विस्थापित पहिचानका लागि रातो जस्तापाता
उदयपुर : बढीपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न उदयपुरको रौतामाई गाउँपालिकाले रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ। गाउँपालिकाको भर्खरै सम्पन्न बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन यस्तो निर्णय गरेको हो।
पूर्णरुपले क्षति भई घर पुनःनिर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरणको तयारी गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। २०७६ असार ३० गते वर्षातसँगै आएको बाढीपहिरोबाट प्रभावित भएका १ सय ८१ घरधुरी मध्ये पूर्णविस्थापित भएका ८० घरपरिवारलाई पालिकाले प्रतिघर ३२ हजार रुपैँयाका जस्तापाता खरिद गर्ने तयारी गरेको उनले बताए।
‘विस्थापित घरधुरी यकिन गरी सिफारिस गर्न वडा कार्यालयलाई पत्राचार गरिएको छ', अध्यक्ष खड्काले भने,‘वडाबाट सिफारिस भई आएकालाई ३९/४० एमएमको ९ फिटे जस्ता ३ बनेलका दरले वितरण गर्छौं।'