आकर्षक वनभोजस्थल बन्दै 'लभ्ली पार्क'
धनगढी : कैलालीको जोशीपुर गाउँपालिका-२ मा अवस्थित शिवशंकर सामुदायिक वन। चारैतिर ठुलठूला सिसम र सिमलका रुख छन्। यही सुन्दर सामुदायिक वनको बीच भागमा सुन्दर पार्क निर्माण गरिएको छ।
पूर्व-पश्चिम राजमार्गबाट १६ किलोमिटर टाढा छ।बजारको भीडभाड, कोलाहल र व्यस्तताबीच एक छिन आराम गर्नका लागि 'लभ्ली पार्क' गजबको स्थान बनेको छ।
शान्त वातावरणमा रहेको 'लभ्ली पार्क' मनोरञ्जन गर्नेका लागि मज्जाको स्थान बनेको छ। खाद्यान्न बालीका लागि राम्रो मानिएको जोशीपुर गाउँपालिकामा ठुल-ठूला तराईका फाँटसँगै जोडिएको सामुदायिक वनको बीचमा लभ्ली पार्क अवस्थित छ ।
बजारबाट टाढा भएको उक्त पार्क प्रेमिल जोडीका लागि मात्रै हैन, परिवारसँग रमाउनेका लागि पनि उत्तम विकल्प बनेको छ ।पछिल्लो समय वनभोज जानेहरुको रोजाइमा यो स्थान परेको छ।
८० प्रतिशत थारु समुदाय भएको गाउँपालिकामा विभिन्न थारुका संस्कृतिका बारेमा थाह पाउन सकिने स्थानीयहरुको भनाई छ ।
पहिलेदेखि नै स्थानीयले संरक्षण गर्दै आएको पार्कमा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा डेढ लाख रुपैयाँमा सामान्य फूल बगैचा लगाउन काम भएको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बताए। पहिलो चरणमा सामान्य फूल रोप्ने र एक बोरिङ गाड्ने काम भएको उनले बताए।
गाउँपालिकामा पर्यटक भित्र्याउन पार्कले ठूलो भूमिका खेल्ने अध्यक्ष चौधरीले बताए।गाउँमा पर्यटक आउँदा रमाउने निश्चित स्थान चाहिने भएकाले गाउँपालिकाको लगानीमा उक्त पार्क निर्माण गरिएको अध्यक्ष चौधरीले बताए।