सुनको लेप लगाएर बुद्धको मूर्ति बिक्री गर्ने १६ लाख अवैध भारतीय रुपैयाँसहित पक्राउ
दाङ: दाङ प्रहरीले अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले दाङको अमिलियाबाट १५ लाख ७९ हजार पाँच सय ८० अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको जनाको छ।
भारतीय रुपैयाँसहित पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका- २ बस्ने ४० वर्षीय शसे विक, बारेकोट गाउँपालिका ८ जाजरकोट बस्ने २७ वर्षीय शिव सिङ्ग भनिने पूर्ण विक, तुलसीपुर उपमहानगर पालिका ५ बस्ने २७ वर्षीय हिरा विक, त्रिवेणी गाउपालिका- ९ बस्ने ४३वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका -२ बस्ने ३४ वर्षीय मनकुमारी खत्री पक्राउ परेका हुन्।
उनीहरुले बुद्धको मूर्तिलाई सुनको जलप लगाएर देउखुरीको राजपुर गाउँपालिका-७ को भैसाहीहुँदै भारतीय बजारमा लगेर बेचेको र त्यो पैसा लिएर नेपाल फर्किएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले १५ लाख ७९ हजार ५ सय असी भारतीय रुपैयाँ र ३ हजार ४ सय ९५ रुपैयाँ नेपाली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए।
राजपुर गाउँपालिकाको भैसाही नाकाहुँदै अमिलिया पुगेर बस चढ्ने क्रममा इप्रका अमिलियाको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।