पाथीभरा गोल्डकप : सुनसरी उपाधि नजिक
ताप्लेजुङ : एलाभेन एरोज सुनसरी ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा रेडहर्स इलामलाई २–० गोलले पराजित गर्दै सुनसरी उपाधि नजिक पुगेको हो।
सुनसरीको जितमा यानिक ओना र श्याम चौधरीले गोल गरे। सदरमुकामस्थित भानुजन माविको खेलमैदानमा भएको खेलमा ओनाले ४५औं मिनेटमा र दोस्रो हाफमा मैदान प्रवेश गरेका चौधरीले ९१औं मिनेटमा गोल गरेका थिए। पहिलो गोल गर्ने ओना दाउफिन्स क्यामरुनका खेलाडी हुन्। बुधबारको खेलको म्यान अफ दी म्याचसमेत बनेका उनले खेल अवधिभर तीन गोल गर्दै उच्च गोलकर्ताका रूपमा उभ्याएका छन्।
विपक्षी खेलाडीले फल गरेपछि १८ मिटर टाढाबाट प्रवेश दनुवारले हानेको फ्रिकिकलाई ओनाले गोल गरेका थिए। दोस्रो गोल भने हेडमार्फत भयो। रूपेश केसीले हानेको कर्नरलाई चौधरीले हेडमार्फत बललाई जाली चुमाएका थिए। सुनसरीले क्यामरुनका तीन, थ्रीस्टारका दुई, एनआरटी, मनाङ मस्र्याङ्दी र सरस्वतीका एक÷एक जना खेलाडीलाई टिममा सहभागी गराएको थियो।
पपुवा न्युगिनीका खेलाडी फोफोना र ट्याम्पेसहित एनआटीका तीन र जावलाखेलका चार खेलाडीलाई मैदान उतारेको इलामले गोल भने सकेन। इलामले गोल गर्ने अवसर पर्याप्त पाएको थियो। इलामका फोफोना र पासाङ शेर्पाको आधा दर्जन प्रहार सुनसरीका क्यामरुनी गोलरक्षक प्रिसोले विफल पारेका थिए।
बिहीबार दोस्रो सेमिफाइनलमा साविक विजेता रेडस्टार क्लब झापा र डाँगीहाट फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ।