आउँछ। त्यति मात्र कहाँ हो र साथी साथी मिलेर एकअर्काको टिफिन चोरेर खान्थ्यौं।
भाइबहिनी हो, तिमीहरूले यस्तो नगर्नु है। यस्तो गर्नु राम्रो बानी होइन। अहिले आफूले गरेको क्रियाकलाप सम्झेर एकछिन रमाइलो भए पनि किन गरे हुँला भनेर पश्चाताप पनि लाग्छ। तर एउटा कुरा बुझ है, सफल हुनका लागि आफूलाई मन लागेको र रुचि भएको काम निरन्तर गर्नुपर्छ। मैले सारंगी र मादल बजाएको कारण यहाँसम्म आइपुगे र आज तिमीरूसँग यसरी कुरा गर्न पाइरहेको छु। मैले सारंगी बजाउँदा एकदमै दुःख पाएको छु।
२०५४ सालतिरको कुरा हो। म पढाइसँगसँगै मादल सारंगी बजाउन थालेँ। तर, मेरो समाज र घरमा मैले सारंगी बजाएको मन पराउँदैनथे। कारण हो म बाहुन परिवारमा जन्मिनु। किनभने समाजमा बाहुनको छोरा सारंगी र मादल बजाउनु हुँदैन भन्ने मान्यता थियो। यद्यपि अहिले पनि छ। त्यसैले मेरी आमाले मलाई घरमा बस्न दिनुभएन।
मलाई यो कुराले केही असर गरेन। गाउँमा एकजना श्रीधर पुन भन्ने दाइले सारंगी बजाउँथे। म दिनभरि उहाँको पछि पछि लाग्थेँ। एकदिन उनै गाइने दाइलाई ‘एउटा सारंगी मलाई पनि ल्याइदिनुस् न, म पनि बजाउँछु’ भने। उहाँले भोलिपल्ट नै ल्याइदिनुभयो। त्यो सारंगी किन्न आमाको पैसा चोरेँ।
यसरी सारंगी बजाउँदा बजाउँदै ममा कतिबेला कलाकारिताको भूत चढिसकेछ पत्तै पाइनँ। कक्षा ८ मा फेल भएँ। मलाई फेल भएकोमा पनि कुनै चिन्ता थिएन। त्यसपछि स्कुलमा हुने कविता, नाटक, मादल, सारंगी आदि सबैमा भाग लिन्थेँ। यसरी सबैमा प्रतिभाशाली भएँ। यसै क्रममा हास्यव्यंग्यमा पनि काम गर्न थालेँ। विस्तारै कमल गाउँलेको नाटक भनेपछि चर्चा हुन थाल्यो। गाउँको ठाउँठाउँमा देखाउँथ्यौँ। गाउँमा स्कुलमा सबैले राम्रो भन्न थाले। यसैले मलाई कलाकार बन्न प्रेरणा दियो।
कलाकारिता र पढाइलाई सँगसँगै लैजाने क्रममा जसोतसो २०४८ सालमा मैले एसएलसी पास गरेँ। रत्नराज्य कलेजबाट संगीत पढ्छु भनेर काठमाडौं आएँ। कलाकारितामै निरन्तरता दिनाले पढाइ राम्रोसँग अगाडि बढाउन पाइनँ। हरेक वर्ष गाईजात्रा निकाल्न थालेँ। मैले गाईजात्रा निकाल्न थालेको १९ वर्ष भयो। तर, जे भने पनि आखिरमा चाहिने त पढाइ नै रहेछ। भाइबहिनी हो, तिमीहरूले अरू जे काम गरे पनि पढाइ चाहिँ नछोड्नू है।
(कलाकार गाउँलेसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)