माथिल्लो मर्स्याङ्दी 'ए' को उत्पादन बन्द
बेंसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका-७ ङादीस्थित सिस्नेरी खोलामा आएको बाढीले क्षति पुर्याउँदा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी-ए जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
बाढीले आयोजनामा लाखौंको क्षति पुर्याएको छ। आइतबार बेलुका ५ बजेतिर एक्कासी बाढी आउँदा जलविद्युत आयोजनाका कामदार र स्थानीय ज्यान बचाउन सफल भएका थिए। बाढीले आयोजनाको इन्टेकमा क्षति पुर्याएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए। उनका अनुसार ड्यामको गेट, डिसेन्डरबाट सुरुङ जाने बाटोमा ढुंगा, गिटी, माटो थुप्रिएको छ। आइतबार बेलुकादेखि आयोजनाको विद्युत उत्पादन बन्द भएको उनले बताए।
सिस्नेरी खोलामा बाढी आएपछि ङादीहुँदै बाहुनडाँडा र हिमाली जिल्ला मनाङ जाने सवारी साधन चल्न सकेको छैन। खोलामा ठूला-ठूला ढुंगा थुप्रिएकाले पन्छाउन असहज भएको आयोजनाले जनाएको छ। वडा नं. ७ का अध्यक्ष युवा घलेले बाटो खुलाउने प्रयास भइरहेको बताए।
बाढीले डिलबहादुर गुरुङको कुखुराको फर्म पुरेको स्थानीय लक्ष्मी घलेले बताए। फर्ममा रहेका ६ सय लेयर्स कुखुरा बगाएको छ। बाढीले जलद्यिुत आयोजनाका दुई कामदारको मोटरसाइकल समेत पुरेको छ।