मुस्ताङका बगैँचामा लटरम्मै स्याउ (भिडियो)
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङका स्याउ बगानमा अहिले स्याउ लटरम्म छन्। पर्यटनपछि मुस्ताङको अर्को पहिचान स्याउ यहाँका किसानलाई आर्थिक उपार्जन गर्न बलियो भरोसा हो।
मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउको उत्पादन हुन्छ। जिल्लाको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बढी स्याउ खेती गरिएको छ।
गत वर्ष मुस्ताङमा ५८ सय मेट्रिक टन स्याउ फलेको थियो। मुस्ताङमा करिब १२ सय हेक्टरमा स्याउको बोट लगाइको छ। तर ४५० हेक्टरमा लगाइएको बोटले मात्र उत्पादन दिने गरेको शितोष्ण वागवानी विकास केन्द्र मार्फाका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए।
व्यापारीले असोज महिनामा स्याउ टिप्न थाल्छन्। थासाङको टुकुचे, घरपझोङको मार्फा, चिमाङ, छैरो, स्याङ, जोमसोम, ठिनी र वारागुङ मुक्तिक्षेत्रको कागबेनी, झोङ, मुक्तिनाथ, झारकोट, खिङ्गा, छुसाङ, फल्याक, तिरी, पाक्लिङ र लुप्रा लगायतका स्थानमा मुख्य स्याउ उत्पादन हुन्छ।
यो पनि पढ्नुस्ः यसरी बन्छ मुस्ताङको 'मार्फा ब्रान्डी'
स्याउको विरुवा उत्पादन गर्ने वागवानी विकास केन्द्रमा रेड डेलिसियस, रोलय डेलिसियस, रिचारेड डेलिसियस, गोल्डेन डेलिसियस फुजी, साउने चुकुराका जातका बेर्ना उत्पादन हुन्छ।
मुस्ताङका खेर गएका सरकारी खाली जग्गामा पनि सामुदायिक स्याउ खेती गरिएको छ। फ्यान्त्याङ सामुदायिक, फोला सामुदायिक, ग्रीन ताङ्वे र टुकुचेमा सामुहिक स्याउ खेती गरिएको छ।
यसै वर्षदेखि लोघेकरको घमीमा निजी जग्गामै सामुहिक स्याउ खेती सुरु भएको अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। उपल्लो मुस्ताङको लोमान्थाङ पनि स्याउ उत्पादनको परीक्षण भइरहेको छ।
चिसो भूगोलमा उत्पादन हुने मुस्ताङको स्याउ यहाँ घुम्ने पर्यटकको मुख्य रोजाई हो।
मुस्ताङमा उत्पादन हुने ७० प्रतिशत स्याउ पोखरा र काठमाडौं निर्यात हुने प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना स्याउ जोन कार्यालय मुस्ताङले जनाएको छ।
भिडियोः