माथिल्लो मर्स्याङ्दी–‘ए’मा क्षति
बेंसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ ङादीस्थित सिस्नेरी खोलामा अचानक आएको बाढीले ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
बाढीले आयोजनाको इन्टेक, ड्यामको गेट, डिसेन्डरबाट सुरुङ जाने बाटो र पर्खाल भत्काएको हो। बाढीले क्षति पुग्दा आयोजना तीन दिनसम्म बन्द भएको थियो। मर्मत गरी आयोजनाबाट विद्युत् उत्पादन थालिएको जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए।
आयोजनामा क्षतिपुगेको भागमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको व्यूरो ६ ले मर्मत गरिरहेको छ। उक्त व्यूरोले आयोजनाका १३२ केभी राष्ट्रिय प्रसारण लाइन र पुलको निर्माण गरेको थियो। विद्युत् उत्पादन ३ दिन बन्द हुँदा ३ हजार मेगावाट(३० लाख युनिट) विद्युत् उत्पादन घाटा भएको अधिकारीले बताए।
अमेरिकी डलर प्रतियुनिट लागत ७ सेन्ट (७रुपैयाँ)मा विद्युत् प्राधिकरणसँग खरिद विक्री सम्झौता भएको थियो। आयोजनाबाट ३ दिन उत्पादन बन्द हुँदा कम्तीमा २ करोड १० लाख रुपैयाँ विद्युत् उत्पादन घाटा व्यहोर्नु परेको आयोजनाले बताएको छ। आयोजनाबाट विद्युत् उत्पादन भएको २ वर्षयता यो सबैभन्दा ठूलो क्षति हो।