दोस्रो भएँ की विद्यालय फेर्थें
आर्यन सिग्देल
म नेपाली चलचित्र क्षेत्रमा ‘चकलेटी’ र ‘रोम्यान्टिक’ हिरो भनेर चिनिन्छु। चलचित्र ‘किस्मत’बाट रजतपटमा पाइला टेकेदेखि नै मलाई दर्शकले रुचाउन थालेको मैले पाएँ। मेरो जन्म सुर्खेत जिल्लाको गोठीकाँडामा हिन्दु पण्डितको घरमा भएको हो। मेरो हुर्काइबढाइ र पढाइलेखाइ परिवारसँगै थानकोटमा भयो।
दीपेन्द्र प्रहरी स्कुलबाट मेरो शिक्षा प्रारम्भ भयो। एसएलसी मंगलोदय उच्च माविबाट पास गरेको हुँ। रत्न राज्य क्याम्पसमा व्यवस्थापन पढ्न भर्ना भएँ। तर अभिनयतिर लागेपछि पढाइलाई निरन्तरता दिन सकिनँ।
सुरुमा मलाई एकजना दाइले ‘तिमी राम्रो छौ र तिमीलाई नाच्न पनि आउँछ’ भन्दै फुर्काउनु भयो। म मक्ख परेँ। नाटक र चलचित्रमा काम गर्न थालेँ। काम गर्दै जाँदा अभिनयमा रुचि बढ्यो। मैले थुप्रै प्रेम कथानक चलचित्रमा अभिनय गरेँ। ‘मेरो एउटा साथी छ’, ‘कस्ले चोर्यो मेरो मन’, ‘के यो माया हो’, ‘नोभेम्बर रेन’, ‘नाइँ नभन्नु ल ३’ लगायतका मेरा धेरै चलचित्र हिट भए। यसले मलाई दर्शकमाज लोकप्रिय बनायो।
सडक नाटक ‘जनताको प्रजातन्त्र’ मा काम गरे पछि मलाई अभिनय क्षेत्रमा लाग्न प्रेरणा मिलेको थियो। पछि चलचित्र र थुप्रै म्युजिक भिडियोमा समेत मैले अभिनय गर्ने मौका पाएँ।
पछिल्लो समय मैले दर्शकका अगाडि नयाँ रूपमा प्रस्तुत हुन एक्सन, थ्रिलर चलचित्र खेलेँ। तर असफल भएँ। तर मैले हार मानेको छैन। असफलताबाट भाग्नु हुन्न जस्तो लाग्छ। मेरो बानी कस्तो छ भने म सफल हुँदा अरूलाई जस दिन्न र असफल हुँदा पनि अरूलाई दोष लगाउँदिनँ।
भाइबहिनी हो, मेरो विद्यालय जीवन निकै अनौठो थियो। १० कक्षासम्म आइपुग्दा मैले ६ वटा विद्यालय परिवर्तन गरेको रहेछु। पारिवारिक कारणले गर्दा विद्यालय बदलिरहनु पथ्र्यो। कक्षामा प्रायः म सधैं प्रथम नै हुन्थेँ र हुन चाहन्थेँ पनि। दोस्रो भएको मन पर्दैनथियो। कुनै कारण दोस्रो भए अर्कै विद्यालय भर्ना हुन्थेँ।
नौ कक्षामा हुँदा म दोस्रो भएको थिएँ। त्यतिबेला मलाई खुब रिस उठ्यो। विद्यालयले प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार र सम्मान दिएको थियो तर म त्यो लिन गइनँ। घरमा आमाले गाली गर्नुभयो। तर प्रथम हुन नपाएको रिस पछिसम्म रहिरह्यो।
प्रथम हुने चाहना सबै कुरामा राम्रो गर्नु पर्छ भन्ने मान्यता हो। यो बानी मलाई राम्रै लाग्छ। हाम्रो लक्ष्यसम्म पुग्न यस्तै सोचले मद्दत गर्छ। आफ्नो पेसामा सधैं अगाडि रहनुपर्ने सोच सबैसँग हुन्छ। मसँग पनि छ। सकारात्मक सोचले अगाडि बढे यो राम्रो बानी हो। किनकि मेरो यही जिद्दीपनले गर्दा म यो क्षेत्रमा टिकेको छु।
मेरो एउटा नराम्रो बानी थियो। म सधैं कक्षामा अन्तिम बेन्चमा बस्थेँ। साथीहरूसँग बसेर हल्ला गर्ने, रमाइलो गर्ने मेरो दैनिकी नै थियो। यसो हुँदा पनि पढाइ बिगार्ने काम मैले कहिले गरिनँ।
