किन आत्मबल गुमाउँदै छन् सेयर लगानीकर्ता ?

किन आत्मबल गुमाउँदै छन् सेयर लगानीकर्ता ?

काठमाडौं : तीन वर्षयता सेयर बजारका १५ लाख ६० हजार लगानीकर्ताको सम्पत्ति ५ खर्ब ३५ अर्ब रुपैयाँले घटेको छ। १२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन आइतबार बजार बन्द हुँदासम्म १५ खर्ब ३६ अर्बमा झरेको छ।

विश्लेषकले अझै एक वर्ष सेयर बजारको ओरालो गति नरोकिने बताएका छन्। यसले गर्दा सेयर लगानीकर्ता हतोत्साही हुन थालेको सेयर दलालको संस्था स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौड्याल बताउँछन्। निरन्तर घट्दै गएको कारोबारको ग्राफले सेयरमा लगानी गर्नेलाई हैरान पारेको छ। तीन वर्षदेखि ओरालो लागेको बजारमा अब धेरै लगानीकर्ताले थेग्न नसक्ने परिस्थिति बनेको सेयर लगानीकर्ता एवं विश्लेषक प्रकाश तिवारी बताउँछन्।

‘बैंक र सहकारीबाट ऋण लिएर सेयर किनेकाले अब थेग्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘कम्तीमा अबको डेढ वर्ष सेयरबजारमा पैसा हुनेले दुहूनो भैंसी छानेर किन्ने मौका पाउँछ।’ लगानीकर्ताको सम्पत्ति खुम्चिँदै जाँदा बजारमा पैसा अभाव चर्किएको उनले बताए। दुई वर्षअघि ५० लाख रुपैयाँ तत्कालै निकाल्न सक्ने मान्छेसँग अहिले ५ लाख पनि लगानी गर्ने सामथ्र्य नभएको उनले बताए।

सेयरको मूल्य बढेका कारण पुँजीगत लाभ लिएर जीवनस्तर उकासेका लगानीकर्तासमेत अहिले असहज अवस्थामा देखिएका छन्। यस्ता लगानीकर्ताले १२०० अंकमा नेप्से झरेपछि लगानी थप्ने कोसिस गरेको अहिले पुनः लगानी झिक्न थालेको ब्रोकरको भनाइ छ। बजार बढाउने प्रयासमा थपिएको लगानीले घट्दो प्रवृत्तिलाई उल्ट्याउन नसकेपछि चाँडो सेयर बेचेर ‘उम्किने’ मौका खोजिरहेका ती ब्रोकरले बताए। लगानीकर्ता तिवारी पनि बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले लगानीकर्ताको मनोबल खस्किरहेको बताउँछन्। बढ्दो बजारमा एउटै सेयरलाई कैयौंपटक धितो राखेर ऋण सिर्जना गर्ने र सट्टेबाजीमार्फत भाउ बढाउने गरिन्छ। यस्तो ‘खेलो’बाट सेयर बजारमा ह्वात्तै मूल्य बढाउने गरिन्छ।

पानीको फोकाजस्तै अस्थाथी वृद्धि हुने भएकाले त्यसरी भाउ बढ्ने अवस्थालाई फोका (बबल) भन्ने गरेका छन्। यसरी बबल सिर्जना गरेर केही लगानीकर्ताले ठूलो पुँजीगत लाभ आर्जन गर्छन्। घट्दो बजारमा भने यसरी नै साधारण लागनीकर्ताले धेरै सम्पत्ति गुमाउँछन्। अहिले पनि ठूला लगानीकर्ता बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिलाएर गाउँगाउँका नागरिकबाट सेयर बजारमा लगानी गराउन सके सेयरको भाउ बढ्ने आशामा छन्। यसो गर्दा सेयर बजारमा धेरैको पहुँच पुग्ने र ग्रामीण क्षेत्रका नागरिकले समेत पुँजीबजारबाट लाभ पाउने उनीहरू बताउँछन्। अर्काथरी विश्लेषक भने ग्रामीण क्षेत्रका लगानीकर्ताको सम्पत्ति सेयर बजारको माध्यमबाट धनीले हत्याउन नसकुन् भनेर चनाखो हुनुपर्ने बताउँछन्। ब्रोकर पौड्याल भने पुँजीबजारलाई सुधार गर्न बजार विस्तार गर्ने र वित्तीय प्रणालीमा पैसा भिœयाउने दुवै काम गर्न आवश्यक भएको बताउँछन्। ‘थप पैसा बजारमा नआएसम्म घट्दो प्रवृत्तिलाई उल्ट्याउन सहज छैन’, उनी भन्छन्।

