डेंगु नियन्त्रण बाहिर, भुँइमा राखेर उपचार हुँदै
उदयपुर : उदयपुरको कटारी नगरपालिकामा फैलिएको डेंगु नियन्त्रणभन्दा बाहिर गएको छ। दैनिक २-३ जनाको संख्यामा देखिएका बिरामी शुक्रबार एकै दिन ह्वात्तै बढेर १० जना पुगेका छन्।
पछिल्लो तथ्यांकअनुसार डेंगुका बिरामीको संख्या ४७ जना पुगेको छ।बिरामीको संख्या दिनदिनै बढ्दै गएपछि सरकारी निकायबाट भइरहेको प्रयाससमेत विफल हुँदै गएको छ।
नियन्त्रणका लागि कटारी नगरपालिकाले अभियान नै थालेपनि रोग नियन्त्रणमा आउन सकेको छैन्। बजार क्षेत्रका झाँडी, फोहोर तथा जमेका पानीको सरसफाइमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले भने, 'नियन्त्रणका लागि सबै तवरबाट कोसिस जारी छ, तर सोचेअनुरुप प्रयास सफल भइरहेको छैन्।'
मेयर श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, वडाध्यक्ष, सदस्य, चिकित्सक, नेपाली सेना, प्रहरी, सामाजिक अभियन्ता, कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता, उद्योग बाणिज्य संघ अभियानमा होमिएपनि सफलता हात पार्न मुस्किल परिरहेको उनले बताए। भन्छन्, 'नगरलाई सुरक्षित गर्न यतिका धेरै प्रर्चापम्प्लेट, व्यानर, स्कुल कार्यक्रम, झाँडी सरसफाइ, टायर तथा गमलामा जमेका पानी लगायतका अभियानहरु थालेका छौ, त्यहीं पनि रोकिएको छैन, कहाँबाट कसरी यस्तो महामारी फैलियो, पत्ता लगाउनै सकेका छैनौ।'
डेंगुले महामारीको रुप लिएपछि प्रदेश र केन्द्रिय सरकार मातहतका निकायलाई जानकारी गराउँदा समेत वेवास्ता गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश खकुरेलले जानकारी दिए। उनले भने, 'इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई जानकारी गरायौँ, सहयोग पनि मागेका थियौँ, सबै बजेट स्थानीय तहमा पठाई सकिएकाले उतै समन्वय गर्नु भन्ने जवाफ आएकाले केहि गर्न सक्ने अवस्था रहेन्।'
विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले भनेजस्तो सरकारी तवरमा चारवटा पक्षमा सुधार गर्न नसक्दा रोग नियन्त्रणमा चुनौती थपिएको उनले सुनाए। डा. प्याकुरेको भनाईलाई स्मरण गर्दै उनले भने, 'स्थानीय कर्मचारी परिचालन गर्ने अधिकार हामीमा छैन् । स्रोत साधनको प्रबन्ध पनि छैन । 'गोली स्थानीय निकायमा छ। बन्दुक प्रदेशमा। सिपाही संघमा छ। तीन तहबीच तालमेल छैन।'
पिउने पानीको अभाव भएको क्षेत्रमा डेंगुका बिरामी बढेका छन्। भाँडाकुँडामा पानी संकलन गरेपनि छोपिएको छैन। फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन। सडकका खाल्डाखुल्डी, पुराना टायर, गमलामा जमेको पानीमा लामखुट्टेले फुल पार्ने र रोग फैलाउने गरेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले विशेषगरी प्रदेश १ का बासिन्दालाई सताएको छ।
उपचार गर्ने डाक्टरलाई नै डेंगु रोग देखापरेपछि उदयपुरको कटारी आसपासका क्षेत्रमा भने त्रास अझ फैलिएको हो। जिल्लाभर डेंगुका बिरामी ४७ जना पुगेका मध्ये कटारी क्षेत्रबाट मात्रै ४२ जनालाई रोगको सक्रंमण देखापरेको हो।
गत आइतबार कटारी मोडेल पोलिक्लिनिक कटारीका डाक्टर गणेशलाल दासलाई डेंगुको सक्रमण देखापरेपछि त्यस क्षेत्रमा अझ त्रास फैलिएको हो।
अस्पतालमा डेँगुका बिरामीले भरिएपछि अस्पताल प्रशासनले भुँइमा राखेर उपचार गराइराखेको जनाएको छ। श्रावन २६ गते कटारी नगरपालिका-३ की नीलम खड्का र चित्रबहादुर दाहाललाई डेंगु एंटिजन पोजेटिभ फेला परेपछि संक्रमण फैलिँदै गएको कटारी अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. पवन शाहले बताए।
डेंगु देखेपरे लगत्तै नगरपालिकाले 'सर्च एण्ड डिस्ट्रोयर्ड' अभियान सञ्चालन गरेको छ। डेंगुको खोजी गर्ने र बिर्सजन गर्ने गरी 'सर्च एण्ड डिस्ट्रोयर्ड' अभियान सुरु गरेको उनले बताए। डेंगुको संक्रमण फैलिएसँगै कटारी नगरपालिकाले औषधि उपचारमा एकरुपता कायम गरेको छ। विपद्को बेलामा कालोबजारी हुनसक्ने भन्दै नगरपालिकाले स्वास्थ्य क्लिनिक, औषधि पसल र अस्पतालसँग समन्वयात्मक बैठक बसी एकरुपता गरिएको मेयर श्रेष्ठले बताए।
व्यापारीले डेंगु जाँच गर्ने किटलाई १ हजार ५ सय र जथाभावी औषधि चलाउने गरेको पाइयो त्यसैले त्यसका अन्त्यका लागि किटको ६ सय र ज्वरो आए पारासिटामोलबाहेक अन्य कुनै पनि एन्टिवायोटिक प्रयोग नगर्ने, कटारी अस्पतालमा जाँच तथा औषधिको निशुल्क वितरण गर्ने सहमति भई कार्यान्वय गरेको उनको भनाई छ। डेंगुको महामारी फैलिएपछि नियन्त्रणका लागि कटारी बजारमा रहेको झाँडी सरसफाइ गर्दै कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ।