संविधानसभा भंग होस् भन्ने अदृश्य शक्ति थिए : पूर्वराष्ट्रपति यादव
काठमाडौं : पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधानप्रति मधेसका असन्तुष्टिलाई सम्बोधन गर्न मुख्य दलको ध्यानाकर्षण गरेका छन्। मधेसका असन्तुष्टिलाई सम्बोधन गर्ने भनेर तत्कालीन एमाले र कांग्रेसका नेताले बाचा गरेको स्मरण गराउंदै डा. यादवले संविधान पूर्ण रुपमा लागु होस भन्ने आफ्नो चाहना रहेको बताए।
संविधानसभा सदस्य एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले लेखेको ‘ संविधान निर्माण : घटना र अनुभूति’ नामक पुस्तकको वमोचन गर्दै डा. यादवले यस्तो बताएका हुन्।
‘त्यत्तिखेर मधेसमा असन्तुष्टि थियो। संविधानको खुसीयालीमा मधेसमा पनि बत्ती बलोस भन्ने म चाहन्थे। असन्तुष्टिबीच पनि मधेसका दलले चुनावमा भाग लिए, म खुसी छु।’
संविधान जारी गर्दाताका राष्ट्रपति रहेका यादवले पहिलो संविधानसभा भंग होस भन्नेमा तत्कालीन समयमा राष्ट्रिय र अदृश्य शक्तिले दबाब दिएको खुलासा गरे। ‘शुदेखि नै राष्ट्रिय र अरु अदृश्य शक्ति संविधानसभा भंग होस भन्ने चाहन्थे। पार्टीहरु पनि संविधान ल्याउने भन्दा सत्तामा बढी केन्द्रित थिए।’
संविधानको मर्म र भावना अनुसार दलहरु क्रियाशिल नहुँदा अहिले पनि विभिन्न खाले समस्या देखा पर्न थालेको भन्दै डा. यादवले भने, ‘नेतृत्वले जनताका कुरा सुन्ने र समाधान खोज्नेतर्फ ध्यान दिएको देखिदैन। ७ दशकदेखिका उपलब्धिको रक्षाका लागि उनीहरुले ध्यान दिनैपर्छ।’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका समस्या पनि समाधान गर्न डा. यादवले दलको ध्यानाकर्षण गराए।