म शिक्षकले पढाएको ध्यान दिएर सुन्थेँ। पढाएका विषय तुरुन्तै टिप्न सक्थेँ। मलाई घोकेर पढ्नुपर्ने अवस्था कहिले आएन। शिक्षकले पढाएको विषय कहिल्यै नभुल्ने भएकाले म पढाइमा अब्बल थिएँ। परीक्षाको समयमा म तनाव लिएर बस्दिनथिएँ। पहिले नै पढेर आरामले बस्ने मेरो बानी थियो।
तर मलाई किताब खासै पढ्न मन लाग्दैनथ्यो। अझै पनि म किताब पल्टाएपछि निदाउँछु। चलचित्रको स्क्रिप्ट पढ्न पनि मलाई ठूलो सकस हुन्छ। मेरो भागमा परेका संवादहरू कण्ठ गर्ने बानी पनि छैन। चलचित्रको छायांकनकै समयमा मात्र म ‘अन द स्पट डाइलग’ भन्छु।
मेरो स्वभाव सानैदेखि चुपचाप बस्ने खालको छ। आमाले अहिले पनि भन्नुहुन्छ, ‘तँ जहिलै ठुस्स परेर एक्लै बस्छस्।’ तर मेरो बानी नै यस्तै छ। खासै घुलमिल हुन मन पराउँदिनँ। एक्लै बस्न रुचाउँछु। सानोमा घरमा बस्दा गीत गाउन सिक्ने र त्यसैमा रमाउने मेरो बानी थियो।
गायक बन्ने ठूलो रहर थियो। यो अहिले पनि मेरो सपना हो। तर मलाई थाहा छ म गायक बन्न सक्दिनँ। मेरो गलामा त्यो जादु नै छैन। त्यसैले सांगीतिक कक्षामा सामेल भइनँ। सायद मैले आफ्नो मूल्यांकन आफंै गरेँ।
म सानोमा खुब चलचित्र हेर्थें। मेरो परिवार नै चलचित्रको ‘फ्यान’ थियो। तर चलचित्रमा काम गरेको चाहिँ मन पराउनुहुन्न थियो। त्यतिबेला नेपाली चलचित्र क्षेत्र आज जस्तो विकसित थिएन। यो क्षेत्रलाई त्यति राम्रो मानिँदैनथियो। म यो क्षेत्रमा लागेको पनि परिवारलाई खासै मन परेन। रंगमञ्चमा काम गर्न थालेको पाँच वर्षसम्म बुबालाई भन्नै सकिन। पछि थाहा पाएर गाली गर्नु भएको थियो। तर मैले जानेकै यही हो। अब अरू गर्न सक्दिनँ भनेर म यसैमा लागेँ। उहाँ अझै पनि कहिलेकाहीँ असहमति जनाउनुहुन्छ तर मैले रोजेको क्षेत्रमा म खुसी छु।
कहिलेकाहीँ चलचित्रको कामले गर्दा घर परिवारलाई समय दिन सकिँदैन। यो मलाई थाहा छ। तर आजभोलि मेरो खुसीमा परिवार पनि खुसी छन्। म आफू असल मान्छे भएको ठान्छु। मेरो कहिल्यै पनि कसैसँग झैझगडा भएको छैन। म मनको कुरा बढी सुन्ने भएकाले अरूलाई कहिलेकाहीँ अप्ठ्यारो पर्यो होला। तर कसैको नोक्सान नगरेकाले उहाँहरू मबाट दुःखी हुन पर्छ जस्तो मलाई लाग्दैन।
मलाई जुन समय जे गर्दा ठीक हुन्छ जस्तो लाग्छ त्यस्तै गर्छु। म कुनै पनि काम गर्दा योजना बनाउँदिनँ। यो बानीले कहिलेकाहीँ अप्ठ्यारोमा पारेको छु। म यस्तो क्षेत्रमा काम गरिरहेको छु जहाँ हरेक समय तयार रहनुपर्छ। तर म लापरबाही गर्छु। यो मेरो नराम्रो बानी हो। अहिले मेरो सानो छोरा छ। ऊ निकै प्यारो छ। छोरा ठूलो भएपछि असल मान्छे बनोस् भन्ने चाहन्छु। बुबा भएको नाताले म उसको आत्मनिर्भर सोचलाई सधैं प्राथमिकता दिनेछु।
भाइबहिनी हो, म तिमीहरू पनि आत्मनिर्भर भएको हेर्न चाहन्छु। आफ्नो काम आफैं गर्ने, अरूलाई दुःख नदिने र धेरै पढेर असल मान्छे बन्ने सोच बनाउनुपर्छ। अहिले सबै जना स्वतन्त्रता चाहन्छन्। तिमीहरू जे काम गर्न पनि स्वतन्त्र छौ। तर आफ्नो स्वतन्त्रताको गलत फाइदा कहिल्यै नउठाउनु। यसले तिमीहरूकै जीवनमा असर पार्छ।
(नायक सिग्देलसँग सपना महर्जनले गरेको कुराकानीमा आधारित)