कृष्णजन्माष्टमीमा कन्या पूजा किन गरिन्छ ?
काभ्रे : काभ्रेको बनेपामा विगत लामो समयदेखि निरन्तररुपमा श्रीकृष्ण जन्माष्टमीको दिन कन्या पूजा गरिएको छ। श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काभ्रेको ७ गाउँमा रजस्वला नभएका र बेल विवाह नगरिएका कन्यालाई विधिका साथ पुजन गरिएको हो।
यो वर्ष पनि कन्याको दीर्घायु र पुज्नेलाई शान्ति मिल्ने विश्वास राखेर ७ विभिन्न गाउँबाट आएका करिब हजारौं कन्यालाई एकैसाथ पूजा गरिएको व्यवस्थापन समितिले जनाएको छ। कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्या समेत मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माइकी कुमारी मानी पूजा गरेमा सार्थक हुने विश्वास छ।
गाउँलाई राक्षशबाट मुक्त गराउन सफल आराध्यदेवी चण्डेश्वरी देवीको रूपमा कन्याको पूजा गरिएको सनातन कन्या पूजा प्रवन्ध समितिले जनाएको छ।बनेपा सात गाउँमा कन्या पूजा १९५९ बाट सुरु भएको जानकारहरु बताउँछन्।
काभ्रेको बनेपामा नेवार समुदायले सुरु गरेको कन्या पुज्ने प्रचलन पछिल्लो वर्षमा जिल्लाको विभिन्न स्थानमा मनाउन थालिएको छ। बनेपा सात गाउँ मानिएको बनेपा, पनौती, नाला चौकोट, खड्पु र साँगामा एकै पटक धेरै कन्या पुजिने कन्या पूजा समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए।