पोखरीमा डुबेर १५ महिने बालकको मृत्यु
प्यूठान : प्युठान नगरपालिकाको कार्यालय नजिकै रहेको माछा पोखरीमा डुबेर एक बच्चाको मृत्यु भएको छ। बुधबार मल्लरानी गाउँपालिका ४ पाण्डेडाँडा निवासी अमृता थापाको १५ महिने छोराको माछा पोखरीमा डुबेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंह चौधरीका अनुसार बालकलाई टहरामा सुताएर आमा काम गर्न गएपछि पानीमा डुबेर मृत्यु भएको हो।
‘पोखरी नजिकैको टहरामा बच्चा सुताएर आमा काम गर्न गएपछि उठेका बालक पोखरीमा डुबेको स्थानीयले बताएका छन्’, प्रहरी निरीक्षक चौधरीले भने। बच्चालाई उपचारका लागि जिल्ला अस्पताल विजवार लैजादै गर्दा बीचबाटोमै मृत्यु भएको उनको भनाइ छ।
मृतक बालककी आमा नजिकैको फोहोर प्रशोधन केन्द्रमा काम गर्दै आएकी छन्।