बम विस्फोटमा दुबै हात गुमाएका कलबहादुर
हेटौंडा : ४० दिनको कष्टकर समय अस्पतालमा गुजारेर कलबहादुर चेपाङ मंगलबार घर फर्किएका छन्। चितवनको मेडिकल कलेजबाट उनी फर्किए पनि बम विष्फोटले घाइते भएर अस्पताल पुगेका उनको दुई हात भने अब कहिल्यै फर्किने छैनन्।
३५ वर्षीय कुलबहादुर मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ का बासिन्दा हुन्। बेवारिसे वस्तुलाई बालबालिकाले खेल्ने प्लाष्टिकको बल सम्झेर खोल्न खोज्दा २०७६ जेठ ३२ गते दिउँसो उनी घाइते भए। गाउँ डुलेर कैलाश ७ रतुवाबाट डोकोटारस्थित घर फर्कने बेलामा बाटोमा उनले प्लाष्टिकको डोरीले बाँधिएको आकर्षक डल्लो देखे। डल्लो बाँधेको प्लाष्टिकको डोरी देख्दा उनले कुचो सम्झिए। त्यो डोरीले बाँध्न पाए कुचो बलियो होला भन्ने लाग्यो उनलाई। डोरीको लोभले डल्लो लिएर घरतिर लागे।
बाटैमा पर्ने काका सोमबहादुरको घरमा पुगेपछि उनले खाजा खानका लागि जाँड मागे। ‘त्यही बेला डल्लो के बोकिराख्नु भनेर डोरी खोल्न खोजे। तर, एकैछिनमा ‘स्याँ’ गरेको आवाजसँगै बिस्फोट भयो’, कलबहादुरले भने, ‘त्यसपछि पानी मागेको र काकाकी बुहारीले पानी दिएको सम्झना छ। होसमा आउँदा अस्पतालको बेडमा थिएँ।’
एकैचोटी अस्पतालको बेडमा उनले डाक्टरहरुले तिम्रो हात काट्नुपर्ने भयो भन्ने सुनेका थिए। ‘हुन्छ वा हुँदैन भन्न नभ्याउँदै म फेरि बेहोस भएछु’, कलबहादुरले सम्झिए, ‘घटना भएको तेस्रो दिन डाक्टरले मेरा दुबै हातको पञ्जा काटेर फालिदिएछन्।’
घटना भएलगत्तै उनलाई बोकेर मनहरी पुरानो मेडिकल कलेज पठाइएको स्थानीय चित्रबहादुर चेपाङले बताए। ‘बुहारीले फोन गरेर कलबहादुरको सास जान मात्रै बाँकी छ भनेपछि हतार हतार पुगेँ, अनुहारभरी बिस्फोटका कारण बारुदले जलेको जस्तै देखिन्थ्यो, हात छिया छिया थियो’, उनले भने, ‘तत्कालै उद्धार गर्न पाएकाले धेरै रगत जान पाएन, ज्यान बच्यो।’
एक साताअघि नै उनी घर फर्कन खोजेका थिए। तर उपचारमा लागेको रकम तिर्न नसक्दा अस्पतालले पठाउन मानेन। ‘साथीभाइ, माननीय, जनप्रतिनिधिहरु मिलेर नगद संकलन गरी रकम तिरेर उनलाई डिस्चार्ज गरिएको हो’, पूर्व सभासद गोबिन्दराम चेपाङले भने। उनीसँगै प्रदेश नं ३ का प्रदेशसभा सदस्य ओमबहादुर ग्लान (प्रदीप), कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित गाउँका अगुवाहरुले सहयोग जुटाएर कलबहादुरलाई अस्पतालबाट घर ल्याइएको हो। अस्पतालमा उनको उपचारमा १ लाख ५० हजार रुपैयाँ बिल उठेको थियो। उक्त रकममध्ये १ लाख रुपैयाँ अस्पतालले छुट गरिदिएको पूर्व सभासद चेपाङले बताए।
कान नसुन्ने वृद्ध आमा, श्रीमती, ९ वर्षको अपांग छोरा, ४ वर्षका छोराका सहारा कलबहादुर आफैँ अशक्त भएपछि उनको परिवार बेसाहारा जस्तै भएको छ। कलबहादुर अशक्त भएपछि परिवारको बोझ उनकी श्रीमती ३७ वर्षीय सम्झनालाई आइपरेको छ। ‘श्रीमान्ले ज्याला मजदुरी गरेर मुस्किलले धान्दै आएको परिवार अब कसरी पाल्ने?’, सम्झनाले दुखी हुँदै भनिन्, ‘भगवानले पनि नहुनेलाई नै हेप्दो रहेछ।’