पाथीभरा गोल्डकप : सुनसरी र झापाबीच उपाधि भिडन्त
ताप्लेजुङ : चौथो पाथीभरा गोल्डकपको उपाधिका लागि झापा र एलेभेन एरोज क्लब सुनसरी भिड्ने भएका छन्। झापाले डाँगीहाट क्लब मोरङलाई र सुनसरीले रेडहर्स क्लब इलामलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रेडस्टार क्लब झापाले डाँगीहाट क्लब मोरङलाई ४-३ गोलले पराजित ग¥यो। निर्धारित समयको खेल १-१ गोलको बराबरी भएपछि निर्णय टाइबे्रकरबाट गरिएको थियो। टाइबे्रकरमा रेडस्टारका पुजन उपरकोटी, योगेश गुरुङ, बुद्ध चेम्जोङ र निशान लिम्बुले गोल गरे। झापाका निरज बस्नेत र मनोज राईको प्रहार विपक्षी गोलरक्षक छिरिङ तामाङले बचाएका थिए।
डाँगीहाट मोरङका विक्रम लिम्बु, विक्रम धिमाल र विकेश लिम्बुले गोल गरे। डाँगीहाटका दिलेन लोक्ताम, मानबहादुर परियार र सुमिन मैनालीले पेनाल्टीमा गोल गर्न सकेनन्। तीनै जनाको प्रहार झापाका गोलरक्षक विवश चौधरीले बचाए। चौधरी नै खेलको म्यान अफ दी म्याच घोषित भए।
खेलको ४७औं मिनेटमा योगेश गुरुङको गोलबाट झापाले अग्रता लिएको थियो। तर उसको अग्रता पाँच मिनेट पनि टिकेन। ५३औं मिनेटमा विकेश लिम्बुले गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन।
फाइनल खेल शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु जन माविको मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार नगद पुरस्कार पाउने छन्।