पाथीभरा गोल्डकप : सुनसरीलाई उपाधि
ताप्लेजुङ : चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इलाभेन एरोज क्लब सुनसरीले जितेको छ। साविक विजेता रेडस्टार फुटबल क्लब झापालाई टाइबे्रकरमा ४-२ गोलले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो।
उपाधिसँगै सुनसरीले नगद तीन लाख ११ हजार एक सय ११ पाउँदा उपविजेता रेडस्टार फुटबल क्लबले एक लाख ५१ हजार एक सय ११ रुपैयाँमा चित्त बुझायो।
निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा रेडस्टार उपविजेतामा सीमित हुन पुग्यो। निर्धारित ९० मिनेटमा दुई पटक रेडस्टारले लिएको अग्रता जोगाउन सकेन। निर्धारित समयमा खेल २-२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइबे्रकरबाट लिइएको थियो। चारै गोल दोस्रो हाफमा भएको थियो। ६०औं मिनेटमा फ्रिकिकमार्फत योगेश गुरुङले गोल गर्दै खाता खोलेका थिए। ७३औं मिनेटमा इलाभेन एरोजका यानिक ओवानाले गोल गर्दै बराबरी गरेका थिए। मिलन राईले ८७औं मिनेटमा गोल गर्दा खेल सकिन एक मिनेट बाँकी रहँदा इलाभेन एरोजका सुशान्त तामाङले गोल गर्दै खेललाई बराबरी गरेका थिए। टाइब्रेकरमा ४-२ को जित निकाल्दै इलाभेन एरोजले उपाधि जित्यो।
प्रवेश दनुवार उत्कृष्ट खेलाडी बने। उनले १० हजार प्राप्त गरे। यसैगरी सुनसरीका प्रिसो उत्कृष्ट गोलरक्षक, विष्णु सुनुवार डिफेन्स, मिडफिल्डर, मिलन राई फरवार्ड, विश्वबन्धु पोखरेल प्रशिक्षक र यानिक ओना उच्चकर्ता बने।