भाइरल ज्वरोले विद्यालय बन्द
भोजपुर : अरुण माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत नितु भुजेल विगत ४ दिनदेखि विद्यालय आएकी छैनन्। उनी भाइरल ज्वरोले सिकिस्त बनाएपछि घर बसेकी हुन्। ज्वरोले ग्रस्त बनाएपछि उनका बाबु तुलसी भुजेल आँफैले विद्यालयमै पुगेर छोरीको निवेदन दिएर फर्किएका थिए। छोरी उठ्नै नसक्ने भएपछि उनलाई तत्काल छिमेकी जिल्ला संखुवासभाको तुम्लिङटार लगियो।
नितु भुजेलजस्तै उनका साथीहरु पनि धमाधम भाइरल ज्वरोको संक्रमणले थलिएका छन्। कक्षा १ देखि १२ का २ सय २ जना विद्यार्थीहरु बिरामी भएपछि विद्यालयले ३ दिनको बिदा तोकेको छ। उत्तरी षडानन्द नगरपालिकाको दिङ्लाबजारमा रहेको उक्त विद्यालय लगायत दिङ्लाबजारका अन्य ३ विद्यालयका विद्यार्थी भाइरल ज्वरोबाट ग्रसित छन्।
भाइरल ज्वरोले अरुण माविको कक्षा १ देखि १२ सम्मका २ सय २ जना विद्यार्थी विरामी भएपछि विद्यालय बन्द गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक श्रीकृष्ण बोगटीले बताए। यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा पनि ज्वरोको असर देखिएको छ। भाइरलले विद्यार्थी बिरामी भएपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता आएको निमित्त प्रअ बोगटीले बताए। ‘विद्यार्थीहरु एकपछि अर्को गर्दै धमाधम विरामी बने। कोहि बेञ्चमै ढले, कोही विद्यालय नै आएनन्। विद्यालय आउने विद्यार्थीको संख्या कम भयो’, उनले भने, ‘विद्यार्थीको नाजुक स्वास्थ्य अवस्था भएपछि पठनपाठन गर्न नसक्ने स्थिति भएपछि विद्यालय बन्द गर्न बाध्य भयौँ।’
केहिदिन अघिदेखि सुरु भएको भाइरल ज्वरोले विद्यार्थीसंगै स्थानीय सर्वसाधरणलाई पनि ग्रसित बनाएको छ। दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्र ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीहरुमा ३० देखि ४० जनाको हाराहारीमा भाइरलका बिरामीहरुको चाप हुने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गम्भीर किसिमका बिरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर रिफर गरिएको छ। मौसम परिवर्तनसंगै जिल्ला अस्पतालको ओपिडीमा पनि दैनिक १५ जनासम्म भाइरलका बिरामीहरु स्वास्थ्यजाँच गर्न आउने गरेको अस्पतालले जनाएको छ। दुषित खानेपानी, बदलिँदो गर्मी मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाइरलका बिरामी बढेको जिल्ला अस्पताल भोजपुरका डा. शिवजी रिजालले बताए। उनले भने, ‘गर्मीयाममा दुषित खानेपानी, खानपानमा राम्रो ध्यान नदिँदा, घर वरपर सफा नराख्नाले भाइरल ज्वरोको अधिकत्तम संक्रमण बढ्ने गर्छ।’