सामान्यतया ६–८ वर्षको चक्रमा घटबढ हुने गरेको नेपाली सेयर बजारमा एक दशकयता दोस्रोपटक बियरिस (घट्दो प्रवृत्ति) देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८८१ अंकको कीर्तिमानी स्तरबाट ओरालो लागेर अहिले १२०९ अंकमा झरेको छ। यसबीच गत फागुनमा ११०० अंकमा नेप्सेले यो सिजनको न्यूनतम विन्दु तयार गरेको छ।

उच्च आयात र सरकारी बजेट खर्च बढ्न नसकेका कारण बैंकिङ क्षेत्रका पैसा अभाव भइरहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन्। गत जेठ मसान्तसम्म नेपालबाट ९० अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। रेमिट्यान्स, निर्यातबाट आएको कमाइ, पर्यटन क्षेत्रको आय, ऋण र अनुदानलगायत विभिन्न स्रोतमार्फत विदेशबाट नेपाल भित्रिएको पैसाले नपुगेपछि झन्डै ९१ अर्ब थप पैसा नेपालले विदेशमा तिर्नुुपरेको छ।

अर्थशास्त्रमा ‘शोधनान्तर घाटा’ भनिने यस्तो वित्तीय असन्तुलन यो वर्ष ह्वात्तै बढेको देखिन्छ। गत वर्ष जेठ मसान्तसम्म यस्तो घाटा ४ अर्ब ३४ करोडमात्रै थियो। यसरी स्वदेशी पैसा बाहिरिन थालेपछि नेपाली बैंकसँग लगानीयोग्य पुँजीको अभाव खड्किरहेको दाहाल बताउँछन्। यसबाहेक अहिले व्यवसायीले नगद सञ्चिति बढाउने वा पुँजी पलायन गर्ने प्रवृत्ति चुलिएको बैंकर बताउँछन्।

नेपाल बैंकर्स संघको तथ्यांकले पनि उक्त तर्कलाई बलियो बनाउन सहयोग गर्छ। वाणिज्य बैंकमा ३१ असारमा जम्मा भएको २८ खर्ब ७८ अर्ब निक्षेप ३ साउनमै २८ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको थियो। जुन १ भदौमा अझै घटेर २८ खर्ब ५५ अर्बमा सीमित भयो। अर्थविद्हरू निक्षेप घट्नुलाई पुँजी पलायनको तथ्यका रूपमा लिन्छन्। पछिल्ला कानुनी सुधारले पनि सेयर बजारलाई प्रभावित पारिरहेको लगानीकर्ता बताउँछन्। अहिले सरकारले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने, भन्सारमा कडाइ गर्नेजस्ता काम हुन थालेपछि अनौपचारिक क्षेत्रमा घुमिरहेको ठूलो पैसा सेयर बजारमा आउन नपाएको एक ब्रोकर बताउँछन्।

‘अनौपचारिक बजारबाट विगतमा सेयर र घरजग्गामा प्रवाह हुँदै आएको पैसासमेत अहिले लुकाएर राखेका छन्’, सेयर ब्रोकर बताउँछन्। यसले गर्दा पनि भारतमा आधारित व्यवसायीले पुँजीपलायन गरिरहेको र स्वदेशी व्यवसायीले नगद सञ्चिति बढाएको बैंकरहरू पनि बताउँछन्। ‘कालो धनले पनि बेलाबखत अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ भन्ने मान्यता छ’, लगानीकर्ता तिवारी भन्छन्, ‘अहिले सरकारले त्यस्तो सम्पत्तिमाथि व्यवधान खडा गर्न थाल्दा बजारमा तलर सम्पत्तिको अभाव बढाउन सहयोग पुगेको छ।’ यद्यपि सरकारी अधिकारीहरू भने यो तर्क स्वीकार गर्दैनन्।

‘पुँजी पलायन पनि भएको छैन, नगद सञ्चिति भएको छैन’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्। त्यसो त, सेयर बजारको गिरावटले उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सहयोग गरेको पनि कतिपय विश्लेषकको भनाइ छ।

सेयर बजारका ठूला लगानीकर्ताले अहिले खासगरी होटेल, रिसोर्ट, अस्पताल र पर्यटन पूर्वाधारमा लगानी बढाइरहेका छन्। सेयर बजारका ठूला खेलाडी मानिएका शशिकान्त अग्रवालले पछिल्ला तीन वर्षको बीचमा अमेरिकी ब्रान्ड ‘म्यारिएट’ले व्यवस्थापन सम्हाल्ने गरी दुईवटा होटेल सञ्चालनमा ल्याइसकेका छन्। सेयर बजारको प्रमुख लगानीकर्ता कम्पनी हाथ्वेले केबलकारदेखि वित्तीय संस्थामा लगानी गरिरहेको छ।

‘लगानीकर्ताले एउटा बजारमा लाभ देखेनन् भने वैकल्पिक क्षेत्रमा लगानी स्थानान्तरण गर्छन्। यो त्यसैको परिणाम हो’, आईएमई समूहमा परामर्शदाताको रूपमा काम गरको लगानीकर्ता तिवारी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.