प्यूठानीका विजुली दु:ख : लोडसेडिङ हुँदैन, बत्ति बल्दैन
प्यूठान : विजुली दुस्खले प्यूठानी आक्रान्त पारेको छ। घरी आउने, घरी जाने विजुलीले उनीहरु हैरान छन्। १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत्त आयोजना जिल्लामै संचालित छ। तर, प्यूठानीका विजुली दुस्खमा कमि आएको छैन।
दैनिक २०÷२५ पटक विद्युत्त जाने गरेको प्युठानका उद्योगी व्यवसायी बताउँछन्। अनियमित विद्युत्त समस्या समाधानका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ।
‘अनियमित विजुलीले धेरै समस्या भयो’,प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले भने,‘नियमित आपूर्तिका लागि विद्युत्त प्राधिकरणलाई धेरैपटक भन्यौँ तर सुन्दैनन्।’
‘कि त घोषित लोडसेडिङ हुनुपर्यो होइन भने छिन छिनमा लाइन किन कट्छ’, कक्षपतीको प्रश्न छ। उनले उद्यम व्यवसाय गर्नका लागि राज्यले उचित वातावरण मिलाउन नसकेको गुनासो सुनाए । विद्यूत्त कार्यालयमा सम्पर्क गर्दा सिस्टमबाट गएको भन्ने रेडिमेट जवाफ सुन्ने गरेको उनको भनाइ छ ।
प्यूठान नगरपालिका-४स्थित विजुवारको शारदा बेकरी उद्योगका बसन्तराज पोखरेलले विजुली नियमित नहुँदा उद्योग संचालन गर्न धेरै समस्या भइरहेको गुनासो गरे। सम्बन्धित निकायलाई भरपर्दो विजुली आपूर्तिको व्यवस्था मिलाइदिन उनले आग्रह समेत गरिसकेका छन्। अनियमित विजुली आपूर्तिलाई नियमित बनाउन प्यूठान र स्वर्गद्धारी नगरपालिकाले प्रमुख जिल्ला अधिकारी मार्फत ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
‘प्यूठानमै उत्पादन भएको झिमरुक जलविद्युत्त आयोजना जिल्लाबासीको गाँससँग साटिएको छ’, प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले भने,‘विद्युत्त नियमित गराउन धेरैपटक आन्दोलन भए। उत्पादन गृहमै आगजानी भए। तर, नियमित विद्युत्त आपूर्तिलाइ ध्यान दिइएन।’
भोल्टेजकै समस्या
भोल्टेजमा कमी हुँदा नियमित विद्युत्त दिन नसकिएको झिमरुक जलविद्युत्त केन्द्र प्यूठानका प्रमुख श्याम थापा बताए। राष्ट्रिय प्रशारण लाइनबाट १ सय ३२ केभी भोल्टेजको विजुली आउनुपर्नेमा १ सय १४ भोल्टेच मात्र आइरहेको उनले बताए।
प्यूठान सहित रोल्पा र अर्घाखाँचीमा प्रशारण भइरहेको विजुलीमा समस्या आएमा नियन्त्रण गर्ने उपकरण झिमरुक पावर हाउसमा मात्र भएकाले पनि समस्या भइरहेको उनको भनाइ छ। दम्तीमा निर्माणधिन १३२ केभी क्षमताको सवस्टेशन संचालनमा आएपछि केही समाधान हुने आशा गरिएको उनी सुनाउछन्।
झिमरुक जलविद्युत्त केन्द्रबाट हाल ८ मेगावाट क्षमताको विद्युत्त उत्पादन भइरहेको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका पोल र लाइनका संरचनाहरु मापदण्ड अनुसार नहुँदा समेत विद्युत आपूर्तिमा समस्या भइरहेको सम्बन्धित निकायले बताएको छ।
पोलहरुको दुरी मापदण्ड अनुसार नहुनु, तारलाई रुखले छोएको, रुखमुनीबाट विद्युत्त विस्तार गरिँदा समेत समस्या भइरहेको थापाले बताएका छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जिल्लामा अव्यवस्थित बनेका पोल, तारहरुको व्यवस्थापनमा चासो देखाएको छैन्। धेरैजसो स्थानमा जिर्ण पोलहरु हटाइएको छैन्। रुखमै तार जोडिदा घाँस काट्ने क्रममा मरन्ठानामा एक युवतीको ज्यान समेत गइसकेको छ।